आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विकास कार्यमा स्थानीय सरकारसँग समन्वय गरी प्रदेश सरकार अगाडि बढ्छ : मुख्यमन्त्री यादव

शनिबार, २० साउन २०८०, ०७ : ३०
शनिबार, २० साउन २०८०

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले स्थानीय सरकारसँग समन्वय गरी विकास कार्य अघि बढाइने बताएका छन् । प्रदेश समन्वय परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले जनताकै लागि विकास गर्ने भएकोले प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्न चाहेको विश्वास दिलाए । 

युवा र कृषिलाई जोडेर आएको बजेट एवम् प्रदेशका योजनाहरू नियमन गर्न निरन्तर अनुगमन समिति सक्रिय बनाइने घोषणा पनि उनले गरे । प्रदेशको विकास कार्यमा देखा परेको अनियमित क्रियाकलापलाई नियमन गर्न दुई वटा गाडी निरन्तर अनुगमनको लागि खटाइने जानकारी पनि यादवले दिए । 

सोही अवसरमा गृह, सञ्चार तथा कानुन मन्त्री मोहम्मद समीमले प्रदेश सरकारले स्थानीय निकायसँग समन्वय नगरेको प्रसङ्गमा प्रदेश सरकारलाई मात्र दोष दिन नहुने बताए । स्थानीय तहले समेत कुनै कार्य गर्दा प्रदेशका माननीयहरूसँग समन्वय गर्नुपर्छ, उनले भने मिलेर जानु बाहेकको विकल्प छैन । हामी एक अर्काको परिपूरक हुनुपर्छ  । प्रदेश सरकारलाई स्वामित्व ग्रहण गर्ने वातावरण बनाउन स्थानीय तहले पनि समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने उनको  धारणा थियो । 

निमित्त मुख्य सचिव किशोर कुमार चौधरीले आजको बैठक असाध्यै महत्त्वपूर्ण रहेको कुरा छलफलबाट पुष्टि भएको बताए । उनले बजेट अगावै परिषद्को बैठक जरुरी रहेको भन्दै यसबाट योजना दोहोरिने समस्याबाट जोगिने प्रष्ट्याए । 

प्रदेश समन्वय परिषद्को बैठक नियमित बनाउन कार्यविधि नै बनाउने उनले वचन व्यक्त गरे । परिषद्को सदस्य सचिव एवम् प्रदेश सचिव रामकृष्ण पुडासैनीले सवालहरूलाई सहीरुपमा पहिचान गर्न सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे ।

सिराहा जिल्ला समन्वय समितिका प्रमुख दिनेशकुमार महतो, बाराको कलैया नगरपालिकाका नगर प्रमुख विनोद साह, रौतहटको गौर नगरपालिकाका प्रमुख शम्भु साह, धनुषाका गणेशमान चारनाथ नगरपालिकाका उपप्रमुख तुलसा कुमारी पाण्डेय, महोत्तरीका गौशाला नगरपालिकाका उपप्रमुख रेनुकुमारी महतो, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका उपप्रमुख सरिताकुमारी यादव लगायतले परिषद्को बैठक नियमित गर्नुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप