आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
माओवादीको अभियान

जनतासँग माओवादीको विशेष अभियान :  १२ वटा कार्यादेशमा आधारित कार्यक्रम, डिजिटलाइज गर्ने प्रयास

केन्द्रीय सदस्यहरूलाई अन्तरजिल्लाको जिम्मेवारी तोकिने
बुधबार, २४ साउन २०८०, २१ : ३०
बुधबार, २४ साउन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले ‘जनतासँग माओवादी विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेसँगै अभियान सफल बनाउन नेताहरू गृहकार्यमा जुटेका छन् । राजधानीको प्रज्ञा भवन कमलादीमा साउन १७ गतेदेखि २१ सम्म बसेको बैठकले पार्टी रूपान्तरणका लागि तीन महिने विशेष अभियान घोषणा गरेको थियो ।

भदौ १६ गते भव्य समारोहबीच प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभियानको उद्घाटन गर्ने कार्यसूची तय भएको छ । विशेष अभियानमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ७ प्रदेशको ७ वडामा पुगेर जनतासँग प्रत्यक्ष संवादमा जोडिने घोषणा गरेका छन् ।

केन्द्रीय समिति बैठक समापन गर्दै प्रधानमन्त्री प्रचण्डले अभियानलाई भव्य रूपमा सफल बनाउन नेताहरूलाई निर्देशन दिइसकेका छन् । बैठक सकिए लगत्तै भौगोलिक र अन्य गरी १० प्रदेशका नवनियुक्त इन्चार्जले सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूसँग परामर्श र छलफल थालेका छन् । पार्टी केन्द्रीय कार्यालय  पेरिसडाँडामा अभियानको पूर्वतयारी, कार्यविभाजन, कार्यक्षेत्रको विषयमा केन्द्रीय सदस्यहरूसँग सम्बन्धित प्रदेशका इन्चार्जले छलफल गरिरहेका कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार कार्यक्षेत्रमा जाने सदस्यहरूले साउन मसान्तसम्म विवरण केन्द्रीय कार्यालयलाई पठाउन निर्देशन दिइएको छ । सोमबारदेखि भदौ १५ गतेसम्म अभियानको तयारी, कार्यक्रम, मोडालिटी, जनशक्ति परिचालनको लागि समयसीमा तोकिएको छ ।

अध्यक्ष प्रचण्डले आइतबार पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरी अभियानको तयारीमा जुट्न निर्देशन दिएका थिए । जसअनुसार कोशी प्रदेशमा चक्रपाणि खनाल, मधेस प्रदेशमा लीलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, गण्डकीमा वर्षमान पुन, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मात्रिका यादव र सुदूरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

यसैगरी विशेष प्रदेशमा वर्षमान पुन, उपत्यका सम्पर्क समन्वयमा गिरिराजमणि पोखरेल र प्रवासमा राम कार्कीले इन्चार्जको जिम्मेवारी पाएका छन् ।

prachanda smile

यस्तो छ अभियानको तयारी

सुस्ताएको माओवादी पुनः जाग्ने विश्वासमा उत्साहित भएका नेताहरूले यस अभियानलाई महत्त्वका साथ हेरेका छन् । जनतामा गिरेको साख फेरि फर्काउन सडक, सदन र सरकार तीनवटै मोर्चा परिचालन गर्ने गरी माओवादी केन्द्र अगाडि बढेको छ । अभियानलाई भव्य रूपमा सफल बनाउनका लागि केन्द्रदेखि वडा तहसम्म जनपरिचालन, जिम्मेवारी तोकिने नेताहरूले बताएका छन् ।

१२ वटा कार्यादेशमा आधारित कार्यक्रम बनाउने

मंसिर १६ गतेसम्म सञ्चालन हुने विशेष अभियान सफल बनाउन केन्द्रीय कमिटीमा रहेका सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्न लागिएको छ । कार्यक्षेत्र र कार्यविभाजन सम्बन्धमा निर्णय लिन सम्बन्धित प्रदेशका इन्चार्जको रोहबरमा निर्णय लिने जिम्मा प्रदेश कमिटीलाई दिइएको सचिव उपाध्यायले बताए । १२ वटा कार्यादेश समावेश गरेर कार्यक्रम छनोट गरी त्यसलाई लिपिबद्ध गर्ने काम भइरहेको छ । यी सबै विषय समेटेर एक साताभित्र बुकलेट तयार हुने उनले जानकारी दिए ।

‘अभियानलाई सफल र प्रभावकारी बनाउन सम्बन्धित प्रदेशका इन्चार्जहरूले केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेका छन् । सबै केन्द्रीय सदस्यको कार्यक्षेत्र र कार्यविभाजन  परिवर्तन हुनेछ । एक साताभित्र १२ वटा कार्यादेशसहित कार्यक्रम समेटेर बुकलेट तयार हुन्छ’, उपाध्यायले भने ।

कार्यादेशभित्र जनताको जनजीविका, राष्ट्रियता, सरकारको काम कारवाही, जनयुद्धमा माओवादीले उठाएको एजेण्डा, समसामयिक राजनीति र अन्तर्राष्ट्रिय परिस्थिति लगायत विषयवस्तु समावेश हुने उनको भनाइ छ ।

डिजिटलाइज गर्ने प्रयास

प्रविधिमा अस्तव्यस्त रहेको आरोप खेप्दै आएको माओवादी केन्द्रले यो पटक प्रविधिको उच्चतम प्रयोग गर्ने तयारी गरेको छ । उद्घाटनको दिन प्रधानमन्त्री प्रचण्डले ६ हजार ७ सय ४३ वटै वडामा जुम प्रविधिमार्फत एक साथ अभियानको उद्घाटन गर्ने तयारी भएको सचिव गणेश साहले बताए । प्रविधिले साथ दिएमा जुममार्फत् भदौ १६ गते प्रधानमन्त्रीले भव्य समारोहबीच केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बटन थिचेर ६ हजार ७४३ वटै वडामा एकसाथ उद्घाटन गर्ने तयारी रहेको उनको भनाइ छ ।

यसका लागि आइटीसम्बन्धी विज्ञ टोली खटिने छन् । यदि प्रविधिले साथ नदिएमा जति सम्भव हुन्छ, त्यति नै प्रविधिको प्रयोग गरी अभियानको उद्घाटन हुने साहले जानकारी दिए ।  

‘हामीले यो पटक अभियानलाई पूरै डिजिटलाइज गर्ने प्रयास गरेका छौँ । सम्भव भएसम्म ७५३ वटै स्थानीय तहका सबै वडामा प्रधानमन्त्रीज्यूले एक साथ जुम प्रविधिमार्फत केन्द्रीय कार्यालयबाट उद्घाटन गर्नुहुन्छ । प्रविधिले साथ दिएन भने जति सकिन्छ, त्यतिलाई समेटिने छ’, साहले भने ।

जुम प्रविधिले नसमेटिने वडा वा पालिकामा अडियो वा सामाजिक सञ्जालमार्फत पहुँचको व्यवस्था मिलाइने उनले जानकारी दिए ।

maoist cc meeting 2

केन्द्रीय सदस्यहरूलाई अन्तरजिल्लाको जिम्मेवारी तोक्ने  

माओवादी केन्द्रले अन्तरजिल्लामा गएर काम गर्ने गरी जिम्मेवारी हेरफेरको गृहकार्य गरिरहेको छ । यसअघि सकभर गृह जिल्लाको आधारमा इन्चार्ज तोकेर पठाउने गरेको थियो । गृहजिल्लामा मात्र काम गर्दा कार्यक्षमता वृद्धि नभएको, आदेशकर्ता भएको, नेता तथा कार्यकर्ताको बीचमा नगएको व्यापक गुनासो आएपछि आफ्नो जिल्लाबाहेक अन्य जिल्लामा काम गर्ने गरी सदस्यहरूको कार्यविभाजन हुन लागेको कार्यालय सचिव उपाध्यायले बताए ।

‘पदाधिकारीमा जस्तै सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर हुन्छ । उहाँहरूले गृहजिल्लामा गएर काम गर्न पाउनुहुन्न । गृह जिल्लाबाहेक रोजेको जिल्लामा जान पाउनुहुन्छ’, उनले भने, ‘तीन महिनासम्म त्यहाँ गएर जनताको  समस्या बुझ्नु पर्छ । माओवादीले लिएको नीति, कार्यक्रम, कार्यदिशा, सरकारले गरेको कामबारे जनतालाई बुझाउनु पर्छ । कार्यप्रगतिको रिपोर्ट केन्द्रलाई अनिवार्य पठाउनुपर्छ ।’

यसैगरी भूगोलमा जाने प्रत्येक केन्द्रीय सदस्यले कम्तीमा एक वडामा गएर काम गर्नुपर्नेछ । तीन महिनाभित्र ७ प्रदेशको छानिएका ७ वडामा अध्यक्ष प्रचण्ड आफैँ उपस्थित भएर जनताको समस्या, माओवादीप्रति उनीहरू  बुझाइ लगायत विषयमा प्रत्यक्ष अन्तर्क्रिया गर्ने कार्यसूची छ । केन्द्रदेखि वडा तहसम्म भेला, समारोह गरी समीक्षात्मक बैठक बस्ने पनि जनाइएको छ ।

जनगणनाको रूपमा परिचालन गर्ने, चाडपर्वलाई सदुपयोग गर्ने

यो अभियानलाई जनगणनाको रूपमा प्रत्येक घरघरमा पठाउने माओवादी केन्द्रले निर्णय गरेको छ । आक्रामक रूपमा अभियान सञ्चालन गर्ने तयारी गरेको उसले यसबीचमा हुने सबै चाडपर्व जनतासँगै मनाउने रणनीति बनाएको छ ।

प्रत्येक व्यक्तिसँग प्रत्यक्ष भेट गरी माओवादी आन्दोलन, जनताको समस्या र उनीहरूको गुनासो संकलन गर्ने जनाइएको छ । अभियानभर राजनीति चस्माले नहेरी सबै पार्टीका नेताहरूको घरघरमा गएर माओवादी आन्दोलनबारे बुझाउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिइएको छ ।

अभियान सकिए लगत्तै केन्द्रीय समिति बैठक बस्ने

तीन महिने अभियान सकिएपछि प्रत्येक जिल्लाबाट आएको रिपोर्टको समीक्षा गर्न केन्द्रीय समितिको बैठक बस्ने सचिव उपाध्यायले जानकारी दिए । उक्त बैठकले मङ्सिरमा हुने विधान सम्मेलनको एजेण्डासमेत तय गर्ने उनले बताए ।

फागुनसम्ममा विशेष महाधिवेशन गरी राजनीतिक तथा सांगठनिक समस्या हल गर्ने उनको भनाइ छ । उनले भने, ‘तीन महिने अभियानपछि जिल्लाजिल्लाबाट आएका रिपोर्टको समीक्षा गर्न केन्द्रीय समितिको बैठक बस्नेछ । तर अहिलेको जस्तो पूर्ण बैठक होइन, सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी केन्द्रीय सदस्यहरूको बैठक बस्नेछ । त्यसले विधान सम्मेलन वा विशेष महाधिवेशन के गर्ने भन्ने निर्णय गर्नेछ ।’

यसअभियानमा जनवर्गीय संगठनलाई समेत सम्मेलनको रूपमा परिचालन गरिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे
लेखकबाट थप