आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
माओवादी केन्द्रीय समिति बैठक

केन्द्रीय समिति बैठकमा प्रचण्डको आक्रोश : सरकारले गरेका राम्रो कामको पनि प्रचार भएन

बुधबार, १७ साउन २०८०, २० : २३
बुधबार, १७ साउन २०८०

काठमाडौँ । सत्तारूढ दल नेकपा माओवादी केन्द्रको चौथो पूर्ण बैठक राजधानीको प्रज्ञा भवन कमलादीमा सुरु भएको छ । बैठकको पहिलो दिन बुधबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौखिक रूपमा राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गरेका छन् ।

बैठकमा उनले विधान संशोधनसहित ४०९ केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेका छन् । त्यस्तै पार्टी सुदृढीकरणका लागि भदौदेखि तीन महिने अभियान सञ्चालन गर्ने, मंसिरमा विधान सम्मेलन गर्ने र यसै वर्षको अन्तिममा विशेष महाधिवेशन गर्ने प्रस्ताव पनि प्रचण्डले गरेका छन् ।

पार्टीका नेता तथा कार्यकर्ता भुत्तो भएकोमा चिन्ता व्यक्त गर्दै उनले पदाधिकारीसहित सबै केन्द्रीय नेताहरूको कार्यविभाजन गर्ने प्रस्ताव गरेका छन् । जसमा अध्यक्ष प्रचण्डले समग्र पार्टी हेर्ने, उपाध्यक्षले केन्द्रीय विभागसहित संगठनको अनुगमन गर्ने, महासचिव र उपमहासचिवले समग्र संगठन हेर्ने, सचिवले प्रदेश कमिटीको समन्वय गर्ने र केन्द्रीय सदस्यहरूले पलिकासम्म समन्वय गर्ने गरी कार्यविभाजन भएको सचिव गणेश साहले जानकारी दिए ।

दिउँसो १ बजे प्रचण्डले भाषण गरेर बैठकको उद्घाटन गरेका थिए । सम्बोधनपछि बसेको बैठकमा उनले देशको समसामयिक राजनीति, विश्व राजनीति, सरकारले गरेको काम, सांगठनिक अवस्था लगायत विषयमा केन्द्रीय सदस्यहरूलाई संक्षिप्त जानकारी गराएका थिए । बैठकमा सरकारले गरेको राम्रो कामसमेत प्रचार हुन नसकेकोमा उनले आक्रोश पोखेका थिए । पछिल्लो समय नेताहरू सुविधाभोगी भएको उनको भनाइ थियो ।

‘सरकारले राम्रो काम गरे पनि जनतामा प्रचार हुन सकेन । जनयुद्धमा ठूलो  त्याग र तपस्या गरेर बनेको माओवादी विघटन हुने अवस्थामा पुगेको छ । नेताहरू जनमुखी नभइ सुविधाभोगी भएका छन् । यस्तै हो भने पार्टी विघटन हुन्छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्थायी कमिटी सदस्य शालिकराम जम्कट्टेलले भने ।

पटक पटक पार्टी रूपान्तरणको विषय उठाए पनि व्यवहारमा लागु हुन नसकेको भन्दै प्रचण्डले त्यस्तो छुट अब कसैलाई नहुने उनले चेतावनी दिएको जम्कट्टेलले जानकारी दिए । अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि बुधबार १८ जना सदस्यले आफ्ना धारणा राखेका छन् । बैठक बिहीबार बिहान ११ बजे पुनः बस्ने सचिव साहले जानकारी दिए ।

केन्द्रीय समितिको बैठकअघि बिहान प्रचण्डले पार्टीका पदाधिकारीसँग एजेण्डाबारे थप छलफल गरेका थिए । पदाधिकारी बैठकपछि ९ बजे बसेको बैठकले अध्यक्षद्वारा प्रस्तुत एजेण्डा अनुमोदन गरेको थियो । बैठकमा बोल्ने सदस्यहरूलाई प्रतिव्यक्ति ५ मिनेटको समय उपलब्ध गराइएको छ । बैठक दैनिक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । दिउँसो ४५ मिनेट खाजाका लागि समय छुट्याइएको छ । प्रत्येक दिन ६ बजे बैठकको जानकारी दिने व्यवस्था गरिएको छ । केन्द्रीय सदस्यहरूले खाना र बस्नको लागि आफै व्यवस्था गरेका छन् । खाजा र पानीको व्यवस्था पार्टीले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप