आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१५७ किलो गाँजासहित ७ जना पक्राउ

सोमबार, २२ साउन २०८०, १८ : ५२
सोमबार, २२ साउन २०८०

बारा । बारा प्रहरीले १५७ किलो गाँजासहित ७ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ जीतपुरसिमरा वडा नं २२ स्थित अमलेखगञ्जको जंगलबाट गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले तीन नेपाली र चार भारतीय नागरिकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ परेका व्यक्तिलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१ का ३९ वर्षीय रोशन नेगी, भीमफेदी गाउँपालिका–९ का ३० वर्षीय मुकेश लामा, जीतपुरसिमरा उपमहानगरपालिका–२२ का ३३ वर्षीय बुद्ध पाख्रिन, भारत मोतिहारीका २३ वर्षीय जमालुद्दिन खान, १८ वर्षीय देव कुमार, ३५ वर्षीय जागिरद्दिन मियाँ, भारत बहराईचका २६ वर्षीय अहमद भाट छन् ।

उनीहरुको साथबाट बा११च ४९९२ नम्बरको स्कोरपियोसहित एक थान भारतीय नम्बर प्लेटको पिकअप र एक थान भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएका छन् ।

प्रहरी उपरीक्षक बोगटीका अनुसार नेगीले नेपाली नम्बर प्लेटको स्कोरपियो गाडीमा ६ बोरा गाँजा राखेर अमलेखगंजस्थित जंगलमा ल्याएको सूचना पाएपछि प्रहरी घटनास्थलमा खटिएको थियो । जंगलभित्रबाटै अर्काे पिकअप गाडीमा राखेर लैजाने योजनासहित नेगीले हेटौंडाबाट गाँजा ल्याएको प्रहरी उपरीक्षक बोगटीले बताए । नेगीलाई नियन्त्रणमा लिएपछि प्रहरीले भारतीय नम्बर प्लेटको पिकअप गाडी र मोटरसाइकलमा गाँजा लिन आएका व्यक्तिलाई जंगलभित्रैबाट पक्राउ गरेको हो ।

घटनास्थलबाट पाँच जनालाई पक्राउ गरेको प्रहरीले उनीहरुकै बयानका आधारमा थप दुई जनालाई पक्राउ गरेको हो । प्रहरी उपरीक्षक बोगटीले गाँजा ओसारपसारमा अन्य व्यक्तिको समेत संलग्नता हुनसक्ने देखिएकाले पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको बताए । पक्राउ परेका व्यक्तिमाथि लागूऔषध मुद्दामा कारबाही गरिने उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप