आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

चार दलीय ‘समाजवादी मोर्चा’ अलपत्र : घोषित कार्यक्रम गर्न असफल

पाण्डे भन्छन्– पार्टी बैठक जुधेकाले कार्यक्रम घोषणामा ढिला भयो
बिहीबार, १८ साउन २०८०, १२ : १३
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । चार दलीय ‘समाजवादी मोर्चा नेपाल’का घोषित कार्यक्रम अलपत्र परेका छन् । सत्तारुढ तीन दल नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा मिलेर गत असार ४ गते मोर्चाको घोषणा गरिएको थियो । 

तर घोषणाको डेढ महिना बित्न लाग्दा समेत मोर्चाले आफ्ना गतिविधि गर्न सकेको छैन । यतिसम्मकी चार दल आफैले पारित गरेको मोर्चाको कार्यविधि अनुसारका कार्यक्रम समेत कार्यान्वयनमा आउन सकेका छैनन् ।

नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्य सहित मोर्चा गठन गरेपनि त्यसका लागि प्रभावकारी योजनाहरू बन्न ढिलाइ भएको नेताहरूको भनाइ छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको बाटो तय गर्ने, वर्गीय तथा क्षेत्रीय विभेदको अन्त्य गर्ने, मानव विकास सूचकाङ्कमा पछाडि परेका मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई प्रमुख प्राथमिकता राख्ने, जनताको नागरिक तथा आर्थिक अधिकारको संरक्षण, वित्तीय एकाधिकार तथा दलाल पुँजीवादी अर्थव्यवस्थाको विकल्पमा समाजवादी अर्थतन्त्रको आधार तयार पार्ने मोर्चाको उद्देश्य रहेको उनीहरूको भनाइ छ ।

सोही अनुसार समाजवादी मोर्चालाई व्यवस्थित गर्न भन्दै चार दलले कार्यविधि नै बनाएका थिए । जुन कार्यविधिमा ७७ वटै जिल्लामा मोर्चाको सङ्गठन विस्तार गर्नुका साथै साउन १२ देखि २२ सम्म सातै प्रदेशमा मोर्चाले संयुक्त कार्यक्रम गर्ने बताइएको थियो । तर मोर्चाले साउन १२ गतेबाट सुरु गर्ने भनेको कार्यक्रम सुरु गर्नु त परै जाओस् कार्यक्रमको मिति घोषणा नै गर्न सकेको छैन ।

नेकपा एकीकृत समाजावादीका उपाध्यक्ष समेत रहेका मोर्चाका नेता राजेन्द्र पाण्डेले मोर्चामा आबद्ध राजनीतिक दलहरूका आन्तरिक बैठक यही बिचमा तय भएकाले साउन १२ देखि २२ सम्म मोर्चाले सातै प्रदेशमा गर्ने भनेका कार्यक्रम गर्न नसकिएको बताए ।

‘साउन १२ देखि २२ मा मोर्चाले सातै प्रदेशमा कार्यक्रम गर्ने भनेर तय भएको हो । तर यही बिचमा माओवादी र हाम्रो पार्टीको समेत बैठकहरु बस्नुपर्ने भएकाले पछाडि धकेलियो’, उनले भने, ‘साउन २२ सम्म दुवै पार्टीका एक चरणका बैठक सकिएपछि लगत्तै मोर्चाको बैठक बसेर कार्यक्रम घोषणा गरिन्छ ।’

उनले साउन २२ गतेपछि बस्ने मोर्चाको बैठकले कुन प्रदेशमा कुन दिन कार्यक्रम गर्ने भनेर मिति तोक्ने जानकारी दिँदै पूर्व निर्धारित कार्यक्रम नहुँदैमा मोर्चा नसेलाउने दाबी गरे ।

‘अरू कुनै कारण होइन, पार्टीका आन्तरिक बैठक बस्ने समय जुधेकाले मात्र मोर्चाका पूर्वघोषित कार्यक्रमहरू हुन नसकेका हुन्’, नेता पाण्डेले भने, ‘साउन चौथो साताभित्र सबै कार्यक्रमको टुङ्गो लाग्छ ।’  

यसैगरी नेकपाका नेता खड्गबहादुर विश्वकर्माले नेता र पार्टीहरुको काम विशेषले गर्दा बैठक बस्न ढिला भएपनि अबको एक साताभित्र कार्यक्रम तय गरिने बताए । उनले भने, ‘भदौदेखि हाम्रा कार्यक्रम सुरु हुन्छन् ।’ 

हाल मोर्चाको संयोजक नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल छन् । चार दलका शीर्ष नेताले चार-चार महिनामा मोर्चाको नेतृत्व गर्ने कार्यविधिमा उल्लेख छ । यसैगरी चार दलका एकाएक जना नेता रहेको चार सदस्यीय समाजवादी मोर्चाको सचिवालय गठन पनि भैसकेको छ । मोर्चामा आबद्ध दलसँगको समन्वयमा कामकारबाही तथा गतिविधिलाई व्यवस्थित बनाउन कार्यविधिमै सचिवालयको काम, कर्तव्य र अधिकारबारे ६ बुँदे व्यवस्था छ ।

सचिवालयमा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा छन् । हमाललाई सचिवालय सदस्यसचिवको जिम्मेवारी दिइए पनि अहिलेसम्म सचिवालयको बैठक समेत बस्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप