आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
माओवादी बैठक

माओवादी बैठकमा दुई अङ्कको केन्द्रीय समिति बनाउनुपर्ने मत बलियो

शनिबार, २० साउन २०८०, २२ : ५५
शनिबार, २० साउन २०८०

काठमाडौँ । चार दिनदेखि जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टी कामलाई चुस्ता दुरुस्त बनाउन दुई अङ्कको केन्द्रीय समिति हुनुपर्ने मत बलियो हुँदै गएको छ ।

शान्ति प्रक्रियामा आएको लामो समयसम्म पनि पार्टीभित्र आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा नहुँदा माओवादी कमजोर भएको, नेताहरू कार्यकर्ताबाट टाढिँदै गएकाले, सुविधाभोगी र सहरमुखी भएको, जनता र कार्यकर्ताको सेवक नभई आदेश कर्ता भएको लगायत आरोप लगाए । पार्टीलाई गतिशील, चुस्त दुरुस्त बनाउन सबै कमिटीको निर्वाचन अनिवार्य भएको अधिकांशको तर्क छ । उनीहरूले जसले माग्यो उसैलाई केन्द्रीय सदस्य बनाउँदा केन्द्रीय समिति जम्बो र निकम्मा भएको भनाइ राखे । 

बैठकको सुरुकै दिन केन्द्रीय सदस्य हिमाल शर्माले पदाधिकारीदेखि वडा तहसम्म निर्वाचन प्रणालीमार्फत समिति अनुमोदन हुनुपर्ने धारणा राखे । निर्वाचन प्रक्रिया छलेर टिके प्रथा हाबी हुँदा पार्टी जीवन ध्वस्त भएको जिकिर गरे । उनले पार्टीलाई पुनर्जीवन दिन २ अङ्कको केन्द्रीय समिति बनाउन उपयुक्त हुने सुझाव दिए । 

maoist cc meeting 2

‘माओवादीलाई पुनर्जीवन दिन सबै कमिटीको निर्वाचन अनिवार्य हुनुपर्छ । पार्टी कामलाई गतिशील बनाऔँ २ अङ्कको केन्द्रीय कमिटी हुनुपर्छ । यसो भएका नेता कार्यकर्ता र जनताप्रति जवाफदेही हुन्छन् । पार्टी बनाउने हो भने अब यसको विकल्प छैन’, उनले भने । 

बैठकको दोस्रो दिन बोल्दै अर्का केन्द्रीय सदस्य माधव सापकोटाले पार्टी रूपान्तरणको निर्विकल्पक सबै तहको निर्वाचन रहेको विचार राखे । उनले पार्टीलाई छरितो र  गतिशील बनाउन सानो आकारको केन्द्रीय समिति हुनुपर्ने भनाइ राखे । 

‘माओवादी पार्टी बनाउन सम्भव छ । यसका लागि पदाधिकारीदेखि वडा तहसम्म निर्वाचन हुनुपर्छ’, उनले भने, ‘त्यसरी निर्वाचित भएका नेताहरू कार्यकर्ताप्रति जबाफदेही हुन्छन् । पराजित भएकाले विजयी भएकालाई  सहयोग गर्नुपर्छ । अहिलेको जस्तो जम्बो केन्द्रीय कमिटी आवश्यक छैन । सानो आकारको कमिटी भए पुग्छ ।’

तेस्रो दिन अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि आफ्नो विचार राख्दै केन्द्रीय सदस्य लेखनाथ दाहालले यथास्थितिमा माओवादी आन्दोलन अगाडि बढ्न नसक्ने बताए । पार्टी रूपान्तरणका लागि सबै  तहको निर्वाचन आवश्यक रहेका भनाइ राखे । त्यसका लागि विधान सम्मेलनमार्फत २ अंको केन्द्रीय समिति बनाउनु पर्ने धारणा राखे । 

maoist cc meeting

‘टिके नेताहरूले कार्यकर्ता र जनताको भावना बुझ्न सक्दैनन् । जनता र कार्यकर्ताप्रति जबाफदेही बनाऊ सबै कमिटीको निर्वाचन हुनुपर्छ । केन्द्रीय समितिको आकार सानो बनाउनु पर्छ’, उनले भने । 

यसैगरी केन्द्रीय सदस्य पञ्चा सिंहले माओवादीमा ४०७ जना केन्द्रीय सदस्य आवश्यक नभएको बताइन् । उनले बैठकमा शत प्रतिसतको धारणा २ अङ्कको केन्द्रीय कमिटी हुने पर्नेमा जोडदार रूपमा आएको जिकिर गरिन् । केन्द्रीय कमिटीको आकार फुक्दै गएको र पार्टी निरन्तर खुम्चिँदै गएकोमा चिन्ता व्यक्त गरिन् । 

‘बैठकमा मेरो लगायत अधिकांशको धारणा २ अंको केन्द्रीय समिति हुनुपर्नेमा जोड दिएका छन् । पदाधिकारीसहित सबै तहको निर्वाचन हुन जरुरी छ’, उनले भनिन्, ‘जित्नेले पार्टी चलाउनु पर्छ । पराजित हुनेले सहयोग गर्नुपर्छ । यसो भए मात्र पार्टी गतिशील हुन्छ ।’

माओवादीभित्र  अहिले पद पाउने पनि  खुसी नभएको र नपाउने झनै बेखुसी भएको उनले बताइन् । २०७८ पुसको दोस्रो साता काठमाडौँमा भएको ८ औँ महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समिति अनुमोदन गरेको थियो । तर विभिन्न पार्टीबाट एकता प्रक्रियामा आएकाहरूलाई समायोजन गर्न भन्दै अध्यक्ष प्रचण्डले विधानविपरीत मनोनीत गरी  ३८५ जनाकाे केन्द्रीय समिति बनाएका थिए । जारी बैठकमा उनले महिलाको सङ्ख्या ३३ प्रतिशत सुनिश्चित गर्न थप २२ जना मनोनीत गरेका थिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे
लेखकबाट थप