सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

श्रमदानमार्फत गाउँ विकासमा जुटे लेकखर्कवासी

आइतबार, २१ साउन २०८०, १० : २४
आइतबार, २१ साउन २०८०

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेकखर्कवासी श्रमदानमार्फत गाउँ विकासमा जुटेका छन् । बाढीपहिरो लगायतका कारण सडकसँगै विभिन्न ठाउँमा क्षति पुगेपछि उनीहरू यो अभियानमा जुटेका हुन् ।

वडा कार्यालयको अगुवाइमा भइरहेको यो अभियानमा गाउँलेहरू भेला भएर यहाँका विकास निर्माणको क्षेत्रमा काम गरिरहेका छन् । सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भएपछि उनीहरूले श्रमदान गरेर बाटो मर्मत गर्ने, पर्खाल लगाउने, सडकको नाली कटाउनेलगायतका काम गरिरहेको स्थानीयवासी टङ्क घिमिरेले बताए । स्थानीयको श्रमदानले राज्यको धेरै बजेट बचत हुने उनको भनाइ छ ।

“आफ्नो ठाउँ कस्तो बनाउने भन्नेमा स्थानीयको ठूलो भूमिका हुन्छ”, उनले भने, “हामीमा सानो काम पनि राज्यले नै गरिदिन्छ भन्ने सोच छ । तर त्यस्तो होइन । हामीले यस्ता साना काम गर्न सक्यौँ भने राज्यको निकै ठूलो लगानी बच्छ । हामीले यही सोचको साथ गाउँको विकासमा श्रमदान गरिरहेका छौँ ।”

श्रमदानमार्फत कपासे खोला, ओइराङको पुरुवा खोला,  बुतुङको पहिरो हटाएको र सेल्मेका विभिन्न ठाउँमा पर्खालसँगै  यहाँको ऐतिहासिक पाँचधारे पोखरी आसपासमा वृक्षरोपण गरेको  वडाध्यक्ष नभराज माङ्पाहाङ्गले जानकारी दिए । त्यस्तै बाढीको कारण निकै ठूलो क्षति पुगेको राउते खोलामा पनि श्रमदानमार्फत सडक सोलिङ गरेको अध्यक्ष माङ्पाहाङ्गको भनाइ छ ।
 
यो ठाउँको ठूलो पहिरो गाउँपालिकाले जेसिबी लगाएर हटाएरपछि स्थानीयले श्रमदानबाट सोलिङ गरेको वडाध्यक्ष माङ्पाहाङ्गले जानकारी दिए । “स्थानीय तहमा आएको बजेटले सबै काम गर्न सम्भव छैन”, वडाध्यक्ष माङ्पाहाङ्गले भने, “प्राकृतिक विपत्तिका कारण सयौँ ठाउँमा सडक बिग्रिएको अवस्था छ । सडक बिग्रेका कारण समस्या भएपछि हामी श्रमदानमार्फत विकासमा जुटेका छौँ ।”

यहाँको पाँचधारे पोखरीको आसपासको सरसफाइसँगै चाँप, लालीगुराँस, विभिन्न जातका फूल र पानीको मुहान नसुकोस् भन्नका लागि यहाँ वनकेराको बिरुवा रोपिएको वडाध्यक्ष माङ्पाहाङ्गले जानकारी दिए ।
 
बजार लाग्ने क्षेत्र भएकाले पाँचधारे आसपासमा रहेको प्लाष्टिक र बोतलको व्यवस्थापन गर्न समस्या रहेको वडाध्यक्ष माङ्पाहाङ्गको भनाइ छ । “हामीले श्रमदानमार्फत विभिन्न काम गर्दै आएका छौँ”, उनले भने, “खासगरी डम्पिङ क्षेत्र नहुँदा फोहर व्यवस्थापनमा समस्या रहेको छ । नजिकमा रहेको जग्गा स्थानीयजासीको भएका कारण प्लास्टिक तथा बोलतलाई व्यवस्थापन गर्न समस्या छ । यसमा सबै क्षेत्रको सहयोग भए सहज हुने थियो ।”

यहाँ महिनामा दुईपटक बजार लाग्ने गरेका कारण वातावरणलाई हानी पुर्याउने खालका धेरै फोहर सङ्कलन हुने उनको भनाइ छ  । फोहाेर व्यवस्थापन यहाँको ठूलो चुनौतीका रूपमा रहेको वडाध्यक्ष माङ्पाहाङ्गले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप