आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बेइजिङमा मुसलधारे वर्षाका कारण पाँच उद्धारकर्मीसहित ३८ जनाको मृत्यु

बुधबार, २४ साउन २०८०, १७ : ४७
बुधबार, २४ साउन २०८०

बेइजिङ । भारी वर्षाका कारण बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी मङ्गलबार साँझसम्ममा ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधवार जानकारी दिएका छन् । 

त्यसैगरी उक्त प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत कार्यमा सहभागी पाँच जनाको मृत्यु भएको चिनियाँ प्रशासनले जनाएको छ । बेइजिङका उपमेयर जिया लिनमाओले एक पत्रकार सम्मेलनमा उद्धारकर्तासहित अन्य १८ जना अझै हराइरहेको जानकारी दिए ।  

मुख्यतया, गत हप्ता परेको वर्षापछि आएको बाढी र घर भत्किएका कारण उनीहरूका ज्यान गएको हो ।  जुलाई २९ देखि अगस्ट २ सम्म बेइजिङमा आएको ‘डोक्सुरी आँधी’का कारण मुसलधारे वर्षा भएको थियो । बेइजिङमा १४० वर्षअघि रेकर्ड सुरु भए यताको यो सबैभन्दा ठुलो वर्षा हो । 

वर्षाका कारण आएको बाढीले करिब १२ लाख ९० हजार मानिस र करिब १५ हजार हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुर्‍याएको छ ।  जियाका अनुसार, सम्पत्ति र भौतिक क्षतिको आकलन भइरहेको र घोषित मृतक सङ्ख्यामा वृद्धि हुने सम्भावना देखिएको छ । 

मुसलधारे वर्षाका कारण हिमाली क्षेत्रका पूर्वाधारमा ठुलो क्षति पुगेको छ, ५०७ गाउँमा पानी आपूर्ति प्रभावित भएको छ, २७३ गाउँ र १६ आवासीय समुदायमा विद्युत् कटौती भएको छ भने ३४२ गाउँमा सञ्चार सेवा अवरुद्ध भएको छ । वर्षाले सडक र पुलहरूमा क्षति पुगेपछि २५६ वटा गाउँमा यातायात सञ्चालनमा समस्या भएको छ 

अथक उद्धार र पुनर्स्थापना प्रयासहरू जारी रहेको र अधिकांश गाउँहरूमा सफलतापूर्वक बिजुली आपूर्ति, खानेपानी, दूरसञ्चार सेवा र यातायात बहाल भएको छ ।

बेइजिङले प्रभावित जनसङ्ख्याका लागि अत्यावश्यक दैनिक आवश्यकता, आपत्कालीन आपूर्ति र चिकित्सा उपचार उपलब्ध भएको सुनिश्चित गरेको छ र विपद्पछिको महामारी रोकथाम कार्य सुरु गर्न द्रुत कदम चालेको उपमेयरले बताए ।

“बेइजिङ सहरले पुनरुत्थान र पुनर्निर्माण योजना बनाएको छ र यसको कार्यान्वयनलाई गति दिनेछ,” जियाले भने ।

सिचुवानमा बाढीका कारण ७ जनाको मृत्यु

चीनको दक्षिण पश्चिमी सिचुआन प्रान्तमा बुधवार आएको बाढीमा परी सात जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सरकारी प्रसारक सीसीटीभीले सात जनाको मृत्यु भएको र अन्य चार जनालाई पानीबाट उद्धार गरिएको उल्लेख गर्दै ‘स्थानीय सार्वजनिक सुरक्षा, अग्नि नियन्त्रक र अन्य विभागहरूले खोजी र उद्धार कार्य जारी राखेको’ जनाएको छ ।

प्रान्तीय राजधानी छेन्दुको दक्षिण पश्चिममा रहेको तटबन्ध नजिकै बिहान १० बजे अप्रत्याशित आएको बाढीले १० जनाभन्दा बढी मानिसलाई बगाएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

बाढी आउँदा फोटो खिचिरहेका ती व्यक्ति स्थानीय एक लोकप्रिय स्थलको भ्रमण गर्ने पर्यटकहरू थिए ।

सीसीटीभीले शेयर गरेको भिडियोमा शक्तिशाली धारले पानीलाई तल धकेलेको र पानीको किनाराबाट मानिसहरू चिच्याएका कारण धेरै मानिसहरू आफ्नो टाउको पानीमाथि राख्न सङ्घर्ष गरिरहेको देखिएको छ । जल प्रलयको कारण तत्काल स्पष्ट हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप