आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

लम्पी स्किनको असर : दूध उत्पादनमा कमी, किसानलाई खै मलहम ?

शुक्रबार, १९ साउन २०८०, ०६ : ३८
शुक्रबार, १९ साउन २०८०

बुटवल ।  पशुमा लाग्ने लम्पी स्किन रोगको कारण देशभरकै किसान मर्कामा परेका छन् । लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्लामा पनि अहिले लम्पी स्किन लागेका पशु चौपाया भेटिएका छन् ।

रोगका कारण अहिले बजारमा दूध उत्पादनसमेत घटेको छ । प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार यो रोगको कारण दैनिक डेढ करोड भन्दा बढी दूधको मूल्यमा गिरावट आएको छ । 

अन्य पशुभन्दा गाई र भैँसीमा  यो रोग  धेरै देखिएकोले दूध उत्पादनमा करिब ५० प्रतिशतकमी आएको अनुमान आफूहरूले गरेको निर्देशनालयका निमित्त निर्देशक डा. परवेज आलमले बताए ।

निर्देशनालयका प्राविधिक सूचना अधिकारी रिम बहादुर थापाका अनुसार यो रोगका कारण पशु चौपायाको मृत्युबाट प्रदेशमा साढे १२ करोड बराबर क्षति भएको अनुमान गरिएको छ । 

लुम्बिनी प्रदेशमा पहिलो पटक यो रोग २०७७ साउन २४ मा देखिएपछि हालसम्म कुल १ लाख ८१ हजार ९ सय ३५ वटा पशु चौपायामा रोग देखिएको छ । जसमध्ये कुल ५ हजार ६ सय ४६ पशु चौपाया मरेका छन् ।

नेपाल डेरी एसोसिएसन लुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वर न्यौपानेका अनुसार लुम्बिनीमा पछिल्लो समयमा दूधको बजार साँघुरिदै गएकाले उत्पादन कमी भए पनि उपभोक्तालाई असर परेको छैन । 

अहिले प्रदेशमा लम्पी स्किनबाट प्रभावित भएका पशु चौपायाको उपचारको लागि करिब ३० लाख रुपैयाँ बराबरको औषधी तथा खोप खरिद गरी परिचालन गरिएको छ । निर्देशक डा. आलमले हालसम्म प्रदेशका सबै जिल्लामा गरी ३८ हजार ७ सय ९३ पशुलाई खोप प्रदान गरिएको र  १ लाख १२ हजार ४ सय ७६ पशुको उपचार गरिएको बताए । 

त्यस्तै, प्रदेशमा हालसम्म सबै जिल्लामा गरी ३८ हजार ७ सय खोप लगाइएको छ ।कर्मचारी व्यवस्थापनको लागि प्रदेशले विगतमाबजेट नछुट्याएकाले आकस्मिक कोषवाट काम गरिएको छ । थप नियन्त्रणका लागि २ करोड ८३ लाख बराबरको कार्ययोजना बनाएर प्रदेशको अर्थमन्त्रालयमा पेश गरिएको छ ।

यहाँ प्रदेशस्तरीय लम्पी रोग नियन्त्रण कार्यदल गठन गरिएको छ । डा.आलमले यो विषय निकै ठुलो भएकोले किसानको समस्यामा समयमै मलहम लगाउनु पर्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप