आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लागुऔषध डाइजेपाम र गाँजासहित ७ जना प्रहरी नियन्त्रणमा

शुक्रबार, १९ साउन २०८०, २० : ३७
शुक्रबार, १९ साउन २०८०

मकवानपुर । मकवानपुरको रातोमाटेबाट लागुऔषध डाइजेपाम र गाँजासहित ७ जना पक्राउ परेका छन् ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटेबाट ३ वटा घटनामा लागुऔषध डाइजेपाम र गाँजासहित ७ जना  पक्राउ परेका हुन् ।  

हेटौंडा–१५ रातोमाटेबाट १ हजार ४९८ एम्पुल लागूऔषध डाईजेपामसहित एक जनालाई नियन्त्रण लिएको छ भने ६ किलो ५०० ग्राम गाँजासहित २ जना र ९ किलो १५० ग्राम गाँजासहित ४ जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार बिहीबार राती प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक मन्जु कुमारी रानाको कमाण्डमा खटिएको टोलीले पूर्वपश्चिम राजमार्ग सडक खण्डबाट लागुऔषध डाइजेपामसहित एक जनालाई पक्राउ गरेको हो ।

उक्त सडक खण्डमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा वीरगन्जबाट हेटौडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३९००१ ख २३९८ नम्बरको यात्रुवाहक बसको डिक्कीमा लुकाई ल्याएको अवस्थामा सो परिमाणमा लागुऔषध डाइजेपाम बरामद भएको थियो ।

उक्त गाडीका सहचालक पर्सा धोविनी गाँउपालिका–४ बस्ने २२ वर्षीय साकिर खानलाई शंकाका आधारमा खानतलासी गर्ने क्रममा सो गाडीको डिक्कीभित्र चामलको बोरा मुनी लुकाई छिपाई लागुऔषध डाईजेपाम ५०० एम्पुल, फेनारगन ४९८ एम्पुल, नुफिन ५०० एम्पुल गरी जम्मा १४९८ एम्पुल फेला परेको उनले बताए । प्रहरीले उक्त लागूऔषधसहित खानलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाएको छ ।

यस्तै प्रहरीले बिहीबार साँझ ५ बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा हेटौंडाबाट बीरगंजतर्फ जाँदै गरेको बा ४ ख २१९१ नम्बरको यात्रुवाहक बसबाट ६ किलो ५०० ग्राम लागुऔषध गाँजा फेला परेको थियो ।

प्रहरीले सिन्धुली हरिहरपुरगढी गाउँपालिका–३ नयांबस्ती बस्ने ३० वर्षीय बुद्ध बहादुर भोलन र सोही स्थान बस्ने  ३० वर्षीय लाल बहादुर तामाङलाई पक्राउ गरेको प्रवक्ता कार्कीले बताए । उक्त बसमा यात्रा गरिरहेका उनीहरुलाई शंकाका आधारमा खानतलासी गर्दा झोलाभित्र लुकाई ल्याएको सो परिमाणमा लागुऔषध गाँजा फेला परेको थियो ।

प्रहरीले गत बुधबार बिहान ११ः३० बजेको समयमा सोही स्थानबाट नारायणघाटबाट वीरगंजतर्फ आउँदै गरेको ना ८ ख ७३४६ नम्बरको  यात्रुवाहक बसबाट ९ किलो १५० ग्राम लागुऔक्षध गाँजा फेला परेको थियो ।

प्रहरीले उक्त परिमाणको गाँजासहित पर्सा पटेर्वा सुगौली गाँउपालिका–१ बस्ने ३१ वर्षीय धनराज गिरी, भारत सितामडी मसल–६ बस्ने १९ वर्षीय दिपक यादव, धनुषा महेन्द्रनगर नगरपालिका–११ बस्ने १९ वर्षीय रवि कुमार महरा, र मकवानपुर राक्सीराङ गाउँपालिका–३ बस्ने ४५ वर्षीय बुदेलाल डिम्डुङलाईलाई पक्राउ गरेको प्रवक्ता कार्कीले बताए ।

उक्त बसमा यात्रा गरिरहेका उनीहरुलाई शंकाका आधारमा बसबाट ओराली खानतलाशी गर्दा उनीहरुले बोकेको झोलाभित्र लुकाई ल्याएको अवस्थामा लागुऔषध गाँजा फेला परेको थियो । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप