आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माथिल्लो मैलुङ जलविद्युतको शेयर बाँडफाँटमा पुनरावलोकन गर्न माग

मङ्गलबार, २३ साउन २०८०, १० : ०७
मङ्गलबार, २३ साउन २०८०

रसुवा । दक्षिणी रसुवाको उत्तरगया गाउँपालिकामा निर्माणाधीन माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले रसुवावासीलाई छुट्याएको शेयर सङ्ख्या (कित्ता) बाँडफाँटमा पुनरावलोकन गर्न माग गरिएको छ । 

जिल्ला समन्वय समिति रसुवाले जिल्लावासीलाई छुट्याएको सेयर सङ्ख्या  नियमसङ्गत नभएको जनाउँदै पुनरावलोकन गर्न सो आयोजनालाई आग्रह  गरेको हो । कुल शेयर सङ्ख्याको १० प्रतिशत रसुवावासीलाई उपलब्ध गराउनुपर्ने कानुनी प्रावधानलाई आयोजनाले बेवास्ता गर्दै निष्कासन गर्न लागिएको शेयर अत्यन्तै न्यून सङ्ख्यामा निर्धारण भएको समन्वय समितिले जनाएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेका अनुसार १४ दशमलव तीन मेगावाट क्षमताको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले सेयर बाँडफाँटका विषयमा जिल्लास्तरमा छलफल गरेको छैन । उनले सेयर बाँडफाँटको पुनरावलोकन गराउन जिल्लाको सर्वदलीय बैठकमार्फत आयोजनालाई अनुरोध गरिएको बताए।  जिल्लाको उत्तरगया गाउँपालिकाको करूम्राङबाट उत्तर पाखामा सो आयोजनाले आफ्नो कार्यक्षेत्र बनाएको छ । आयोजनाले आफ्नो कार्यक्षेत्र बाहिर गएर नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक मनकामना गाविसलाई कुन आधारमा प्रभावित क्षेत्र बनायो भन्ने विषयमा समेत सो बैठकको सहभागी सदस्यले प्रश्न उठाएका थिए ।

रसुवावासीका लागि भने आयोजनाले एक लाख ४२ हजार आठ सय ५० कित्ता सेयर तोकेको बताइएको छ । आयोजनाले  रसुवा र नुवाकोटको भू–भागका प्रभावित र अतिप्रभावितलाई भने आठ लाख ५७ हजार एक सय ५० कित्ता  निष्कासन सूचीमा देखाएको भए पनि कुन जिल्लालाई कति हो भन्ने प्रस्ट नभएको बताइएको छ ।

रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले भने सेयर निष्कासन गर्नुपूर्व  जिल्लास्तरमा सर्वपक्षीयको भेलाको आयोजना गरेका थिए ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप