आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
लम्पी स्किन

कोशी प्रदेशमा साढे ६ हजार पशु मरे, एक महिनामै दोब्बर क्षति

हालसम्म २ लाख ३७ हजार प्रभावित, कुन जिल्लामा कति ?
शनिबार, २० साउन २०८०, १८ : ०५
शनिबार, २० साउन २०८०

विराटनगर । कोशी प्रदेशमा लम्पी स्किन रोगबाट एक महिना अगाडि ३ हजार ६ सय १४ वटा पशु चौपाया मरेका थिए । यो सङ्ख्या एक महिनामा बढेर ६ हजार ६ सय ८६ पुगेको छ । 

कोशी प्रदेश पशुपन्छी तथा मत्स्यविकास निर्देशनालय विराटनगरले दिएको जानकारी अनुसार साउन १८ गतेसम्ममा ६ हजार ६१४ वटा गाई/गोरु र ७२ वटा राँगा भैँसी मरेका छन् । 

निर्देशनालयका निमित्त निर्देशक डा.पशुपति ढुंगानाका अनुसार कोशी प्रदेशमा हालसम्म २ लाख ३७ हजार ४२१ वटा पशुचौपाया प्रभावित भएका छन् । यस्तै प्रदेशमा हालसम्म १ लाख ३२ हजार ३४९ वटा पशुचौपायालाई खोप लगाइएको छ । 

ढुंगानाका अनुसार पहाडी जिल्लामा लम्पी स्किन रोगको प्रकोप नियन्त्रण भएको छ । तर, झापा, मोरङ र सुनसरीमा भने नियन्त्रण हुन अझै सकेको छैन । ‘अलिक अगाडिदेखि नियन्त्रणको प्रयास सुरु भएको कारण पहाडमा नियन्त्रण भयो,’ ढुंगानाले भने, ‘तराईको झापा, मोरङ र सुनसरीमा रोग सङ्क्रमण र प्रभावित हुने पशुहरूको सङ्ख्या पछिल्लो समय बढ्यो । त्यसकारण नियन्त्रणको प्रयास पनि पछि हुँदा अझै नियन्त्रणमा आइसकेको छैन । नियन्त्रण हुने अवस्थामा छ ।’

उनले लम्पीस्किन रोग नियन्त्रणको लागि खोपको अभाव भने टरेको बताएका छन् । एक महिना अगाडि खोपको अभाव भएको पहाडी जिल्लाका जनप्रतिनिधिहरूले बताएका थिए । ढुंगानाले अहिले भने खोपको अभाव नभएको बताए । सरकारले खरिद गरेर दिन सक्ने अवस्था भने नरहेको उनले बताए । ‘एउटा गाई बिरामी देखियो भने एउटा खोप किन्छु भन्ने अवस्था चाहिँ छैन, किसानलाई अलिक समस्या यही छ,’ उनले भने, ‘एक भाइल खरिद गर्दा २५ वटा खोप किन्नुपर्ने बाध्यता छ । एउटा किसानले एकैपटक यति किनेर खेर फाल्नुपर्ने अवस्था हुन्छ । एकैपटक २५ जना पशुका लागि खरिद गर्नुपर्ने हुन्छ । त्यसका लागि किसानहरू मिलेर मात्रै सम्भव छ ।’ ढुंगानाका अनुसार एउटा खोपको बजार मूल्य १५० रुपैयाँ रहेको छ । खोप भने झापा, मोरङ र सुनसरीका भेटेरीनरी पसलहरूमा पर्याप्त रहेको उनले बताए । 

एक महिना अगाडिसम्म सबैभन्दा धेरै प्रभावित हुने जिल्ला इलाम थियो । तर, अहिले पाँचथर धेरै प्रभावित देखिएको छ । पाँचथरमा हालसम्म ३४ हजार १०९ वटा गाईभैंसीमा यो रोग देखिएको छ । झापामा २० हजार ४२७, इलाममा १८ हजार ८०९, ताप्लेजुङमा ९ हजार ९९९, मोरङमा २२ हजार ९५०, उदयपुरमा २१ हजार ८१९, खोटाङमा १३ हजार ९५४, ओखलढुंगामा ८ हजार २८९, सोलुखुम्बुमा ७ सय १६, धनकुटामा २२ हजार ५३६, तेह्रथुममा १८ हजार ७१, सङ्खुवासभामा १४ हजार ४०७, भोजपुरमा ७ हजार ४३९ र सुनसरीमा २२ हजार ८९६ वटा पशु प्रभावित भएका छन् । सबैभन्दा धेरै मृत्यु हुने पशु भने इलाममा रहेका छन् । इलाममा हालसम्म १ हजार ३८२ वटा पशुको मृत्यु भएको छ ।

एक महिना अगाडि प्रदेशभरमा १ लाख ५९ हजार ४२९ वटा पशु प्रभावित भएका थिए । निर्देशनालयका अनुसार गाई गोरुमा धेरै यो रोग देखिएको छ । 

lampi

लम्पी स्किन कस्तो रोग हो ?

लम्पी स्किन रोग गाई भैँसीलाई हुने सङ्क्रामक रोग हो । लामखुट्टे, टोक्ने झिँगा र किर्ना जस्ता कीराको टोकाइबाट यो रोग सर्ने पशु चिकित्सकहरू बताउँछन् । यो रोग लागेपछि गाई भैँसीको दूध उत्पादन कम हुने उच्च ज्वरो आउने, तौल घट्ने र कहिले काहीँ मृत्यु पनि हुनसक्ने उनीहरूको दाबी छ । 

यो रोग लागेका गाई भैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साना र गोला गाँठा हुन्छन् । त्यस्तै सङ्क्रमित गाई भैँसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप