आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महिला विश्वकपको प्रिक्वार्टरफाइनल समीकरण पूरा

बिहीबार, १८ साउन २०८०, १८ : १९
बिहीबार, १८ साउन २०८०

काठमाडौँ । नवौँ महिला विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनल समीकरण पूरा भएको छ । बिहीबार जर्मनी र दक्षिण कोरिया तथा कोलम्बिया र मोरक्कोबीचको खेलसँगै समूहगत चरणको सम्पूर्ण खेल सकिएको हो । 

समूह ‘एच’ अन्तर्गतको अन्तिम खेलमा बिहीबार दक्षिण कोरियाले जर्मनीलाई १—१ गोलको बराबरीमा रोक्यो । अर्को खेलमा मोरक्कोले बलियो कोलम्बियालाई १—० गोलले हरायो । उक्त समूहबाट कोलम्बिया ६ अंक जोड्दै समूह विजेताका रुपमा प्रिक्वार्टरफाइनलमा पुग्यो ।

समान ६ अंक भए पनि गोलअन्तरमा पछाडि परेका कारण मोरक्को उपविजेताका रुपमा नकआउट चरणमा पुग्यो । मोरक्को पहिलो सहभागितामै महिला विश्वकपको नकआउट चरणमा पुगेको हो । चार अंक जोडेको जर्मनी र एक अंक बटुलेको दक्षिण कोरिया भने समूहगत चरणबाटै बाहिरिए । 

जर्मनी दुई पटकको विश्वकप विजेता राष्ट्र हो । जर्मनीले सन् २००३ मा पहिलो पटक महिला विश्वकपको उपाधि जितेको थियो । जर्मनीले सन् २००७ मा दोस्रो पटक उपाधि चुमेको थियो । सन् २०११ मा भने जर्मनी उपविजेता बनेको थियो । 

महिला विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डमा सञ्चालन भइरहेको छ । समूह ‘ए’ बाट स्विट्जरल्यान्ड पहिलो र नर्वे दोस्रो हुँदै नकआउट चरणमा पुगेका छन् । उक्त समूहबाट आयोजक न्युजिल्यान्ड र फिलिपिन्स भने उपाधि होडबाट बाहिरिएका छन् ।  

यसैगरी समूह ‘बी’ बाट आयोजक अस्ट्रेलिया पहिलो र नाइजेरिया दोस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेका छन् । उक्त समूहबाट क्यानडा र आयरल्यान्ड घर फर्किएका छन् । समूह ‘सी’ बाट एसियाली राष्ट्र जापान पहिलो र स्पेन दोस्रो हुँदै प्रिक्वार्टरफाइनलमा पुगेका छन् । जाम्बिया र कोस्टारिका भने उपाधि होडबाट बाहिरिएका छन् । 

यसैगरी समूह ‘डी’ बाट इङ्ल्यान्ड पहिलो र डेनमार्क दोस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेका छन् । चीन र हाइटी भने उपाधि होडबाट बाहिरिएका छन् । समूह ‘ई’ बाट नेदरल्यान्ड्स पहिलो र अमेरिका दोस्रो हुँदै प्रिक्वार्टरफाइनलमा पुगेका छन् । पोर्चुगल र भियतनाम भने घर फर्किएका छन् ।

यसैगरी समूह ‘एफ’ बाट सात अंकसहित फ्रान्स पहिलो र पाँच अंकसहित जमैका दोस्रो हुँदै नकआउट चरणमा प्रवेश गरेका छन् । चार अंक जोडेको ब्राजिल र अंकविहीन पानामा भने उपाधि होडबाट बाहिरिएका छन् । उक्त समूहको अन्तिम खेलमा फ्रान्सले पानामालाई ६—३ गोलले हरायो । ब्राजिल र जमैकाले भने गोलरहित बराबरी खेल्दै अंक बाँडे । 

यसैगरी समूह ‘जी’ बाट नौ अंकसहित स्विडेन पहिलो र चार अंकसहित दक्षिण अफ्रिका दोस्रो हुँदै नकआउट चरणमा पुगेका छन् । तीन अंक बटुलेको इटाली र एक अंक जोडेको अर्जेन्टिना भने प्रतियोगिताबाट बाहिरिएका छन् । समूहको अन्तिम खेलमा स्विडेनले अर्जेन्टिनालाई २—० र दक्षिण अफ्रिकाले इटालीलाई ३—२ गोलले हराए । 

प्रतियोगिताको प्रिक्वार्टरफाइनल खेल अक्टोबर अगस्त ५ तारिखबाट सुरु हुनेछ । प्रिक्वार्टरफाइनलमा स्विट्जरल्यान्डले स्पेनको सामना गर्नेछ भने जापानले नर्वेसँग खेल्नेछ । ती दुबै खेल अगस्त ५ तारिखमा खेलिने छ । 

यसैगरी नेदरल्यान्ड्सले दक्षिण अफ्रिकाको सामना गर्नेछ भने स्विडेनले अमेरिकासँग खेल्नेछ । ती दुबै खेल अगस्त ६ तारिखमा हुनेछ । इङ्ल्यान्डले नाइजेरियाको सामना गर्नेछ भने अस्ट्रेलियाले डेनमार्कसँग खेल्नेछ । ती दुबै खेल अगस्त ७ तारिखमा खेलिने छ । 

यसैगरी प्रिक्वार्टरफाइनल चरणको अर्को खेलमा जमैकाले कोलम्बिया र फ्रान्सले मोरक्कोको सामना गर्नेछन् । ती दुबै खेल अगस्त ८ तारिखमा खेलिने छ । त्यसपछि अगस्त ११ तारिखदेखि प्रतियोगिताको क्वार्टरफाइनल खेल सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप