आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुन तस्करी प्रकरण : आईजीपीलाई अनुसन्धान टोलीको ब्रिफिङ

मङ्गलबार, २३ साउन २०८०, २२ : १६
मङ्गलबार, २३ साउन २०८०

काठमाडौँ । करिब १ सय किलो सुन तस्करीबारे अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरुले प्रहरी प्रमुखलाई ब्रिफिङ गरेका छन् । मंगलबार सीआईबीका एसपी संजयसिंह थापा नेतृत्वको टोलीले प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई ब्रिफिङ गरेका हुन् ।

आइतबार राजस्व अनुसन्धान विभागले हालसम्मको अनुसन्धान प्रगति विवरणसहितको ‘फायल’ सीआईबीलाई हस्तान्तरण गरेको थियो । सोमबार ब्युरोकी एआईजी किरण बज्राचार्यले एसपी थापाको नेतृत्वमा अनुसन्धान टिम गठन गरेकी थिइन् ।

त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन ३ मा सुन बरामद गरेको थियो । सुनको यकिन परिमाण अझै आएको छैन ।

सुन प्रकरणमा संलग्नहरुविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोले ‘संगठित अपराध’ मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाएको छ । सुन तस्करी ‘संगठित प्रकृति’को देखिएको निष्कर्षसहित राजस्व अनुसन्धान विभागले आइतबार पक्राउ गरिएकाहरुलाई ब्यूरोको जिम्मा लगाएको थियो ।

अनुसन्धान गर्न गठित टिमले राजस्व अनुसन्धान विभागले पठाएको ‘तथ्य’बारे प्रहरी प्रमुखलाई जानकारी गराएका छन् । अनुसन्धान प्रगतिबारे जानकारी लिएपछि आईजीपी कुँवरले निष्पक्ष भएर अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् ।

सुनबारे अनुसन्धान गर्न महाराजगञ्जस्थित केन्द्रीय अनुसन्धान ब्यूरोमा ‘विशेष कार्यकक्ष’ स्थापना गरिएको छ । सूचनाको चुहावट रोक्न र तस्करीको जरोसम्म पुग्न आईजीपी अनुसन्धानमा संलग्न टोलीलाई कुँवरले निर्देशन दिएका छन् ।

सुन तस्करीमा संलग्न आरोपमा तिब्बतीय मूलका बेल्जियन नागरिक दावा छिरिङ, तिब्बत मूलका भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ नागरिक जीक्वाङ लिनसहित १७ जना प्रहरीको हिरासतमा छन् ।

हङकङबाट ‘रेडी ट्रेड प्राली’ ले सुन मगाएको भेटिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार अहिलेसम्मको अनुसन्धानबाट तस्करीमा दावा छिरिङ, थाप्तेन र जिक्वानको मुख्य भूमिका देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप