आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश

बागमतीको मन्त्रालय विभाजनबारे भएन सहमति, दलहरु आ–आफ्नै अडानमा

शुक्रबार, १९ साउन २०८०, १४ : ३०
शुक्रबार, १९ साउन २०८०

मकवानपुर । बागमती प्रदेशका बिना विभागीय मन्त्री रामकृष्ण चित्रकारको जिम्मेवारीका विषयमा सत्ता गठबन्धनका दलहरुबीच सहमति जुट्न सकेको छैन । विभागीय जिम्मेवारी तोक्ने विषयमा बिहीबार बसेको सत्ता गठबन्धनका दलहरुबीचको छलफल औपचारिकतामा मात्र सीमित बन्दा चित्रकारको विभागबारे निर्णय हुन सकेन ।

गत आइतबार बसेको मन्त्रिपरिषद बैठकमा भएको अनौपचारिक छलफलमा साउन १८ गते बिहीबार मन्त्री चित्रकारको जिम्मेवारी तोक्ने र सोही अनुसार मन्त्रालय विभाजन गर्नेबारे सैद्धान्तिक सहमति भए पनि कुन मन्त्रालय विभाजन गर्ने भन्नेबारे टुङ्गो लाग्न नसकेको हो ।

मन्त्रालय विभाजनका लागि काठमाडौंमा बिहीबार गठबन्धनका दलहरुबीच छलफल भए पनि निष्कर्ष निस्कन सकेन । बैठकमा सहभागी एक नेताका अनुसार मन्त्री चित्रकारको जिम्मेवारीको विषयमा बिहीबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पार्टी र गठबन्धनका शीर्ष नेतासहित कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता र मन्त्री चित्रकारसँग छुट्टाछुट्टै छलफल गरेका थिए । उक्त छलफल बिना निष्कर्ष टुङ्गिएको थियो ।

छलफलका क्रममा गठबन्धनका दुई प्रमुख घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आ–आफ्नै अडान राखेका छन् । कांग्रेसले भौतिक पूर्वाधार विकास मन्त्रालय विभाजन गरी शहरी विकास मन्त्रालय बनाउनुपर्ने अडान कायमै राखेको छ भने माओवादी केन्द्रले कांग्रेसकै भागमा रहेको मन्त्रालय विभाजन गरी चित्रकारको जिम्मेवारी तोक्नुपर्ने अडान राखेको हो ।

माओवादी केन्द्रले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी उद्योग मन्त्रालय कायम गर्ने प्रस्ताव गरेको छ । दलहरुले आ–आफ्नो अडान कायम राखेपछि छलफमा प्रदेशको मन्त्रालयहरु पुनःसंरचनाको प्रस्ताव समेत अघि सारिएको थियो । तर, कुनै पनि प्रस्तावमा सहमति जुट्न नसकेको बैठकमा सहभागी एक नेताले बताए ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता समेत रहेका मन्त्री चित्रकार ७५ दिनदेखि विभागविहीन छन् । गत जेठ ७ मा मन्त्री बनेका चित्रकारले हालसम्म विभागीय जिम्मेवारी नपाएको भन्दै कांग्रेसले असन्तुष्टि जनाएको छ ।

गठबन्धनबीच शुक्रबार पनि छलफल हुने जनाइएको छ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पश्चात मुख्यमन्त्री जम्कट्टेलले गठबन्धनका दलहरुलाई छलफलका लागि बोलाउने भनिएको छ ।

गठबन्धनले दिएको जिम्मेवारी स्वीकार गर्छु : मन्त्री चित्रकार

बिना विभागीय मन्त्री चित्रकारले सत्ता गठबन्धनको बैठकले गरेको निर्णय स्वीकार गर्ने बताएका छन् ।

‘संयुक्त बैठक बसेर छलफल पश्चात निस्किएको निर्णयलाई सबैले स्वीकार गर्नुपर्छ । कांग्रेस पार्टीले माग अनुसार निर्णय भए वा नभए पनि तोकेको जिम्मेवारी स्वीकार गरेर अघि बढ्छौँ,’ उनले भने, ‘हामी काम गर्न आएका हौँ । विभाग फरक परेर काम गर्न समस्या हुने होइन । जुन जिम्मेवारी आउँछ, त्यसमा राम्रो काम गर्ने हो ।’

विभागीय जिम्मेवारी दिने विषयमा गठबन्धन दलहरुबीच विभिन्न चरणमा छलफल भए पनि ठोस निष्कर्ष भने निस्कन नसकेको उनले बताए । ‘छलफल जारी छ । हिजो पनि छलफल भयो । तर, निष्कर्ष निस्किन सकेको छैन । विभिन्न चरणमा हामीले छलफल गरिरहेका छौँ,’ मन्त्री चित्रकारले भने, ‘मुख्यमन्त्रीले कांग्रेस संसदीय दलको नेतासँग पनि छलफल गर्नुभएको छ । मुख्यमन्त्रीले मसँग पनि छलफल गर्नु भएको छ । तर, संयुक्त बैठक भने बस्न सकेको छैन ।’

माओवादी केन्द्रको बैठकका बीचमा समय निकालेर मुख्मयन्त्रीले छलफल गरिरहेको उनले बताए । छलफलमा दुवै दलको तर्फबाट आ–आफ्नो प्रस्तावमाथि अडान राख्दै आएकाले निर्णय गर्न समस्या भएको उनको भनाइ छ ।

‘आज पनि छलफल गर्ने तय भएको छ । छलफलमा कांग्रेसको तर्फबाट हामीले आफ्नो अडान कायम राखेका छौँ । माओवादी केन्द्रको तर्फबाट पनि उहाँहरुले अडान कायमै राख्नु भएको छ । मिल्ने अवस्था बनेको छैन,’ मन्त्री चित्रकारले भने, ‘यद्यपि प्रयास भने जारी छ । हामीले हाम्रो माग अनुसार गर्न भनेका छौँ । तर, उहाँहरु तयार हुनुभएको छैन ।’

गत पुस २५ गते मुख्यमन्त्री बनेका जम्कट्टेलले माघ १० मा तत्कालीन सत्ता गबठन्धनका दलहरु नेकपा एमाले र राप्रपा सांसदहरुलाई लिएर सरकारलाई पूर्णता दिएका थिए । तर, गत फागुनमा राष्ट्रपति निर्वाचनका लागि बनेको राजनीतिक समीकरण अनुसार तत्कालीन सत्ता गठबन्धनबाट नेकपा एमाले र राप्रपा अलग भएपछि मुख्यमन्त्री जम्कट्टेलले नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीसँगको सत्ता समीकरण रोजेका थिए ।

उक्त समीकरण अनुसार गठित प्रदेश सरकारमा मुख्यमन्त्री जम्कट्टेलले गत जेठ ७ गते मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए । उनले प्रदेशमा ११ वटा मन्त्रालय रहे पनि १२ जना मन्त्री नियुक्त गरेका थिए, जसमा मन्त्री चित्रकारलाई विभागीय जिम्मेवारी नतोकिएको हो ।

प्रदेश सरकारमा कांग्रेसबाट ६, माओवादी केन्द्रबाट ४ र एकीकृत समाजवादीबाट २ जना मन्त्री बनेका छन् । कांग्रेसका चित्रकार विभागविहीन हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप