आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
गीत

जति हेर्छु उति राम्रो

शनिबार, २० साउन २०८०, ०६ : ४२
शनिबार, २० साउन २०८०

जति हेर्छु उति राम्रो तिम्रो प्रतिच्छाया
झन्झन् गाढा भइरहेछ मेरो देशको माया ।
साम्राज्यवाद युद्ध बोकी नेपाल भित्रिरा’छ
सडकभरि देशभक्तको ताँती लागिरा’छ
लिम्पियाधुरा, कालापानी, लिपुलेक रुन्छन्–
‘देशभक्त सन्तान हो मुक्ति देओ’ भन्छन् ।
आमा रोको पीडाभन्दा ठूलो पीडा के छ ?
जन्मभूमि, कर्मभूमि, प्यारो मेरो देश ।
यी आँखाका नानी भन्दा देश ठूलो रै’छ
मुटुभन्दा जन्मभूमि अझै प्यारो रै’छ ।
बालापनमा पैतालाका छाप बसेका छन्
पिठ्यँुदेखि थाप्लोसम्म खाला गएका छन् ।
चिँ–चिँ गर्दै उड्छे चरी मैलाई सम्झिएर
देउरालीको ढुङ्गो बस्छ मैलाई पर्खिएर ।

थाले ढुङ्गो उदास देख्छु हेर्छ टोलाएर
मयुर–ढुकुर हिँड्छन् बरै मैलाई बोलाएर । 
पुतली र चिबे चरी मैलाई हेर्दै नाच्छन्
सगरमाथा, तामाकोशी हेर्दै मुस्कुराउँछन् ।
बलभद्र, भक्ति, अमर, पुष्प खोज्दैछु म
देशलाई टाउको दिने भीम दत्त रोज्दैछु म ।
दुष्टहरू मोर्चा बनाई हतियार उद्याइरा’छन् 
क्रान्तिकारी, देशभक्त एक हुँदै गा’छन् ।
अन्तिम युद्ध सुरु भा’छ, वर्ग उठ्दै गा’छ
‘मुक्तिका दिन टाढा छैनन्’ हामीलाई ला’छ ।
गर्मी हुँदा शीतल दिन्छ्यौ, ठण्डी हुँदा ताप
हाम्रो जीवन खुसीसँग बितोस् तिम्रै साथ ।
तिम्रो सुवास पछ्याउँदै लडेका छौँ आमा
हृदयमा अमिट छ मेरो देशको माया ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अशोक सुवेदी
अशोक सुवेदी
लेखकबाट थप