सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एएफसी कप छनोट : ‘भाग्यमानी’ मच्छिन्द्र भुटानको पारोविरुद्ध खेल्न तयार

सोमबार, २२ साउन २०८०, २१ : ३५
सोमबार, २२ साउन २०८०

काठमाडौँ । एएफसी कप छनोट प्रतियोगिताको प्रारम्भिक चरणको पहिलो खेलमा मंगलबार नेपालको मच्छिन्द्र क्लबले भुटानको पारो फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दैछ । मच्छिन्द्र क्लब नेपालको ‘ए’ डिभिजन लिगमा उपविजेता बनेर पनि एफसी कपको छनोट खेल्न पाउने ‘भाग्यमानी’ क्लब हो । पारो एफसी भने भुटानको लिग च्याम्पियन हो । 

मंगलबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिने उक्त खेलका लागि आफूहरु तयार रहेको दाबी दुबै क्लबका प्रशिक्षक र कप्तानले गरेका छन् । ‘हाम्रो प्रशिक्षण सकिएको छ र हामी प्रतियोगिता खेल्न तयार छौं,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा मच्छिन्द्रका प्रशिक्षक किशोर केसीले भने ।

प्रशिक्षक केसीले प्रतियोगितालाई ध्यानमा राखी केही क्षमतावान् खेलाडी टोलीमा थप गरिएको जानकारी पनि दिए । ‘हामीले आफ्नो प्रतिद्वन्द्वीलाई कमजोर रुपमा लिएका छैनौं । लिग च्याम्पियन क्लबलाई कमजोर सम्झने मूर्खता गर्नु पनि हुँदैन,’ उनले भने, ‘त्यसैले हामीले टोलीमा केही क्षमतावान् खेलाडी थपेका छौं । उनीहरुलाई आवश्यक्ता अनुसार खेलाइने छ ।’ 

मछिन्द्रका कप्तान विशाल श्रेष्ठले पनि पारोविरुद्धको खेलका लागि आफूहरु तयार रहेको बताए । ‘यो खेल हाम्रा लागि निकै महत्त्वपूर्ण छ र यसका लागि हामीले गतिलो तयारी पनि गरेका छौं,’ मच्छिन्द्रको गोलरक्षकसमेत रहेका श्रेष्ठले भने, ‘केही नयाँ खेलाडी पनि क्लबमा आबद्ध हुनुभएको छ । कमजोर रहेको पोजिसनलाई ध्यानमा राखी नयाँ खेलाडी अनुबन्ध गरिएको हो । त्यसैले पारोविरुद्ध हामीले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएका छौं ।’ 

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपविजेता भएर पनि मच्छिन्द्र एएफसी कप खेल्न अवसर पाउने भाग्यमानी क्लब बनेको हो । सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि भने चर्च ब्वाइज क्लबले जितेको थियो । तर, चर्च ब्वाइज क्लबसँग एएफसी क्लब लाइसेन्स नभएकाले मछिन्द्रले लगातार दोस्रो पटक एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएको हो ।  

भुटानी लिग च्याम्पियन पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले पनि प्रतियोगिताका लागि आफूहरुले राम्रो तयारी गरेको बताए । ‘हामीलाई मच्छिन्द्रको प्रदर्शन उत्कृष्ट छ भन्ने कुरा राम्ररी थाहा छ । मच्छिन्द्रमा राष्ट्रिय खेलाडीहरु पनि छन् । त्यसैले हामीले मंगलबारको खेलका लागि गतिलो तयारी गरेका छौं,’ उनले भने ।

प्रशिक्षक शर्माले नतिजा जस्तो आए पनि मैदानमा आफ्ना खेलाडी उत्कृष्ट प्रदर्शन र जितका लागि ओर्लने धारणा पनि व्यक्त गरे । ‘यो स्तरको प्रतियोगिता खेल्ने तयारीमा रहेका कुनै पनि क्लब कमजोर हुँदैनन् । हाम्रा खेलाडी पनि जितकै लागि मैदानमा ओर्लने छन् ।’ दशरथ रंगशालामा खेलिने खेलमा आफ्ना खेलाडीले समर्थकहरुबाट गतिलो साथ पाउने विश्वास पनि उनले व्यक्त गरे । 

यसैगरी भुटानी क्लब पारोका कप्तान किनले वाङ्चुकले मच्छिन्द्र बलियो प्रतिद्वन्द्वी भएको बताउँदै यो खेलका लागि आफूहरुले राम्रो तयारी गरेको प्रतिक्रिया दिए । ‘हामीले यो खेलका लागि निकै राम्रो तयारी गरेका छौं । हाम्रा खेलाडी मानसिक रुपमा पनि तयार छन्,’ उनले भने । 

मच्छिन्द्र र पारोबीचको खेलको विजेताले दोस्रो चरणमा भारतको इन्डियन सुपर लिग खेल्ने क्लब मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल अगस्ट १६ तारिखमा खेलिने छ । उक्त खेलमा विजयी हुने टोलीले प्लेअफमा स्थान बनाउने छ । विजेता टोलीले बंगलादेशको ढाका अव्हानी र माल्दिभ्सको इगल्सबीचको विजेतासँग अगष्ट २२ तारिखमा प्लेअफ खेल्ने छ । उक्त खेलको विजेताले साउथ जोनबाट एएफसी कपको समूहगत चरणमा स्थान बनाउने छ । 

मछिन्द्रले गत वर्ष पनि प्रारम्भिक चरणको खेल खेलेको थियो । त्यतिबेला मच्छिन्द्र क्लब श्रीलंकाली क्लब ब्लु स्टारसँग पराजित भएको थियो । यसपटक मच्छिन्द्रले आशिष चौधरी, एरिक विष्ट, आयुष घलान, लकेन लिम्बु, सनिष श्रेष्ठ, रेजिन सुब्बा र रोहित सुब्बालाई टोलीमा आबद्ध गरेको छ । 

यसैगरी एएफसी कपलाई नै ध्यानमा राखी मच्छिन्द्रले विदेशी खेलाडी मेसुके ओलोमोउलाई पनि आबद्ध गरेको छ । यद्यपि, विदेशी खेलाडी मेसुके अझै नेपाल आइपुगेका छैनन् । नेपाली क्लबबाट खेल्न उनले श्रम स्वीकृति लिनुपर्ने भएकाले अहिले त्यो प्रक्रिया चलिरहेको छ । प्रशिक्षक केसीका अनुसार सबै प्रक्रिया पूरा भएर नेपाल आएमा अझै पनि उनले खेल्ने सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप