आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
माओवादी बैठक

माओवादी केन्द्रीय समिति बैठकमा पार्टी बिग्रिएकाेमा चिन्ता

बिहीबार, १८ साउन २०८०, १६ : ४५
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन नेताहरुले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ ।  बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी बिग्रिँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।  साथसाथै नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै उनीहरुले पार्टी बनाउन सबै सच्चिनुको विकल्प नभएको धारणा राखेका छन् । 

बैठकका बोल्दै केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टी पार्टी जस्तो नभएको बताए । पार्टीको विचार र व्यवहार लथालिङ्ग अवस्थामा रहेको उल्लेख गर्दै न्यौपानेले माओवादी निरन्तर ओरालो यात्रामा रहेको बताए ।  शान्तिपूर्ण प्रतिस्पर्धाको नाममा पार्टी बदनाम भइसकेको उल्लेख गर्दै न्यौपानेले पार्टी सच्चिनुको विकल्प नभएको सहभागी एक नेताले बताए । 

यस्तै न्यौपानेले माओवादीले संसदीय व्यवस्थाबाट पार्टी बनाउँछु र ठुलो बनाउने सपना नदेखेहुने भन्दै संसदीय प्रणालीमै जाने भए कांग्रेस एमाले भन्दा माओवादी फरक नहुने बताए । ‘विश्व कम्युनिस्ट आन्दोलनमा जसरी विचलन आएको छ यदि माओवादी पनि यसरी नै जाने हो भने त्यो खतरा रहन्छ त्यसैले संसदीय व्यवस्थालाई उपयोग गरेर अर्काे क्रान्तिको तयारी हामीले गर्नुपर्छ’, न्यौपानेको भनाइ छ ।

यसैगरी केन्द्रीय सदस्य दिलीप प्रजापतीले पार्टीमा अराजकता हावी हुँदै गएको धारणा राखे । उनले विधान मिच्ने काम अध्यक्ष प्रचण्डबाटै पनि भएको आरोप लगाउँदै नेतृत्वको आलोचना गरे । प्रजापतीले पार्टीमा रहेका दोहोरो भूमिका हटाउन पनि माग गरे । 

उनले सहरमा पार्टी बनाउन संगठनात्मक संरचना नै फरक बनाइनुपर्नेमा जोड दिए । पार्टी समाजिक सञ्जालको प्रयोगमा चुकिरहेको समेत उनको धारणा थियो ।  अर्का केन्द्रीय सदस्य हितबहादुर तामाङले विगतलाई निर्मम ढंगले समीक्षा गर्दैै पार्टीलाई अघि बढाइनुपर्नेमा जोड दिए । 

उनले प्रचण्ड नेतृत्वको सरकारले गरेका राम्रो कामको जताततै प्रशंशा भइरहेको बताए । तर, उनले पार्टी बनाउन कार्यकर्ताको मूल्यांकन हुनुपर्नेमा जोड दिए ।  अर्का केन्द्रीय सदस्य माधव सापकोटाले पार्टी यथास्थितिमा अलमलिरहेको बताए । यसरी पार्टी निर्माण हुन नसक्ने भन्दै पार्टीलाई गति दिनेगरी कार्यक्रम बनाइनुपर्ने बताए । उनले सबै कमिटीमा निर्वाचन गरिनुपर्नेमा जोड दिँदै चाकडीकै भरमा एकै व्यक्ति पटक पटक मन्त्री भइराख्ने प्रवृत्ति रहेको भन्दै विरोध गरेको नेताहरुको भनाइ छ । 

यसैगरी केन्द्रीय सदस्य हरिराज अधिकारीले समाजवादी केका लागि बनेको भन्दै प्रश्न गरे । ‘समाजवादी मोर्चा बन्नु राम्रो हो ?’, उनले नेतृत्वलाई प्रश्न गरे । उनले पोलिटब्युरोको व्यवस्था के हो भन्दै हटाइनुको कारणबारे प्रश्न गरे । उनले विधान अधिवेशन सँगै गरिनुपर्ने धारणा पनि राखे ।  अर्का केन्द्रीय सदस्य केशवनाथ योगीले नेपाल कृषि प्रदान देश भएपनि कृषकको दुःख अनेक रहेको उल्लेख गर्दै यसमा पार्टीले विशेष ध्यान दिनुपर्ने बताए । 

केन्द्रीय सदस्य शिवराज यादवले नेतृत्वले पार्टीलाई सही ढंगले चलाउनुपर्ने धारणा राखे । पार्टी कमिटीलाई बढीभन्दा बढी मधेसीलाई समेटिनुपर्नेमा पनि उनले धारणा राखे । 

यसैगरी  अर्का केन्द्रीय सदस्य दिपेन्द्र पुनले जिम्मेवारी लिन होडबाजी भएपनि नतिजा भने ननिकाल्ने गरेको धारणा राखे । उनले पार्टीले जनसम्बन्ध गुमाएको भन्दै यसमा सुधार गरिनुपर्ने धारणा राखे ।  यसैगरी केन्द्रीय सदस्य हरिनारायण चौधरीले मधेस प्रदेशमा कुनै कमिटी नभएको धारणा राखे । जसका कारण बैठक बस्न नसकेको र सांगठनिक अभियान पनि सञ्चालन हुन नसकेको धारणा राखे । 

यस्तै अर्का केन्द्रीय सदस्य दिलीप शाहले जम्बो कमिटीले कार्यकर्तामा निराशा थपेको बताए ।  यस्तै केन्द्रीय सदस्य झकबहादुर मल्लले प्रचण्डले देश बनाउने संकल्प गरेको भन्दै प्रसंशा गरे ।  भ्रष्ट, माफिया र दलाललाई कारबाही गर्न आँट गर्दै गए पार्टी बन्ने उनको धारणा छ । 

यस्तै अर्का केन्द्रीय सदस्य विष्णुप्रसाद भट्टले प्रचण्डको प्रतिवेदन वर्तमान सन्दर्भमा सही भएको धारणा राखे । तर, उनले नेतृत्वले परिवारबाहेक अरुलाई विश्वास गर्न नसकेको भन्दै प्रश्न उठाए । उनले पार्टीका कतिपय नेताहरुमा कामचोर प्रवृत्ति हाबी भएको समेत धारणा राखे ।  यस्तै भीम बुढा मगरले पार्टी, दलाल, ठेकेदार र बुर्जुवाको घेरामा रहेको बताए । उनले सहिद परिवारको अवस्था बेहाल रहेको उल्लेख गर्दै यसमा पार्टीले ध्यान दिनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप