आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कर्णालीमा बीमा

कर्णालीमा बीमाको पहुँच किन भयो कमजोर ?

कर्णालीका बीमा कम्पनी पनि प्रायः प्रदेश राजधानी सुर्खेतकेन्द्रीत
शनिबार, २० साउन २०८०, २२ : ५८
शनिबार, २० साउन २०८०

सुर्खेत । बीमा कम्पनीहरु सहर, बजारतर्फ बढी केन्द्रीत हुँदा कर्णालीका अधिकांश नागरिक बीमाको पहुँच बाहिर छन् । सरकारले बीमा कम्पनीहरुलाई संघीय संरचनाअनुसार सेवा विस्तार गर्न निर्देश दिए पनि ग्रामीण इलाकामा उपस्थिति कमजोर देखिएको छ । 

बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका अनुसार कर्णालीमा भएका बीमा कम्पनीहरु पनि प्रायः प्रदेश राजधानी सुर्खेतकेन्द्रीत मात्र देखिन्छन् । 

कर्णालीका विभिन्न जिल्लाहरुमा जीवन बीमकका ११० वटा शाखा तथा उपशाखा छन् । त्यसमध्ये सबैभन्दा बढी सुर्खेतमा १८ शाखा र ११ उपशाखा रहेका छन् । दैलेखमा १५, सल्यानमा १४, रुकुम पश्चिममा ११, कालिकोटमा ५, मुगुमा ६, जुम्लामा १३, हुम्लामा ४, डोल्पामा ४ वटा शाखा तथा उपशाखा छन् ।  

यस्तै, निर्जीवन बीमकको शाखा, उपशाखा कर्णालीमा ४५ वटा रहेका छन् । त्यसमध्ये पनि सबैभन्दा बढी सुर्खेतमै १७ वटा छन् भने अन्य जिल्लामा २ देखि ५ वटासम्म मात्रै शाखा, उपशाखा विस्तार भएको छ । 

कर्णालीमा उपस्थिति निकै कमजोर 

प्रदेशगत हिसाबले हेर्ने हो भने जीवन र निर्जीवन दुबै बीमामा कर्णालीको सहभागिता निकै कमजोर देखिन्छ । जीवन बीमातर्फ कर्णालीको हिस्सा जम्मा ४ प्रतिशत मात्रै रहेको छ । 

यस्तै, निर्जीवन बीमातर्फ कर्णालीको उपस्थिति अझ कमजोर छ । बीमा प्राधिकरणको २०८० को तथ्याङ्कअनुसार निर्जीवन बीमामा कर्णालीको १.४ प्रतिशत मात्रै हिस्सा छ । जबकि सुदूरपश्चिमको २.५ प्रतिशत हिस्सा रहेको छ । अन्य प्रदेशको ८ प्रतिशत भन्दा धेरै छ भने सबैभन्दा बढी बागमती प्रदेशको ६७ प्रतिशत रहेको छ । 

बीमाको पहुँचमा कर्णालीका नागरिक कति ? 

१६ लाख ८८ हजार ४१२ जनसंख्या रहेको कर्णालीमा २ लाख ७४ हजार ५४२ जनाले मात्रै बीमा गरेका छन् । यो जीवन र निर्जीवन दुबै तर्फको बीमा हो । 

निर्जीवन बीमामा नागरिकको सहभागिता अझ कमजोर छ । बीमा प्राधिकरणका अनुसार ५६ हजार ८९२ जनाले निर्जीवन बीमा गरेका छन्, जसको बीमाशुल्क ४९ करोड ५५ लाख रहेको छ । 

यस्तै, २ लाख १७ हजार ६५० जनाले जीवन बीमा गरेको छन्, जसको बीमा शुल्क ४ अर्ब ९७ करोड ४६ लाख रहेको छ । 

कर्णालीमा निर्जीवन बीमालेखको अवस्था

t1

 

बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम प्रकाश सोडारीका अनुसार कर्णालीको सम्पत्तिको बीमा जति हुनुपथ्र्यो, त्यो अनुसार भएको छैन । 

यद्यपि कृषितर्फ भने बीमा गर्नेको संख्या बढी देखिन्छ । ‘कृषि बीमा राज्यकै प्रमुख प्राथमिकतामा रहेको छ,’ उनले भने,‘अनुदानको व्यवस्था पनि गरेको छ । तर, भुक्तानीका सन्दर्भमा भने राज्यबाट सहज पहल भइरहेको छैन । अर्बौँ रकम कृषिको बीमा अनुदानको भुक्तानी हुन सकिरहेको छैन ।

कर्णालीमा जीवन बीमालेखको अवस्था

 

‘बीमाको पहुँच वृद्धि गर्नुपर्छ’

प्रमुख सोडारीका अनुसार कर्णालीमा बीमा तथा वित्तिय क्षेत्रमा ठुलो चुनौती छ । जनचेतनाको कमीका साथै बीमा नीति तथा कानुन नहुँदा समस्या छ । यस्तै, भौगोलिक कठिनाई, वित्तिय शिक्षाको अभाव, बेरोजगारी तथा न्यून आयस्रोतका कारण पनि नागरिक बीमाको पहुँचसम्म पुग्न सकिरहेका छैनन् । 

साथै, वित्तिय क्षेत्रमा काम गर्ने संस्थामा पनि एकापसमा समन्वयको अभाव देखिन्छ । प्रमुख सोडारी कर्णालीका ग्रामीण भेगमा पनि बीमाको पहुँच वृद्धि गर्नुपर्ने बताउँछन् । त्यसका लागि राज्य र बीमासम्बन्धी काम गर्ने संस्थाहरुले पनि ध्यान दिनुपर्छ । कर्णाली प्रदेश सरकारले प्राकृतिक प्रकोप बीमाको घोषणा गरेको छ । तर, त्यो राम्रोसँग लागु हुन सकिरहेको छैन । 

सोडारीका अनुसार सबै तहका नागरिकसम्म पु¥याउन लघुबीमा सञ्चालनमा आएकाले ग्रामीण क्षेत्रमा पनि पहुँच बढाउन सक्ने छ । उनले जनताको जीउधनको सुरक्षाका लागि पनि बीमाको पहुँच विस्तार गर्न आवश्यक रहेको बताए । 

कर्णालीका अर्थमन्त्री बेदराज सिंहले कर्णालीमा बीमामा सहभागिता कमजोर रहेकाले यसको पहुँच विस्तारमा सरकार अग्रसर हुने बताए । उनले बीमालाई अभियानकै रुपमा अगाडि बढाउने र सबै क्षेत्रमा बीमाको पहुँच विस्तार गरिने जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप