आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुरक्षित स्तनपान : आमा र शिशु दुवैका लागि फाइदाजनक तर कसरी ?

आइतबार, २१ साउन २०८०, १३ : १७
आइतबार, २१ साउन २०८०

स्तनधारी जीवका लागि स्तनपान अपरिहार्य छ । स्तनपान हरेक मानवको जीवन र अस्तित्वसँग जोडिएर पनि यो विषयले खासै चर्चा पाएको देखिँदैन । फलतः यसबारे समाजमा कैयौँ भ्रम व्याप्त छन्, जसले आमा र नवजात शिशु दुवैको स्वास्थ्यमा गम्भीर असर पैदा गरिरहेको छ । 

स्तनपान केवल स्वास्थ्यका दृष्टिकोणबाट मात्रै नभई भावनात्मक रूपमा समेत अत्यन्तै महत्त्वपूर्ण छ । बच्चा जन्मिएको एक घन्टाभित्र बच्चालाई आमाको शरीरमाथि राखेर न्यानो बनाई स्तनपान सुरुवात गराउनुपर्छ । यसले आमा र बच्चा बीचको भावनात्मक सम्बन्धलाई दृढ बनाउन समेत सघाउँछ । 

पहिले–पहिले बच्चा जन्मदाबित्तिकै आमाको बिगौती अर्थात् सुत्केरी भएपछि पहिलोपटक आउने दूध पचाउन सक्दैन भन्ने भ्रम थियो । त्यसैले शिशुलाई आमाको दूधको सट्टा मह, बाख्राको दूध आदि खुवाउने गरिन्थ्यो । अझै पनि दुर्गम ठाउँहरूमा यो भ्रम विद्यमान नै छ । 

आमाको दूध नवजात शिशुका लागि अमृतसमान हुन्छ । यसले शिशुलाई सम्भावित श्वासप्रश्वाससम्बन्धी समस्या, झाडापखाला, छिनछिनमा ज्वरो आउने आदि स्वास्थ्य समस्या आउन नदिनुका साथै रोग प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि गर्छ । सुरुवाती तीन महिनाको अवधिमा नवजात शिशुमा विकास हुने रोग प्रतिरोधात्मक क्षमताले समग्र स्वास्थ्य जीवनमा असर पुग्ने हँुदा आमाको दूधलाई अमृतसमान मानिएको हो । आमाको दूधमा पाइने लेक्टोफोर्मिन नामको पोषक तत्त्वले शिशुहरूको शरीरमा फलाम तत्त्व दिन्छ । उल्लिखित स्वास्थ्य समस्याकै कारण नेपालजस्तो स्वास्थ्य पूर्वाधार सबल भइनसकेको मुलुकमा बालबालिकाको मृत्युसम्म हुन सक्ने जोखिम भएकाले सुरक्षित स्तनपानले बाल मृत्युदरलाई ५० प्रतिशतसम्म घटाउन सक्ने आकलन गरिएको छ ।

स्तनपान कति र कसरी गराउने ?

शिशु जन्मिनेबित्तिकै एक घन्टाभित्रमा र ६ महिनासम्म आमाको दूध मात्रै खुवाउनु, ६ महिनापछि दुई वर्षसम्म आमाको दूधको साथै केही अन्य खानेकुरा खुवाउनु नै सुरक्षित स्तनपान हो । 

शिशुलाई ६ महिनासम्म आमाको दूधबाहेक पानीसमेत दिनुपर्दैन । यसैलाई विशेष स्तनपान (एक्स्क्लुसिभ ब्रेस्टफिडिङ) भनिन्छ । आमाले ६ महिनासम्म दुईदेखि तीन घन्टामा एकपटक स्तनपान गराउनुपर्छ भने त्यसपछि आवश्यकताअनुरूप वा शिशुको मागबमोजिम खुवाउन सकिन्छ । प्रत्येकपटक दुवै स्तनबाट १५ देखि २० मिनेटसम्म स्तनपान गराउनुपर्छ । त्यसैगरी, स्तनपान गराउनुपूर्व स्तन वरिपरिको भाग सफा पानीले पखाल्नुपर्छ, सकेसम्म आमाले खुकुलो कपडा लगाउनुपर्छ ।

केही आमाको जिज्ञासा के रहन्छ भने, ‘मेरो बच्चाले दूध थोरै मात्रै खान्छ । बढीजसो बान्ता गरिहाल्छ । कतै यो दूधको कमी पो भइरहेको पो हो कि !’ वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. स्विटी श्रेष्ठ भन्छिन्, ‘भर्खरै जन्मिएको बच्चाको पेट चराको पेट जत्रै सानो हुन्छ र एकपटकमा पाँचदेखि आठ मिलिलिटर खाइरहेको छ भने त्यसलाई सामान्य लिनुपर्ने हुन्छ, तेस्रो दिनपश्चात् १० देखि १५ मिलिलिटर र सातौँ दिनपछि ३० मिलिलिटरसम्म खानुलाई सामान्य रूपमा हेर्नुपर्छ ।’ 

पछिल्लो समय अप्रेसन गरेर प्रसूति गराउने क्रम बढेकाले बच्चालाई त्यस्तो अवस्थामा एक घन्टाभित्रै कृत्रिम दूध (फर्मुला फिडिङ) खुवाउने गरिन्छ । धेरैजसो आमाहरूलाई आफ्नो दूध कम आएको हो कि भन्ने समस्याले सताउने गर्छ । यसो हुन नदिनका लागि बच्चालाई आमाले जतिसक्दो बढी स्तनपान गराउनुपर्छ । बच्चा जन्मिएको १५ दिनभित्र दैनिक ८ देखि १२ पटकसम्म स्तनपान गराउने हो भने यो समस्या निवारणमा मद्दत पुग्न सक्छ । 

दूध आएन भनेर कहिल्यै पनि स्तनपानलाई चटक्कै छुटाउनु हुँदैन । यसका लागि पहिलो काम भनेको आमाले आफूलाई चिन्तामुक्त गराउनु हो । त्यसैगरी, उपयुक्त आसनले समेत प्रभाव पार्छ । आमाले आफ्नो स्तनलाई अङ्ग्रेजी लेटर ‘सी’ आकारमा समात्नुपर्छ । बूढीऔँला स्तनको मुन्टो वरिपरिको कालो भागमाथि हुनुपर्छ र अरु औँला स्तनको तलपट्टि हुनुपर्छ । बच्चालाई जतिसक्दो आमाको नजिक गराएर बच्चाको सम्पूर्ण शरीरलाई थामी स्तनपान गराउनुपर्छ । 

स्तनपान गराउने आमाले धूमपान वा मद्यपान गर्नु हुँदैन । पहिलोपटकको प्रसूति वा स्तनपानका समयमा आमालाई स्तनमा दुख्ने अवस्था आउन सक्छ । यो अवस्थामा पनि स्तनपानलाई बन्द भने गराउनुहुँदैन । सकेसम्म थोरै थोरै समय भए पनि स्तनपान गराइराख्ने र निचोरेर वा कचौरामा जम्मा गरी चम्चाले समेत खुवाउन सकिन्छ । 

कहिलेकाहीँ शिशुले टोकेर आमाको स्तनमा घाउ हुन सक्छ, यसको समाधानका लागि सजिलै निको पार्ने मलम बजारमा पाइन्छ । त्यस्तो अवस्थामा अर्काेपट्टिको स्तनबाट स्तनपानलाई जारी राख्नुपर्छ । 

केही भ्रम

हाम्रो समाजमा पानी धेरै खायो भने दूध पातलो आउँछ, साग खाए बच्चालाई चिसो लाग्छ, बिगौती दूध खुवाउनु हँुदैन, आमाले पिरो–अमिलो खाँदा बच्चाको पेट दुख्छ आदि भ्रम व्याप्त छन् । 

स्त्रीरोग विशेषज्ञ डा. सजना श्रेष्ठका अनुसार, आमाले सबैजसो खानेकुरा खान मिल्ने र खानेकुरामै ठ्याक्कै बार्नुपर्ने भनेर केही छैन, तर यसो भनिरहँदा आमाले आफ्नो शारीरिक र मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । पोषणयुक्त खानेकुरा र पर्याप्त आराम आमाका लागि अनिवार्य हुने उनको सुझाव छ ।

आमालाई गम्भीर प्रकारको रोगबाहेक अन्य सामान्य रोगमा स्तनपानलाई जारी राख्न सकिन्छ । आमाले औषधि सेवन गरिरहेको अवस्थामा भने चिकित्सकसँग परामर्श लिनुपर्छ । अहिले हेपाटाइटिसजस्ता गम्भीर प्रकृतिका रोगबाट संक्रमित आमाबाट जन्मिएको बच्चालाई समेत सुरुमै खोप दिएर स्तनपान गराइन्छ । आमाले सामान्य अवस्थामा भन्दा बढी पोषिलो कुरा खाने, आइरन प्रदान गर्ने ज्वानोको झोल, चाकु आदि खाँदा स्तनपान राम्रो हुने विशेषज्ञ बताउँछन् । 

केही विशेष परिस्थितिमा बोतलबाट दूध खुवाउनुपर्ने भएमा बोतललाई मनतातो पानीमा डुबाएर सफा गरेर मात्रै खुवाउनुपर्छ । बोतलको दूधलाई सामान्य बाहिरी तापक्रममा ६ घन्टासम्म र सामान्य फ्रिजमा २४ घन्टासम्म राखेर खुवाउन सकिन्छ ।

स्तनपान र आमाको सौन्दर्य 

पछिल्लो समय सौन्दर्य बिग्रने डरका कारण स्तनपान गराउने आमाहरूको सङ्ख्या घट्दै गएको र शिशुलाई छिट्टै स्तनपान छुटाउने क्रम बढेको तथ्यांक पाइन्छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस)को २०२२ को तथ्यांक अनुसार ६ महिना अवधिसम्म सुत्केरी आमामध्ये ५६ प्रतिशतले मात्रै पूर्ण स्तनपान गराएका र ४४ प्रतिशतले कृत्रिम दूध वा गाईभैँसीको दूध खुवाउने गरेको देखिएको छ ।

ग्रामीण भेगमा भन्दा सहरी क्षेत्रमा स्तनपानको दर कम भएको तथ्यांकले देखाउँछ । यो भविष्यका लागि समेत डरलाग्दो चित्रण हो । 

विशेषज्ञहरू स्तनपान गराउँदा आमाको सौन्दर्य बिग्रनेभन्दा पनि झन् राम्रो हुने बताउँछन् । स्तनपानले गर्भावस्थामा बढेको आमाको तौललाई सन्तुलनमा ल्याउन अर्थात् प्रि–प्रिग्नेन्सी फेजमा ल्याउन सघाउँछ, त्यसैले सौन्दर्य बिग्रने कुरा भ्रम शिवाय केही होइन । 

सुरक्षित स्तनपान गराउँदा स्तन र पाठेघरको क्यान्सरको जोखिम घट्छ । सौन्दर्य बिग्रने चिन्ताले बोतलबाट दूध खुवाउँदा बरु बच्चाको दाँत बिग्रन सक्ने जोखिम रहन्छ भने आमाको स्तन क्यान्सरको जोखिम समेत बढाउन सक्छ । 

विशेषज्ञका अनुसार, स्तनपान गराउनुले प्राकृतिक रूपमा आमाका लागि गर्भ निरोधकको काम गरेको हुन्छ । यस्तै, प्रसूतिपश्चात हुने रक्तस्राव रोक्न समेत स्तनपानको महत्त्वपूर्ण भूमिका रहन्छ । प्रसूतिपश्चात् एक घन्टाभित्र स्तनपान गराउँदा आमाको मस्तिष्कले उत्पादन गर्ने अक्सिटोसिन हर्माेनका कारण पाठेघरलाई खुम्च्याउन मद्दत पुग्छ, यसले यसले रक्तअल्पता हुनबाट जोगाउने र प्रसव पीडा समेत कम गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

सुरक्षित स्तनपानका लागि सरकारको भूमिका

हाल नेपालमा सुत्केरी बिदा भनेर सरकारले ९८ दिन मात्रै बिदा दिन्छ । विश्व स्वास्थ्य संघठन र युनिसेफले नै ६ महिनासम्म विशेष स्तनपान (एक्सक्लुसिभ ब्रेस्टफिडिङ) गराउन भनेको छ, तर अधिकांश निजी कार्यालयमा अवस्था झनै दयनीय छ, त्यसकारण बाध्यतावश महिला आफ्नो शिशुलाई घरमै छाडेर काममा जान बाध्य छन् । जसले गर्दा स्तनपानमा प्रत्यक्ष असर परेको देखिन्छ । 

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा गैरसरकारी वा निजी सङ्घसंस्थाले कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा आमाको दूध खुवाउन आवश्यक व्यवस्था मिलाउनुपर्ने व्यवस्था गरेको छ, तर नेपालका अधिकांश कार्यालयमा यो व्यवस्थाको कार्यान्वयन भएको छैन, भएको स्थान समेत व्यवस्थित छैनन् । 

कार्यस्थल मात्रै नभई सार्वजनिक स्थलमा समेत स्तनपान कक्षको व्यवस्था हुनुपर्छ । यसर्थ कम्तीमा सुत्केरी महिलाले पाउनुपर्ने बिदा कम्तीमा ६ महिनाको हुनुपर्छ । आमाको दूधलाई प्रतिस्थापन गर्ने सबै प्रकारका तयारी खाना तथा वस्तुको बिक्री–वितरणलाई नियन्त्रण गर्न ऐन तर्जुमा भए पनि त्यसको उचित कार्यान्वयन र अनुगमन प्रभावकारी हुन सकेको देखिँदैन । 

सन् २०३० सम्म पूर्ण स्तनपान गराउने नेपाली आमाको संख्या ९० प्रतिशत पु¥याउने प्रतिबद्धता जनाएको नेपाल सरकारले यसका लागि आवश्यक नीतिगत व्यवस्था, कार्यान्वयनमा जोड र लगानी गर्न आवश्यक देखिन्छ । 

आमाहरू सृष्टिकर्ता हुन्, आमाको महानताले सधैँ उच्च स्थान पाएको छ । यसर्थ, सबै आमाले प्राकृतिक रूपमा आफूले निभाउनुपर्ने धर्म निभाउन विनम्रतापूूर्वक अनुरोध गर्दै सम्पूर्णमा विश्वव्यापी स्तनपान सप्ताह दिवस (अगस्तको पहिलो साता)को शुभकामना व्यक्त गर्छु ।

(लेखक बालअधिकारका लागि राष्ट्रिय अभियानको सचिवालय सदस्य हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सोनी भट्टराई
सोनी भट्टराई
लेखकबाट थप