आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेलायतवासी गुल्मेलीको वार्षिक भेलामा नेपालीको उत्साहजनक सहभागिता

बुधबार, २४ साउन २०८०, ०७ : ३८
बुधबार, २४ साउन २०८०

लन्डन। लन्डनको फेल्थमस्थित ट्युडोर पार्क स्पोर्ट्स् एन्ड लिजर सेन्टरमा बेलायतवासी गुल्मेलीहरूले वार्षिक भेला सम्पन्न गरेका छन् । गुल्मी जिल्ला समाज युकेले आयोजना गरेको पन्ध्रौँ वार्षिक भेलामा बेलायतका विभिन्न क्षेत्रबाट उत्साहजनक रुपमा नेपालीहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा सहभागी हुन साउथ इष्ट लन्डन र मिडल्यान्डका बर्मिङहम, नटिङहम लगायत क्षेत्रबाट कोचहरू बुकिङ गरेर गुल्मेलीहरू भेला भएका थिए। स्कटल्यान्डबाट समेत रातभर ड्राइभिङ गरेर आउनेहरू पनि मेलामा भेटिए।

कार्यक्रममा बेलायतस्थित सङ्घसंस्था प्रमुख एवम् तिनका प्रतिनिधिहरूलगायत दर्जनौँ नेपाली व्यवसायीहरूको सहभागिता रहेको थियो ।

आइतबार सम्पन्न सो कार्यक्रममा नेपालका राष्ट्रिय कलाकारहरूको साथमा नौमती बाजा, लोकदोहोरी, तीज गीतदेखि भजनलगायत विविध मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुतिहरू राखिएको थियो।

नेपालबाट आएका कलाकारहरू तिलक बस्नेत, पवित्रा सर्तुङे, सन्तु थापा मगर र शोभा कार्कीको प्रस्तुतिले कार्यक्रममा थप रौनक थपेको थियो ।

समाजका अध्यक्ष वीर बलालको अध्यक्षतामा सम्पन्न कार्यक्रम पण्डित निलहरि घिमिरेको स्वस्तिवाचनबाट शुभारम्भ गरिएको थियो । प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र अध्यक्ष बलालले संयुक्त रूपमा कार्यक्रमको समुद्घाटन गरेका थिए ।

कार्यक्रममा शुभकामना दिँदै खनालले गुल्मी जिल्ला समाज युकेले गरेको योगदान र बेलायतमा मौलिक नेपाली कला, संस्कृति प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै भन्दै प्रशंसा गरिन्।

कार्यक्रममा थप आकर्षकको रूपमा  सुनका गरगहना पुरस्कारसहितको राफल ड्र राखिएको थियो। ट्युडोर पार्क स्पोर्ट्स् एन्ड लिजर सेन्टरको खुल्ला चउरमा गरिएको कार्यक्रममा गुल्मी जिल्लाका मात्र नभई नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरूको जमघट रहेको थियो । बेलायतस्थित नेपाली सङ्घसंस्थाहरूमा गुल्मी जिल्ला समाज पनि अग्र पङ्क्तिमा आउने गर्छ । नेपालमा हुने हरेक गतिविधिमा समेत गुल्मी जिल्ला समाजले उत्साहपूर्वक सहयोग गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप