आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
शिक्षकको अभाव

किन भयो अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव ?

दशौँ पटक विज्ञापन गर्दा पनि गणित शिक्षक पाइएन
बिहीबार, १८ साउन २०८०, १० : ३२
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको सर्वोदय माविले गणित विषयको शिक्षकका लागि पाँच पटक विज्ञापन आह्वान गर्‍यो । तर, पाँचौँ पटकसम्म सूचना प्रकाशन गर्दा पनि शिक्षक पाउन सकेको छैन । कसैले पनि दरखास्त नहालेपछि गत पुसदेखि उक्त दरबन्दी रिक्त छ । 

शिक्षकको अभावमा सर्वोदयले अर्को विद्यालयका शिक्षकलाई अतिरिक्त समयमा पढाउने गरी पठनपाठन गराइरहेको छ । छिमेकी मुक्तिमार्ग माविका शिक्षक विमल बरुवाललाई कक्षा १० विद्यार्थीको हकमा बिहान–बेलुकी तथा शनिबार पढाएर कोर्स सक्ने गरी पार्टटाइमको रूपमा नियुक्त गरिएको छ । 

सर्वोदयका प्रधानाध्यापक गोविन्द थापाले दरबन्दीका विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित भइरहेको बताए । 

म्याग्दीकै पूर्ण गाउँस्थित राष्ट्रिय जनजागृति माध्यमिक विद्यालयले दसौँ पटक विज्ञापन गरेर गणित शिक्षकको माग गरेको छ । तर, कसैको दरखास्त परेको छैन । 

त्यस्तै, सोही जिल्लाकै त्रिभुवन मंगला माविले विज्ञान र गणित शिक्षकका लागि सात पटकसम्म विज्ञापन ग¥यो तर कसैले पनि आवेदन दिएनन् । 

म्याग्दीमा धेरैजसो विद्यालयमा संघीय सरकारको अनुदान कोटाबाट शिक्षक नियुक्त गर्न खोजिदा आवेदन नै नपर्ने समस्या देखियो । 

म्याग्दीमा मात्र नभएर देशैभर यस्तो खालको समस्या देखिएको छ । त्यसमा विशेष गरी गणित र विज्ञान शिक्षकको अभाव बढी छ । अङ्ग्रेजी शिक्षकको अभाव पनि उस्तै छ । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्कअनुसार देशभर रहेका ७५ प्रतिशत भन्दा बढी सामुदायिक विद्यालयमा विज्ञान, गणित शिक्षकको अभाव छ । निमावि तहमा २८ प्रतिशतमा मात्रै गणित, विज्ञान र अङ्ग्रेजी विषय पढाउने शिक्षक छन् । 

त्यस्तै, मावि तह (कक्षा ९–१०) मा २४ प्रतिशत मात्रै गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षक छन् । अर्थात् मावि तहमा ७६ प्रतिशत शिक्षकको अभाव छ । 

देशभरका ३५ हजार भन्दा बढी सामुदायिक विद्यालयले गणित, विज्ञान र अङ्ग्रेजी विषय शिक्षकको अभाव झेल्दै आएका छन् । 

२०७५ सालमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माको संयोजकत्वमा गठित कार्यदलले देशभरका सामुदायिक विद्यालयमा ५२ हजार २८२ शिक्षक अपुग रहेको देखाएको थियो । 

जसमा मावि तहमा १९ हजार १०१, निमावि तहमा १८ हजार १४०, प्रावि तहमा १६ हजार ६२१ तथा प्लस टुमा २ हजार ४२० शिक्षक अपुग रहेको देखाएको थियो । 

देशभरका सामुदायिक विद्यालयमा १ लाख ७ हजार ८६० स्थायी शिक्षक दरबन्दी छ । तर, दरबन्दीअनुसार शिक्षक नियुक्त हुन सकेका छैनन् । 

शिक्षकको अभावमा विद्यालयहरूले अर्को विद्यालयका शिक्षकलाई पार्टटाइमको रूपमा नियुक्त गरेर पठनपाठन गराउँदै आएका छन् । यो समस्या सामुदायिक मात्र नभई निजी विद्यालयहरूमा समेत देखिएको छ । 

शिक्षण पेसाप्रतिको घट्दो आकर्षणले शिक्षाशास्त्र पढेका विद्यार्थीसमेत शिक्षणभन्दा निजामती सेवातर्फ आकर्षित छन् । 

म्याग्दीमा गत वर्ष मात्रै सातजना विज्ञान शिक्षकले शिक्षण पेशाबाट राजीनामा दिएर निजामती सेवातर्फ गएका थिए । अन्य जिल्लाबाट आएका शिक्षकले एक वर्षमै सरूवा मिलाएर जाने गरेका छन् ।   

केन्द्रका निर्देशक रामचन्द्र शर्माले प्राथमिक तह भन्दा पनि माथिल्लो तहमा शिक्षकको अभाव रहेको बताए । 

‘प्राथमिक तहमा विषय शिक्षक भन्ने हुँदैन । जो सुकैले जे सुकै विषय पढाए पनि हुन्छ । तर, निमावि तह कक्षा ६–८ र मावि तह कक्षा ९–१० मा भने गणित, विज्ञान शिक्षकको अभाव नै छ,’ निर्देशक शर्माले भने । 

शिक्षक अभावको असर एसईईको नतिजामा  

शिक्षकको अभाव हुँदा कस्तो खालको असर पर्छ भन्ने कुरा २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले देखाउँछ । 

एसईईको नतिजाअनुसार ४ लाख ८५ हजार विद्यार्थीमध्ये १ लाख ५५ हजार विद्यार्थीले गणित विषयमा ‘ई’ ग्रेड ल्याएका छन् ।  गणितमा ई ग्रेड ल्याउने यो कुल परीक्षार्थी संख्याको ४२ प्रतिशत हो । 

त्यस्तै, गणितसँगै विज्ञान र अङ्ग्रेजी विषयमा समेत नतिजा कमजोर देखिन्छ । 

के शिक्षक नै छैनन् त ? 

अहिले प्रमुख समस्या भनेको आवश्यकताअनुसार जनशक्ति नहुनु हो । अन्य विषयको हकमा सहजै लाइसेन्स लिन पाइन्छ । शिक्षक नपाउनुको पछाडि थुप्रै कारण छन् । निर्देशक शर्माले शिक्षक सेवा आयोगले लिने परीक्षामा लाइसेन्सको व्यवस्थाका कारण विज्ञान, गणित विषय पढेका विद्यार्थी वञ्चित हुने गरेको बताए । 

‘अहिले जुन समस्या भइरहेको छ, त्यो लाइसेन्सको कारण पनि हो । तालिम नभई लाइसेन्स पाइँदैन । उनीहरूले तालिम नगरेको कारण लाइसेन्सको आवेदन भर्न पाउँदैनन्,’ उनले भने, ‘तालिम नभए पनि ९ वटा विषयमा अस्थायी दिन सक्ने नियमावलीले गरेको छ । त्यो पनि आयोगले समय समयमा जाँच नगरिदिएकोले समस्या भएको हो ।’ 

टेक्निकल विषय पढ्ने विद्यार्थीले लाइसेन्स दिनुपर्दा उत्तीर्ण नहुने समस्या छ । ‘आयोगले शिक्षा विषय पढेका विद्यार्थीलाई लक्षित गरेर लाइसेन्सको परीक्षा लिन्छ । गणित, विज्ञान पढेकालाई त्यो कुरा थाहा हुँदैन । त्यसपछि बढी फेल हुन्छन् ।’ उनले भने । 

शिक्षक सेवा आयोगले लिने परीक्षामा गणित र विज्ञान विषयमा धेरै उम्मेदवार फेल हुने गरेका छन् । गत वर्ष मात्रै तोकिएको दरबन्दी भन्दा निकै कम विद्यार्थीले परीक्षा पास गरेका थिए । 

शिक्षकको अभाव कम गर्न सरकारले यो वर्षदेखि जुनसुकै विषय पढेका विद्यार्थीले शिक्षक लाइसेन्सको परीक्षा दिन पाउने व्यवस्था गर्ने सरकारको तयारी थियो । तर, ऐन संशोधन नहुँदा उक्त प्रस्ताव कार्यान्वयनमा आउन नसकेको आयोगले जनाएको छ । 

आयोगको पुरानै व्यवस्थाअनुसार निमावि तहको लागि लाइसेन्स परीक्षाको आवेदन आह्वान गरिएको छ । आयोगको सूचना अधिकारी सुदर्शन मरठ्ठाले ऐन संशोधन हुन नसक्दा पुरानै व्यवस्थाअनुसार आवेदन आह्वान गरिएको बताए । 

सरकारले शिक्षक अभाव कम गर्न अनुदानमार्फत शिक्षक पदपूर्ति गर्दै आएको छ । हाल देशभरका ८ हजार भन्दा बढी विद्यालयमा संघीय सरकारले अनुदानमार्फत शिक्षकको व्यवस्थापन गर्दै आएको छ । 

त्यस्तै, प्रदेश र स्थानीय तहले समेत विभिन्न योजना अघि सारिरहेका छन् । शिक्षकको अभाव कम गर्न आकर्षक सेवासुविधा ल्याउने जस्ता कार्य पालिका तहबाट समेत भइरहेको देखिन्छ । तर, गणित र विज्ञान शिक्षकको अभाव देखिन्छ । 

अहिले गणित र विज्ञान विषय पढ्ने विद्यार्थी सङ्ख्यामा समेत कमी आउनु शिक्षक अभाव कारक रहेको निर्देशक शर्माको भनाई छ । 

शिक्षक समस्या समाधानका लागि शिक्षण पेशालाई आकर्षित बनाउने, विद्यार्थीलाई यो विषयको पढाइप्रति आकर्षित गराउने, लाइसेन्समा देखिएको समस्या समाधान गर्ने जस्ता कार्य गर्न सकिएमा शिक्षक अभाव कम गर्न सकिने शिक्षविद्हरुको जिकिर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप