आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
माओवादी बैठक

माओवादी : निर्णयमा पटक–पटक जनतामा जाने, व्यवहारमा झन् टाढिने

आइतबार, २१ साउन २०८०, २० : ५४
आइतबार, २१ साउन २०८०

काठमाडौँ । १८ पुस, २०७८ मा नेकपा(माओवादी केन्द्र)ले ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र वैचारिक दस्तावेज परिमार्जनसहित पारित गरी आठौँ महाधिवेशन सकिएको थियो । साथसाथै ४५ बुँदे राष्ट्रिय महत्त्वको समसामयिक राजनीति प्रस्ताव अनुमोदन गरेको थियो । 

पुस (११–१८) सम्म राजधानीको प्रज्ञा भवन कमलादीमा भएको महाधिवेशनले आवधिक निर्वाचनमा एक नम्बरको पार्टी बनाउन सबै नेताहरूको जिम्मेवारीसहित आक्रामक कार्यक्रम ल्याउने घोषणा गरेका थिए । महाधिवेशन हलले २३३ सदस्य अपुरो केन्द्रीय कमिटी घोषणा गर्‍यो । त्यही केन्द्रीय कमिटीले पूर्णता पाउन पनि एक वर्ष लाग्यो । 

पदाधिकारीसहित सबै कमिटीका नेताहरूलाई उत्पादनसँग जोडेर कार्यक्रम ल्याउने प्रचण्डले दाबी गरेका थिए । केन्द्रीय महाधिवेशनपछि तीन तहको निर्वाचन सम्पन्न भयो । न त माओवादीले निर्वाचन लक्षित विशेष कार्यक्रम ल्याउन सक्यो न त उत्पादनसँग जोडेर कार्यक्रम नै ल्यायो । 

यसअघि २०६९ मा हेटौँडा बसेको सातौँ महाधिवेशनले पारित गरेका नीति, सिद्धान्त, कार्यदिशा र कार्यक्रम कार्यान्वयन नभई अलपत्र परेको थियो । 

डेढ वर्षपछि सोही हलमा माओवादीको चौथो पूर्ण केन्द्रीय कमिटीको बैठक बस्यो । ४०७(थप २२ जना)सहित केन्द्रीय समिति, १९८ वैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय निकायका ७५ र प्रदेश प्रदेश पदाधिकारीबाट १०० जना गरी ७८० जना सहभागी बैठकले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।

गत बुधबारदेखि पाँच दिनसम्म सञ्चालन भएको बैठकमा केन्द्रीय सदस्यहरूले नेतृत्व र नीतिको कडा आलोचना गरेका थिए । नेतृत्व रूपान्तरण नभएसम्म पार्टी रूपान्तरण हुन नसक्ने अधिकांश सदस्यहरूले धारणा राखेका थिए । पार्टीलाई पुनर्निर्माणसहित बलियो आन्तरिक निर्वाचन विधि अपनाउनुपर्ने विचार  व्यक्त गरेका थिए । सरकारको तर्फबाट सुशासनका लागि भइरहेको कामलाई थप प्रभावकारी  बनाउन नेतृत्वलाई सुझाव दिए । 

maoist cc meeting 1

केन्द्रीय सदस्यहरूको माग बमोजिम बैठकले पार्टी रूपान्तरणका लागि भदौको दोस्रो हप्ताबाट अभियान सुरु गर्ने निर्णय गरेको छ । अभियानमा यो पटक प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड आफै सात प्रदेशको सात वडामा गएर जनतासँग साक्षात्कार गर्ने घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई समेत  सातै प्रदेशको सात वडामा पठाउने उनले हललाई जानकारी दिए । सबै केन्द्रीय सदस्यहरूलाई वडा वडामा गएर जनतासँग भेटघाट गर्न निर्देशन दिए । 

‘सिंगो केन्द्रीय समिति एकजुट र एकताबद्ध भएको छ । मलाई विश्वास छ, तीन महिने विशेष अभियानले माओवादी फेरी एक पटक जाग्ने छ’, उनले भने, ‘यो पटक म आफै सातै प्रदेशको सात वडामा गएर जनतासँग माओवादी आन्दोलनबारे साक्षात्कार गर्नेछु’, उनले भने, ‘वरिष्ठ उपाध्यक्ष नारायणकाजी कमरेड पनि सात प्रदेशको सात वडामा जानुहुन्छ । तपाईंहरू पनि प्रत्येक वडा वडामा गएर जनतासँग भेट्नुहोला । जुनसुकै पार्टीका नेता तथा कार्यकर्ता भएपनि सबैसँग साक्षात्कार गर्नोस् ।’

यसैगरी सबै कमिटी निर्वाचन प्रक्रियाबाट चुनिने निर्णय गरेको छ । त्यसका लागि तीन महिने अभियान सकिए लगत्तै मङ्सिरमा विधान सम्मेलन गरी सांगठनिक स्वरूपलाई चुस्त दुरुस्त बनाउने र यसै वर्षको अन्त्यमा विशेष महाधिवेशन गरी सबै खालका समस्याको हल खोजिने बैठकले निर्णय गरेको छ । पटक पटक जनतामा जाने निर्णय गर्ने तर व्यवहारमा टाढिने आरोप खेप्दै आएको माओवादीको यो बैठकबाट भने निर्णय कार्यान्वयन हुनेमा सदस्यहरूले विश्वास लिएका छन् । 

maoist cc meeting 3

केन्द्रीय समितिको निर्णय कार्यान्वयन हुन्छ : कार्की

बैठकपछि रातोपाटीसँग कुराकानी गर्दै केन्द्रीय सदस्य सुरेन्द्र कार्कीले गणतन्त्र, संघीयता, समावेशी लोकतन्त्रको वास्तविक हकदारको प्रणेता माओवादी भएको दाबी गरे । यो पटक  माओवादीले आक्रामक रूपमा कार्यक्रम सञ्चालन गर्न लागिएकाले कार्यान्वयन हुनेमा उनले विश्वास लिए । तीन महिने अभियानपछि माओवादी फेरी बलियो शक्तिको रूपमा उदाउने उनको जिकिर छ । 

‘संसारका धेरै देशमा मालेमावाद पतन भयो । कतिपय देशमा यसको अवशेषसमेत भेटिँदैन’, हाम्रो देशमा कम्युनिस्ट अझै बाँचिरहेका छन् । गणतन्त्र, संघीयता र  समावेशी लोकतन्त्रको वास्तविक हकदार हामी हौँ । यसलाई समाजको विभिन्न तहमा पुर्‍याउनुपर्छ । गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्रको बारेमा अन्तर्क्रिया, बहस छलफल सँगसँगै जनतासँग जोडिएर अगाडि बढाउँछौँ । मलाई विश्वास छ, माओवादी फेरी बलियो शक्तिको रूपमा उदाउने छ ।’

उनले गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्र कमजोर हुँदा माओवादी कमजोर हुने तर्क गर्दै स्थापित राजनीति मुद्दाहरूलाई लिएर जनताको घरघरमा पुग्ने बताए । 

‘हामीले लडेर ल्याएको उपलब्धिले उचित स्याहार सुसार नपाउँदा हामी कमजोर भएको छौँ’, उनले भने, अब हामी वडा तहसम्म गएर  स्याहार सुसार गर्छौँ । यो पटक केन्द्रीय समितिको निर्णय व्यवहारमै कार्यान्वयन हुन्छ, हुनुपर्छ ।’

त्यस्तै केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतले पार्टी सुदृढीकरणका लागि आफ्नै टाउकोमा आगो झोस्दै जनताले चाहेको जन उत्तरदायी पार्टी निर्माणका निम्ति बैठकले स्पष्ट र उचित मार्गदर्शन गरेकाले निर्णय कार्यान्वयन हुनेमा विश्वास लिए । 

‘माओवादीका लागि यो अन्तिम अवसर हो । अहिले पार्टी गर वा मरको अवस्थामा छ । अवसर र चुनौतीको मझधारमा उभिएको अवस्थामा बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णय शत प्रतिशत कार्यान्वयन हुनेमा म विश्वस्त छु’, उनले भने । 

उनले माओवादी पहिलो शक्तिको रूपमा फेरी उदाउनेमा ६ वटा आधार दिए । 

maoist cc meeting 2

पहिलो, जनउत्तरदायी पार्टी निर्माणका लागि बैठकले स्पष्ट र उचित मार्गदर्शन गरेको छ । दोस्रो, प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सञ्चालन गरिएको भ्रष्टाचारविरुद्धको महाअभियानलाई थप अगाडि बढाउन एक मतले म्यान्डेट दिएको छ । 

तेस्रो, पार्टी कमिटीहरू भद्दा र अकर्मण्यतामा फसिरहेको अवस्थामा बैठकले तीन महिने अभियानपछि हुने विधान सम्मेलन र विशेष महाधिवेशनमार्फत सबै कमिटीमा लोकतान्त्रिक प्रणालीमार्फत नेतृत्व चयन र संगठनात्मक समस्याको हल गर्ने निर्णय गरेको छ । 

चौथो, पार्टीको भावतात्मक एकतालाई सुदृढ र थप मजबुत बनाउने गरी ७ वटा भौगोलिक र तीन वटा गैर भौगोलिक प्रदेशका इन्चार्ज परिवर्तन भएको छ । यो सँगसँगै देशभरि  जिल्ला इन्चार्ज, जनवर्गीय संगठन, मोर्चाको इन्चार्जसमेत बदल्ने बैठकले निष्कर्ष निकालेको छ । 

पाचौ, यो सँगसँगै पार्टी निर्माण र रूपान्तरणका निम्ति अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सात प्रदेशका सात वडामा आफै साङ्केतिक हिसाबले जनतासँग साक्षात्कार गर्ने निर्णय गरेको छ ।

छैटौँ, हिजो माओवादी आन्दोलनमा एकीकृत भएका र पछि विभिन्न चरणमा विभाजित भएका समाजवादको कार्यदिशा वरिपरि सम्पूर्ण शक्तिलाई गोलबन्द गरी सबै शक्तिहरूलाई एकताबद्ध बनाएर एकता गर्ने निर्णय गरेको छ । 

माथिका यिनै विषयवस्तुमाथि चार दिनसम्म अढाई सय केन्द्रीय सदस्यहरूले बैठकमा लामो छलफल र बहस पश्चात् निष्कर्ष निकालेर अनुमोदन भएकाले व्यवहारमा कार्यान्वयन हुनेमा उनी विश्वस्त छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे
लेखकबाट थप