आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्टार स्पोर्टले हटायो शिखर धवनको यो सन्देश-‘विश्वकप जित्छौ वा जित्दैनौ तर, पाकिस्तानसँग नहार’

मङ्गलबार, २३ साउन २०८०, १२ : २३
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । एसिया कप क्रिकेटको १६औँ संस्करण पाकिस्तान र श्रीलङ्कामा आयोजना हुँदै छ । प्रतियोगिता अगस्ट ३० देखि सेप्टेम्बर १७ तारिखसम्म आयोजना हुनेछ । प्रतियोगितामा दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान एउटै समूहमा परेको छ । 

पहिलो पटक एसिया कपको अनुभव बटुल्ने तयारीमा रहेको नेपाल पनि भारत र पाकिस्तानकै समूहमा परेको छ । प्रतियोगिताको मिति नजिकिँदै जाँदा भारत र पाकिस्तानका समर्थक मात्र होइन, खेलाडीहरूले पनि आफ्नो टोलीको हौसला बढाउन विभिन्न ‘फन्डा’ सुरु गरेका छन् । 

यसैक्रममा भारतीय क्रिकेट टोलीका प्रभावशाली खेलाडी शिखर धावनले एसिया कपमा आफ्नो टोलीको हौसला बढाउन बनाएको एउटा भिडियो ‘स्टार स्पोर्टस’ ले हटाएको छ । आगामी एसिया कप क्रिकेटको प्रसारण अधिकार ‘स्टार स्पोर्टस’ ले पाएको छ । 

सुरुमा एसिया कपको प्रवर्द्धन गर्न भन्दै ‘स्टार स्पोर्टस’ ले नै धवनको उक्त भिडियो राखेको थियो । उक्त भिडियोमा धावनले रोहित शर्माको नेतृत्वमा रहेको भारतीय टोलीलाई सम्बोधन गर्दै ‘पाकिस्तानसँग कुनै पनि हालतमा नहार’ भन्ने सन्देश दिएका छन् । 

एसिया कपको प्रसारण अधिकार पाएको ‘स्टार स्पोर्टस’ ले नै धवनको उक्त सन्देशलाई प्रवर्द्धन गरेपछि त्यसको व्यापक आलोचना भएको थियो । एसिया कपको अधिकार प्रसारण संस्था ‘स्टार स्पोर्टस’ ले एसिया कपमा सहभागी सबै राष्ट्रलाई समान आँखाले हेर्नु पर्ने भन्दै धवनको उक्त सन्देशको व्यापक आलोचना भएको थियो । 

त्यसपछि ‘स्टार स्पोर्टस’ ले धवनको उक्त सन्देश हटाएको हो । ‘स्टार स्पोर्टस’ ले सामाजिक सञ्जालमा पनि धवनको उक्त सन्देशलाई सेयर गरेको थियो । धवन आफैले पनि पाकिस्तानविरुद्ध थुप्रै प्रतियोगिता खेलिसकेका छन् । 

पछिल्लो समय भारतले केही ठुला प्रतियोगितामा पाकिस्तानको सामना गर्दै छ । गत जुलाईमा श्रीलङ्कामा सम्पन्न ‘इमर्जिङ टिम्स एसिया कप’ को फाइनलमा पाकिस्तानले भारतलाई एक सय २८ रनले हराएको थियो । उक्त नतिजापछि पनि भारत र पाकिस्तानका समर्थकहरुबीच सामाजिक सञ्जालमा ठुलै चर्काचर्की परेको थियो । 

अब एसिया कपमा भारत र पाकिस्तान भिड्दै छन् । त्यस लगत्तै आइसिसी एक दिवसीय विश्वकपमा पनि भारत र पाकिस्तान एकअर्कासँग भिडन्त गर्दै छन् । त्यसैले पनि पछिल्लो समय यी दुवै चिर प्रतिद्वन्द्वी राष्ट्रका समर्थक र खेलाडी एक अर्काप्रति बढी नै आक्रामक बन्दै गएको देखिन्छ । 

त्यसैको उपज हो, धवनको यो पछिल्लो सन्देश, ‘तिमी विश्वकप जित्छौ वा जित्दैनौ त्यो फरक विषय हो । तर, पाकिस्तानसँग भने कुनै पनि हालतमा नहार ।’ उनको उक्त सन्देशपछि केही भारतीय समर्थकले समेत उनको विरोध गरेका छन् । ती समर्थकले कुनै एक टोलीसँगको हारजितभन्दा विश्वकपको उपाधि निकै ठुलो कुरा भएको तर्क गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप