भारतमा बसको ठक्करबाट बैतडीका युवकको मृत्यु
बुधबार, २४ साउन २०८०, २० : ०३
बैतडी । रोजगारीको सिलसिलामा रहेका बैतडीका एक युवकको भारतमा बसको ठक्करबाट मृत्यु भएको छ ।
बैतडीको डिलाशैनी गाउँपालिका–२ मल्लाछेपट्टाका २७ वर्षीय पुष्कर बोहराको भारतको राजस्थानमा मृत्यु भएको हो । रोजगारीका लागि एक वर्ष अघि राजस्थान पुगेका पुष्करको बसको ठक्करबाट मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।
काम गर्ने होटलबाट सामान किन्नका लागि बजार गएका बेला पुष्करलाई बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका पुष्करको उपचारका क्रममा मृत्यु भएको उनका आफन्त महेश बोहराले बताए । मृतक पुष्करको घरमा श्रीमती र एक छोरी रहेका छन्।