आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेलायतमा तीन नेपाली बक्सिङ खेलाडी सम्मानित

सोमबार, २२ साउन २०८०, १७ : ०७
सोमबार, २२ साउन २०८०

लन्डन । बेलायतमा नेपाली राष्ट्रिय बक्सिङ खेलाडीलाई लन्डनमा स्वागत तथा सम्मान गरिएको छ । लन्डनको साउथ ह्यारोस्थित नेवा छेः माया रेस्टुरेन्टमा भेट्रान बक्सर पूरण राई, जुनियर नेशनल च्याम्पियन आकाश डाँगी र अर्का खेलाडी म्याक्स बस्नेतलाई खेलाडीहरूलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्गठन यूके र बेलायतकै सबैभन्दा पुरानो संस्थाको रूपमा परिचित नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेले संयुक्त रूपमा सम्मान तथा बिदाइ कार्यक्रमको आयोजना गरेको थियो । उनीहरूलाई नगदसहित पुष्प गुच्छा र खादाले सम्मान गरिएको थियो ।

खेलाडीहरूलाई यती नेपाली एसोसिएसनकी अध्यक्ष पिपला देवान पाण्डे, महासचिव टंक भट्टराई, यती पूर्व अध्यक्ष उमेश मोक्तान, खेलाडी संगठनका अध्यक्ष सिद्धार्थ विक्रम क्षेत्री, उपाध्यक्ष सुरज कार्की, पूर्व बक्सर तथा भेट्रान गायक योगेश्वर अमात्य लगायतले सम्मान गरे ।

उनीहरूलाई खेलाडी सङ्गठन यूकेको तर्फबाट सिद्धार्थ विक्रम क्षेत्रीले उपहार स्वरुप खेल सामग्री प्रदान गरे । गायक अमात्यले तीन खेलाडीलाई जनही दुई सय पाउन्ड र उनका साथीहरुको तर्फबाट बेग्लै २५० पाउन्ड प्रदान गरेका थिए । त्यसैगरी यती अध्यक्ष देवानले पनि जनही एक सय पाउन्ड सहयोग गरेकी थिइन् । काउन्सिलर तथा ब्रेन्टका पूर्व मेयर भगवानजी चौहान तथा देवानले खेलाडीहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

नेपालका भेट्रान बक्सर पूरण राईले संयुक्त अधिराज्य (यूके) को स्कटल्यान्डमा आयोजित एक प्रोफेसनल बक्सिङ प्रतियोगिता जितेका थिए । २० वटा राष्ट्रिय स्वर्ण पदक विजेता राईले स्कटल्यान्डमा शनिवार भएको ‘रम्बल इन द जंगल’ प्रतियोगितामा रायन कार्टरलाई तेस्रो चरणमा टेक्निकल नकआउट (टीकेओ) का आधारमा पराजित गरेका हुन् ।

करिब २०० अमेचर म्याच खेलिसकेका राई युनिभर्सल बक्सिङ एलायन्स (यूबीए स्कटल्यान्ड) च्याम्पियन पनि बने । १३ औं साफमा उनले कांस्य पदक जितेका थिए ।

नेपाली खेलाडीहरू सक्षम भएर मात्र नहुने र सरकारको तर्फबाट पनि सहयोगको महत्त्वपूर्ण भूमिका हुने गायक योगेश्वर अमात्यले बताए । आफ्नो निजी खर्च र प्रयासमा खेलाडीहरूले नेपालको नाम राखेको बताउँदै खेलाडीहरूलाई राज्य र मिडियाले पनि अग्रस्थानमा राख्नुपर्ने अमात्यले बताए ।

यतीका पूर्व अध्यक्षसमेत रहेका उमेश मोक्तानले खेलाडीको लागि संस्थाले चाडै नै विशेष पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।

यति अध्यक्ष देवानले पनि खेलाडीहरू देशको गहना रहेको र उनीहरुले पनि देशको इज्जत जोगाउन ठुलो भूमिका निर्वाह गरेको बताइन् । आफूलाई सानैदेखि खेलकुद क्षेत्र मन पर्ने बताउँदै बक्सिङ खेलमा विशेष चासो रहेको धरान व्यक्त गरिन् ।

खेलाडी संगठनका अध्यक्ष सिद्धार्थ विक्रम क्षेत्रीले नेपाली खेलाडीहरूलाई हौसला बढाउन आफूले निरन्तर लागिपरेको र भविष्यमा पनि लागिरहने बताए । आफू स्वयं खेलाडी रहेकोले खेलाडीहरूले कति दुखकासाथ देशको इज्जत जोगाएको छ भन्ने राम्रोसँग नियालेको बताए । सरकारबाट पर्याप्त साथ र सहयोग नमिलेकै कारण उनीहरू सोचेअनुरूप अघि बढ्न नसकेको र यसलाई सरकारले ध्यान दिनुपर्ने बताए। पर्याप्त मात्रामा खेलकुदका सामग्रीलगायतका सुविधा नपाएका कारण धेरै खेलाडीहरूमा निराशा छाएको उनको धारणा थियो ।

खेलाडी म्याक्स बस्नेतले बेलायतमा नेपाली खेलाडी ल्याउने वातावरण बनाउन सके देशको इज्जत अजह उच्च हुने बताए । नेपाली खेलाडीहरूसँग प्रतिस्पर्धा गर्न अन्य मुलुकका खेलाडीहरू झस्किने उनले बताए । 

सम्मान तथा बिदाइ कार्यक्रम सञ्चालन गर्दै यती महासचिव टंक भट्टराईले खेलाडीहरूलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताए । खेलाडीहरू विजयी हुदा मात्र देश र मिडियाले प्राथमिकता दिने बताउँदै खेलाडीहरूलाई सम्मान गरिनुपर्ने भट्टराईले बताए । कार्यक्रममा स्थानीय खेलाडीहरूलाई पनि सम्मानित गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप