आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा रातको समयमा चोरी गर्ने व्यक्ति पक्राउ

शुक्रबार, १९ साउन २०८०, २१ : ३३
शुक्रबार, १९ साउन २०८०

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रातको समयमा चोरी गर्ने व्यक्तिहरूलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–९ घर भई हाल काठमाठौँ महानगरपालिका–२६ ठमेल बस्ने ४५ वर्षीय विकास देउला (पोडे) तथा सिन्धुपाल्चोक तौथली गाउँपालिका–७ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ पासिकोट बस्ने ३२ वर्षीय सुमन भन्ने विष्णु श्रेष्ठ रहेका छन् ।  

उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनका अनुसार यही साउन ६ गते राति बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँस्थित सुजन श्रेष्ठको घरबाट रोलेक्स राडो तथा ओमेगा घडी, सुनका र हिराका विभिन्न गरगहना तथा नगदलगायत अन्दाजी मूल्य रु ८५ लाख २६ हजार नौ सय बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानका क्रममा उक्त चोरी भएको धनमाल पासा भन्ने विकास पोडेको साथमा रहेको भन्ने खुल्न आएकाले निजलाई ठमेलबाट पक्राउ गरिएको हो ।

यसैगरी पोडेलाई पक्राउ गरी थप अनुसन्धान गर्दा उक्त चोरी गर्ने कार्यमा हाल प्रहरी वृत्त, मालिगाउँमा अभद्र व्यवहार कसुरको अनुसन्धानको सिलसिलामा थुनामा रहेका सुमन भन्ने विष्णु श्रेष्ठको संलग्नता रहेको खुल्न आएको हुँदा निज पासा भन्ने पोडेलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको प्रवक्ता तथा प्रहरी परीक्षक केसीले बताए ।

साथै निज सुमन भन्ने विष्णु श्रेष्ठलाई यसअघि काठमडौँ उपत्यकाका विभिन्न प्रहरी कार्यालयबाट चोरीलगायत ६ वटा मुद्दा चलेको अभिलेखबाट देखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सुनजस्तो देखिने धातुसहित भारतीय नागरिक पक्राउ 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली लैजान लागेको करिब एक सय ग्राम तौलको सुन जस्तो देखिने धातुको बालासहित आज एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेमा ४२ वर्षीय भारतीय नागरिक इस्हाब रहेका प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार आज फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौँ आएका उनलाई

अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैधरूपमा लुकाइछिपाई भन्सार छली लैजान लागेको अवस्थामा उक्त धातुको एक थान बालासहित त्यहाँ खटिएका प्रहरीले फेला पारी पक्राउ गरेको हो । 

पक्राउ परेका इस्हाबलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप