आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मनोरञ्जन

‘नेगेटिभ क्यारेक्टर’मा जमेका अभिनयका भोका अग्रहरि

‘मलाई हिरो खेलाउने निर्माता निर्देशकसँग एक दिन अवश्य भेट हुनेछ’
शुक्रबार, १९ साउन २०८०, ११ : ३८
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । ‘फिल्ममा आफू जुन भूमिकामा देखिने हो, त्यसका लागि गेटअपदेखि हाउभाउसम्म सबै रिसर्च गर्नुपर्छ । अनि मात्र त्यो भूमिकामा न्याय गर्न सकिन्छ, दर्शकले पत्याउँछन्’, अभिनेता प्रमोद अग्रहरिले कुराकानीको सुरुवात गरे । 

उनले थपे, ‘अहिलेका धेरै कलाकारमा यो समस्या छ । जसको रिजल्ट फिल्मको व्यवसायले छर्लङ्ग पारेको छ ।’ फिल्म फ्लप हुनु र दर्शकले नपत्याउनुका कारण मध्येको एक कलाकारले भूमिकाप्रति गर्ने न्याय रहेको अग्रहरिको धारणा छ ।

अग्रहरि पछिल्लो समय फिल्म ‘अदृश्य’ प्रमोसनमा व्यस्त रहँदै आएका छन् । शुक्रवारदेखि सार्वजनिक प्रदर्शनमा आएको ‘अदृश्य’मा आफूले एक इमानदार, कर्मठ सीआईबी अफिसरको भूमिका निर्वाह गरेको बताए ।

फिल्मबाट उनले ठुलै आससमेत गरेका छन् । ‘फिल्ममा मलाई फरक फरक केही गेटअपमा देख्न सकिन्छ । फिल्मभित्रको एक घटनाको अनुसन्धानका लागि मैले केही गेटअप बनाएको छु’, उनले भने, ‘सीआईबीले घटनाको चुरोसँग पुग्न के–के गर्न सक्छ । त्यो गेटअपमार्फत् देखाउन खोजिएको छ ।’ सीआईबीको भूमिकालाई न्याय दिन आफूले २ महिना भन्दा बढी समय रिसर्चमा लगाएको उनले सुनाए ।

‘अभिनयमा गेटअप फेर्दा गाह्रो त हुन्छ, त्यही गाह्रो भएर रमाइलो लाग्छ’, उनले अगाडि भने, ‘कलाकार भएपछि जुनै भूमिका र गेटअपमा देखिन सक्नुपर्छ । गाह्रो अभिनयको जस्तो मज्जा सरलमा कहाँ हुन्छ र ?’ 

एउटा फिल्ममा गरेको अभिनय प्याटर्न अर्को फिल्ममा नमिल्न सक्छ । त्यहाँ अर्को तरिकाले काम गर्नुपर्छ । अर्को भाषा, सेटमा काम गर्नु च्यालेन्ज हुन्छ । त्यो च्यालेन्जमा काम गर्न आफूलाई आनन्द लाग्ने उनले बताए ।

IMG-20230802-WA0001

‘अदृश्य’ प्रल्हाद काफ्लेको निर्देशनमा डेव्यु फिल्म हो । फिल्ममा रिश्ता बस्नेत, सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, सिएम भारद्वाज सुवेदी लगायतको पनि मुख्य भूमिका छ । 

फिल्ममा प्रमोदको अपोजिटमा रिश्ता बस्नेत छिन् । रिश्तासँगको फिल्ममा उनको कनेक्स के छ त ? जिज्ञासा राख्न नपाउँदै उनले जवाफ दिए, ‘फिल्मको मुल कथा नै रिश्तासँगको कनेक्सन हो । अहिले खोल्न मिल्दैन । त्यो जान्न फिल्म हेर्नुपर्छ ।’

229101_170445963011640_7861873_n

‘अदृश्य’ प्रमोदका लागि विशेष पनि छ रे । विशेष यो कारणले कि सन् २०१९ को ‘जाइरा’पछि उनको कुनै पनि फिल्म आएको छैन । 

करिब ५ वर्षमा नयाँ फिल्म आउँदै गर्दा सफल होस् भन्ने चाहना उनको  छ । तर फिल्मको रिलिज समय र प्रमोसन दुवै राम्रो छैन । यो कुराले उनी चिन्तित छन् । एक त यो फिल्म रिलिजका लागि अफ सिजन मानिएको साउनमा आउँदै छ, त्यसमाथि प्रमोसन राम्रो छैन । 

उनी भन्छन्, ‘फिल्मको प्रमोसन र रिलिज मितिमा चुकियो भने जति नै राम्रो फिल्म बने पनि खेर जान्छ ।’ फिल्म सस्पेन्स थ्रिलर विषयमा बनेको हो ।

५ वर्षसम्म नयाँ फिल्म रिलिजमा नआए पनि उनी भने अभिनयमा व्यस्त रहे । अहिले पनि उनको फिल्म ‘अगश्य’को सुटिङ चलिरहेको छ । राजविराज आसपासका क्षेत्रमा छायाङ्कन भइरहेको  फिल्म सुटिङबाट ब्रेक लिएर उनी प्रमोसनको लागि काठमाडौँ आएका हुन् । फिल्म रिलिजपछि सुटिङसेटमा फर्किने उनको योजना छ ।

बलिउडमा थिएटरदेखि सिरिजसम्म

नेपाली फिल्म उद्योगमा प्रमोदको आफ्नै विशेषता छ । फिल्म फ्लप भए पनि उनको अभिनयले कतिपय अवस्थामा तारिफ समेत पाएको छ । कारण, उनी जुन भूमिका निर्वाह गर्छन्, त्यो परफेक्ट गर्छन् । सन् २००७ देखि बलिउडको थिएटर प्रवेश गरेका उनले त्यहाँको थिएटरदेखि सिरिजसम्म काम गरिसकेका छन् । त्यो अनुभव उनी अहिले अभिनयमा खन्याइरहेका छन् ।

भारतका प्रसिद्ध थिएटर कलाकार प्रेम मोदियानी, प्रमोद कश्यपदेखि सुरज रेनआरसँग काम गरेका उनले भारतकै कयौं सिरिजमा समेत काम गरेका छन् । नेपाली फिल्ममा भने उनको प्रवेश सन् २०१२ को फिल्म ‘उमा’ बाट भएको थियो ।

त्यसपछि एकपछि अर्को गर्दै नेपाली फिल्म अभिनयमै व्यस्त रहेका उनले अहिलेसम्म करिब २ दर्जन फिल्ममा अभिनय गरिसकेका छन् । करिब आधा दर्जन नाटक अभिनय गरेका अग्रहरिले फिल्म अभिनयको व्यस्तताको कारण नाटक थोरै भएको सुनाए ।

हिरो कि भिलेन ?

प्रमोद अग्रहरि भन्ने बितिक्कै फिल्ममा उनको नेगेटिभ क्यारेक्टर होला नि भन्ने प्रायःले अनुमान लगाउँछन् । किनभने अहिलेसम्मको फिल्म अभिनयमा उनी धेरैमा नेगेटिभ र थोरैमा मात्र पोजेटिभ भूमिकामा देखिएका छन् । 

उनलाई हिरो भन्ने कि भिलेन त ? हिरो र भिलेनको ट्याग भन्दा पनि एउटा राम्रो कलाकारको रुपमा आफूलाई चिनिदिए पुग्ने उनको भनाइ छ ।

‘हरेक प्रकारको क्यारेक्टर अभिनय गर्न रुचाउने कलाकार हुँ म । त्यो भूमिका पोजेटिभ वा नेगेटिभ केही अर्थ राख्दैन’, अग्रहरिले भने, ‘समाजको हरेक त्यो क्यारेक्टर, जुन हामीले देखिरहेका छौँ, भोगिरहेका छौँ । त्यो सबै क्यारेक्टरमा अभिनयमार्फत बाँच्ने र अनुभव गर्ने मन हो ।’ 

नेगेटिभ क्यारेक्टर गर्नु भनेको समाजमा यस्तो मानिस पनि छ भन्नु रहेको उनले सुनाए । भने, ‘जसले नेगेटिभ भूमिका गर्छ । त्यसका लागि त्यो क्यारेक्टर हिरो हो । त्यो भूमिकामार्फत उसले समाजलाई अलर्ट गरिरहेको हुन्छ ।’ 

आफूले पोजेटिभ र नेगेटिभ भूमिका बराबरजस्तै गरे पनि नेगेटिभले समाजमा बढी प्रभाव पर्ने भएकोले नेगेटिभ नै बढी रहे जस्तो देखिएको उनी बताउँछन् । भन्छन्, ‘म अभिनयको भोको मानिस हो । भूमिका नेगेटिभ र पोजेटिभ जे भए पनि अभिनय गर्छु ।’

IMG-20230802-WA0004

त्यो दिन आउनेछ

प्रमोदका अहिलेसम्म धेरै भूमिका चर्चित भैसकेका छन् । बढी चर्चा भएको भूमिका भने ‘छक्का पन्जा’को ‘बाबा मस्तमला’, ‘ग्याङ्स्टार ब्लुज’को ‘अजवर’, ‘उमा’को ‘बिनिथ’ र ‘सुन्तली’को ‘बजरंग’ क्यारेक्टर हो । 

यी मध्ये पनि ‘बाबा मस्तमला’ले उनको चर्चा र फ्यान फ्लोइङ धेरै बढायो । भेराइटी क्यारेक्टर गर्न सकेको कारणले नै उनी अभिनयमा अब्बल छन् ।

‘म एउटा सीमाभित्र रहन चाहन्न । कलाकारिताको मापदण्ड एउटा सिमाना रहेर पुरा हुँदैन’, उनले भने, ‘कलाकारिता त्यस्तो ठुलो चिज हो, जुन जति पढे पनि, जति गरे पनि कहिल्यै रहर पुग्दैन ।’ 

‘पानीलाई मुठ्ठीमा छोप्छु भनेर सकिन्छ र ? कलाकारिताको ध्येय पनि त्यही हो,’ उनले उदाहरण दिए ।

फिल्मी भाषा र बुझाइमा ‘हिरो’को चरित्र अलि आकर्षक हुने भएकोले त्यो भूमिका फेरि गर्न मन छ उनलाई । त्यसका लागि उनी पुरै तयारीका साथ बसेका छन् । भने, ‘कुनै दिन मलाई हिरो खेलाउने निर्माता निर्देशकसँग अवश्य भेट हुनेछ ।’

त्यस्तो फिल्म बनाउनेछु

अभिनयको अलावा व्यवसायमा पनि सक्रिय छन् प्रमोद । अभिनय अगावै उनी ४ दाजुभाइ र बुवासँग व्यवसायमा सक्रिय थिए । अहिले बुटवल, परासी र सुनवलमा उनको परिवारको गाडीको पार्टपुर्जा व्यवसाय छ । 

होटेल व्यवसायमा पनि आबद्ध छन् उनी । लकडाउन समयदेखि नवलपरासीमा मिठाई पसल पनि सुरु गरेका छन् उनले ।

IMG-20230802-WA0005

‘कलाकारिताको विकल्पमा बिजनेस गरेको हो ?’ धेरैले उनलाई यो प्रश्न गर्दा रहेछन् । उनी आफू बिजनेसपछि मात्र कलाकारितामा भित्रिएको जवाफ दिँदै आएका छन् ।

‘कलाकारिताबाटै मलाई सबै थोक पुगेको छ, खुसी छु । नाम, चर्चा र दाम छ’, उनी भन्दै थिए, ‘कलाकारिताको विकल्प व्यवसाय होइन, पुर्ख्यौली कामको निरन्तरता हो ।’ आगामी दिनमा पनि कलाकारिता र बिजनेस एकैसाथ अगाडि लैजाने सोचमा छन् उनी ।

फिल्म निर्माणमार्फत आगामी दिनमा कलाकारितामै विजेनस गर्न सोच पनि छ उनको । त्यसका लागि उनले प्रोडक्सन हाउस समेत दर्ता गरेका छन् । 

‘सबै कुरो आफूले सोचेजस्तो भयो भने छिट्टै फिल्म निर्माण घोषणा गर्छु’, उनले भने । फिल्म निर्माणको अलावा निर्देशनमा पनि इन्ट्रेस्ट छ उनको । उनलाई साथीभाइले अव निर्देशनमा उत्रिन पनि सुझाएका छन् । तर अहिलेलाई भने कलाकारितामा पुरै फोकस हुन चाहन्छन् उनी ।

आफूले बनाउने फिल्मको कथा पुरै अर्ग्यानिक हुने उनको भनाइ छ । ‘हाम्रो आफ्नै मौलिक कथा, विचार फिल्मले बोलोस् । म त्यस्तो फिल्म बनाउनेछु’, प्रमोदले कुराकानीको बिट मारे, ‘फिल्म सक्षम भए पैसा आफै आउँछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप