आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पेट्रोल भन्सार छली प्रकरण : जरिवाना चालकलाई, सफाइ  मालिकलाई

मङ्गलबार, २३ साउन २०८०, १९ : २९
मङ्गलबार, २३ साउन २०८०

बुटवल । भारतको बैतालपुरबाट पेट्रोलियम पदार्थ ढुवानीका क्रममा भन्सार छली तथा चोरी पैठारी मुद्दा प्रकरणमा मालिकले सफाइ पाएका छन् । 

भैरहवा भन्सार कार्यालयले नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलबारी रुपन्देही र ट्याङ्कर चालकलाई भने दोषी ठहर गर्दै २० लाख रुपैयाँ बढी जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । 

इन्डियन आयल कर्पोरेसनमार्फत् भारतको बैतालपुरबाट पेट्रोलियम पदार्थ ढुवानी गरेर नेपाल ल्याउँदै गरेको लु २ ख ४८३९ नम्बरको पेट्रोल बोकेको ट्याङ्करलाई प्रहरीले यही वैशाख ८ गते भन्सारमा नियन्त्रणमा लिएको थियो । नापजाँच गर्दा निगमले तोकेको भन्दा बढी परिमाण पाइएपछि कारबाही प्रक्रिया अघि बढाएको थियो । 

उक्त घटनामा नेपाल आयल निगमबाट जारी भएको प्रोडक्ट डेलिभरी अर्डर (पिडिओ) मा २० हजार लिटर पेट्रोल ढुवानी गर्ने स्वीकृति रहेकोमा उक्त ट्याङ्करले स्वीकृति पाएको भन्दा ३ हजार ३ सय ८४ लिटर बढी आयात गरेको नापजाँचको क्रममा प्रमाणित भएको थियो ।

ईलाका प्रहरी कार्यालय बेलहियाले सल्यानको शारदा नगरपालिका–१४ का ट्याङ्कर चालक ३० वर्षीय अजय केसी, एक्सप्रेस परिवहन सेवा प्रालिका सञ्चालक बुटवल–४ का ६९ वर्षीय चोपनारायण श्रेष्ठ र नेपाल आयल निगम प्रादेशिक कार्यालय भलबारीलाई प्रतिवादी बनाई गत वैशाख ८ गते  भन्सार कार्यालयमा मुद्दा दायर गरेको थियो । 

सोही मुद्दाको फैसला गर्दै भैरहवा भन्सार कार्यालयले नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयलाई दोषी ठहर गर्दै १६ लाख २४ हजार ३ सय २० रुपैयाँ र ट्याङ्कर चालक अजय केसीलाई ४ लाख ५६ हजार ८० रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो । 

भैरहवा भन्सार कार्यालयका नायब सुब्बा पहलबहादुर केसीले  अब  ट्याङ्कर मालिक श्रेष्ठले भन्सार कार्यालय र नेपाल आयल निगममा जम्मा गरेको नगद धरौटी रकम र उनको स्वामित्वको ट्याङ्कर कानुनको म्याद भित्र फिर्ता दिन निर्देशन गरेको  बताए । 

पिडिओमा स्वीकृत भन्दा बढी परिणाम भेटिएपछि आयल निगमलाई भन्सार कार्यालयले बढी परिमाणको कूल मूल्यको ५ सय प्रतिशत थप गरी जरिवाना गर्ने कानुनी व्यवस्थाअनुसार निगम र चालकलाई जरिवाना तिराउने निर्णय गरेको भन्सार कार्यालयले जनाएको छ । 

उक्त घटनामा ३ हजार ३ सय ८४ लिटर पेट्रोलको भन्सार छली हुँदा एक लाख ३८ हजार ७ सय ४४ रुपैयाँ राजस्व गुमेको मूल्याङ्कन गरिएको छ ।

नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख इन्जिनियर जगदीश यादवले चालकले ५ दिनसम्म आफूखुसी ट्याङ्कर राख्न पाउँदा चोरी तस्करी बढेको जिकिर गर्दै  आफूहरूलाई तिराएको जरिवाना विषय अर्को दफामा अनुसार अगाडि बढ्ने बताए । 

3vansar

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप