आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
माओवादी बैठक

माओवादी केन्द्रीय समिति बैठकमा बाबुराम र विप्लवसँग पार्टी एकता गर्ने विषय ओझेलमा

शनिबार, २० साउन २०८०, १४ : ०१
शनिबार, २० साउन २०८०

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्नुअघि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले छलफलका लागि एक पत्र पठाए । इमेलमार्फत  पठाएको सो पत्रमा ‘खाँचो अग्रगामी वैकल्पिक शक्तिको, अग्रगामी वैकल्पिक राजनीतिका प्रमुख एजेण्डा के हुन् ?, अग्रगामी वैकल्पिक शक्तिको निर्माण कसरी ?’ तीन खण्डमा समेटिएको दस्तावेज बैठकमा बहस र छलफल होस् र त्यसले एउटा निष्कर्ष निस्कियोस् भन्ने उनको अभिप्राय थियो । तर केन्द्रीय समितिको बैठकको तेस्रो दिनसम्म आइपुग्दा उक्त दस्तावेजको न अध्यक्ष प्रचण्डले उच्चारण गरे, न त केन्द्रीय सदस्यहरूले बहस र छलफल गर्न उचित ठाने । 

त्यस्तै लामो गृहकार्य छलफल र बहसपछि असार ४ गते राजधानीको राष्ट्रिय सभा गृहबाट माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा गठन गरे । भविष्यमा एउटै वामपन्थी दल बनाउने उद्देश्यले घोषणा भएको उक्त कार्यक्रममा प्रचण्डले हौसिँदै केही समयमा माओवादी घटकबीच पार्टी एकता हुने जिकिर गरे । 

‘हिजो नेकपा गठनका लागि मैले प्रस्तावकको भूमिका खेले । निर्वाचनमा जनता र आम कार्यकर्ताको अपार समर्थन पाएर पनि त्यो पार्टी बचाउन सकेनौँ’, उनले भनेका थिए, ‘म अहिले कसैलाई दोष दिन चाहन्नँ। त्यतिबेला हामीले पार्टी एकता नै गर्न हतारो गरेछौँ अब त्यस्तो गल्ती  दोहोरिँदैन । निकै सुझबुझका साथ वामपन्थीबीच एकता गर्छौँ ।’ 

माओवादीसहित चार दलको समाजवादी मोर्चा बान्दा समाजवादी मोर्चाका सूत्रधार बाबुराम नै अटाएनन् । यद्यपि २९ साउन, २०७९ मा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम  भट्टराईबीच एउटै चिन्ह र घोषणापत्रबाट मङ्सिरमा हुने निर्वाचनमा भाग लिने सहमति भएको थियो ।

प्रचण्ड निवास खुमलटारमा भएको दुई नेताबीच निर्वाचन लगत्तै पार्टी एकता गर्ने गरी एउटै घोषणपत्रमा चुनाव लडेका निर्वाचन भएको ८ महिना बितिसक्दासमेत पार्टी एकताले मूर्तरूप लिन सकेका छैनन् । ढिलै भएपनि जारी केन्द्रीय समिति बैठकमा वैकल्पिक समाजवादी बाटोमा जाने स्पष्ट विचारको मन्थन हुने आशा भट्टराईले राखेका थिए । १७ गते बसेको पहिलो बैठकमा अध्यक्ष प्रचण्डले बाबुराम र विप्लवसँग पार्टी एकताको विषय दस्ताबेजमा ल्याएनन् । समाजवादी मोर्चा कसरी अगाडी बढ्छ भन्ने विषय पनि केन्द्रीय सदस्यहरूलाई जानकारी गराएनन् । तीन दिनसम्म १३९ जना केन्द्रीय सदस्यले पार्टी कसरी बनाउने भन्ने विषयमा गरमागरम बहस र छलफल गर्दा भट्टराई र विप्लवबीच पार्टी एकताको विषयमा झिनो मत सुनियो । यद्यपि बैठकमा पार्टी एकता र समाजवादी मोर्चाको विषयमा छलफल र बहस भएको नेताहरूले जिकिर गरेका छन् ।

बाबुराम र विप्लवसँगको एकता र समाजवादी मोर्चाको सम्बन्धमा बैठकमा कुरा  उठेको केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिए । उनकाअनुसार धेरै सदस्यहरूले यसमा चासो दिए पनि मूर्तरूपमा पार्टी एकताका लागि दस्ताबेजमै उल्लेख गर्नुपर्नेमा ५/६ जनाले धारणा राखेका छन् । 

‘बाबुरामजीको पार्टी र विप्लवको पार्टीसँग एकता गर्नुपर्ने विषय बैठकमा उठेका छन् । तर मूर्तरूपमा ५/६ जनाले दस्ताबेजमा पार्टी एकताको विषय लिपिबद्ध गर्नुपर्ने धारणा राखेका छन् । छलफलको क्रममै भएकाले यस विषयमा निर्णय हुनसक्छ’, उनले भने ।  

उपाध्यक्षसमेत रहेका प्रवक्ता कृष्णबहादुर महराले बाबुराम र विप्लवको पार्टीसँग पार्टी एकताको विषयमा अध्यक्षको प्रतिवेदनमा उल्लेख नभए पनि परिमार्जित प्रतिवेदनमा लिपिबद्ध हुने जिकिर गरे । 

‘अध्यक्षज्यूले संक्षिप्त प्रतिवेदन बैठकमा पेस गर्नुभएको हो । बैठकमा बहस र छलफल जारी छ । परिमार्जित प्रतिवेदनमा उक्त विषय उल्लेख हुन्छ’, उनले  भने । 

महरामार्फत निरन्तर छलफल र परामर्शपछि समाजवादी मोर्चामा जोडिएका विप्लवले माओवादी  बैठकले पार्टी एकताको विषयमा निर्णय हुने विश्वास लिएका छन् । तर अहिलेको अवस्थामा पार्टी एकता सम्भव नभएको नेता अनिल शर्मा विरहीले बताए । ‘माओवादी केन्द्रीय समितिमा पार्टी एकताको प्रस्ताव  भएको छैन । छलफल जारी रहेकाले अहिले नै टिप्पणी गर्न मिल्दैन’, उनले भने, ‘उहाँहरूको बहस र छलफल जारी रहेकाले निर्णय के आउँछ  हेर्न बाँकी छ । अहिलेकै अवस्थामा पार्टी एकताको सम्भावना देखिँदैन ।’

माओवादीभित्र जनार्दन शर्मा र वर्षमान पुन हाबी भएकाले एकताको सम्भावना न्यून रहेको शर्माको भनाइ छ । 

शर्माको जस्तै भनाइ नेसपाका नेता गंगानारायण श्रेष्ठ रहेको छ । वैकल्पिक समाजवादी पार्टी गठन गर्नका लागि हामीले पत्र पठाएको भन्दै छलफल गर्ने वा नगर्ने उहाँहरूको विषय भएको बताए । 

‘हामीले कस्तो समाजवादी पार्टी गठन गर्ने भनेर पत्र पठाएका छौँ । माओवादीको बैठक सकिएको छैन । अन्तिम दिनसम्म यसबारे कुनै निष्कर्ष वा  निर्णय आउला । अहिले नै यसबारे टिप्पणी गर्न हतार हुन्छ । यदि उहाँहरूले पार्टी एकता गर्ने प्रस्ताव पारित गरे बैठक बसेर त्यसबारे निर्णय गर्छौँ’, उनले भने । 

दुवै पार्टीले माओवादी केन्द्रको निर्णयपछि मात्र आफ्ना आधिकारी धारणा सार्वजनिक गर्ने मुडमा देखिएका छन् । यसरी प्रचण्डले माओवादी घटकबीच एकता हुने पटक पटक सार्वजनिक अभिव्यक्ति दिए पनि पार्टी एकताको विषय दस्ताबेजमा उल्लेख नहुँदा केन्द्रीय समिति बैठकमा पार्टी एकताको विषय ओझेलमा परेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे
लेखकबाट थप