आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमतीमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

बुधबार, २४ साउन २०८०, २० : ४२
बुधबार, २४ साउन २०८०

मकवानपुर । बागमती प्रदेश सरकारले बिहीबारबाट लम्पी स्किन रोगविरुद्धको सप्ताहव्यापी खोप अभियान सुरु गर्ने भएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बुधबार पत्रकार सम्मेलन मार्फत गाईभैंसीमा तीव्र रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको खोप अभियान सुरु गर्ने जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुबाट बिहीबारबाट एकै पटक खोप अभियान सुरुवात गरिने छ ।

मन्त्रालयले प्रदेशका १३ जिल्लाका ५० हजार गाईभैंसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । प्रदेशमा तीव्र रुपमा फैलिएको लम्पी स्किन रोगको नियन्त्रण तथा रोकथामका लागि अभियान नै सञ्चालन गरेर खोप लगाउन लागिएको मन्त्रालयका पशु चिकित्सक निशान्त शर्मा गेलालले जानकारी दिए ।

प्रदेशमा पशुपालन तथा पशुजन्य उत्पादनको क्षेत्रमा गाईभैंसी पालनको महत्त्वपूर्ण भूमिका रहेको उनले बताए । उनका अनुसार प्रदेशमा १० लाख ९९ हजार ५६० गाई र ८ लाख ९६ हजार २१३ भैँसी रहेको र वार्षिक ४ लाख ५५ हजार १४१ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ ।

लम्पी स्किन रोगको खास उपचार नभएको र रोगको संक्रमणका कारण गाईभैंसी प्रभावित भई दूध उत्पादनमा ८० प्रतिशतसम्म कमी आउने उनले बताए । प्रदेशमा गत पुसबाट लम्पी स्किन रोगको संक्रमण देखिएको र पहिलो पटक मकवानपुरबाट सुरु भएको उक्त संक्रमण हाल प्रकोपको रुपमा प्रदेशका १३ वटै जिल्लामा देखिएको उनले बताए ।

हाल प्रदेशमा लम्पी स्किन रोगबाट संक्रमित पशुको बिरामी हुने दर १०.२७ प्रतिशत रहेको उनको भनाइ छ । त्यस्तै संक्रमणबाट मृत्यु हुने पशुको संख्या ३.१ प्रतिशत छ ।

लम्पी स्किनबाट ६ हजार बढी पशुको मृत्यु

लम्पी स्किन रोगबाट बागमती प्रदेशका १३ जिल्लामा ६ हजार २९१ गाईभैंसीको मृत्यु भएको छ भने १ लाख १० हजार ४४० संक्रमित भएका छन् । रोगबाट १३ जिल्लाका २ लाख ४ हजार ९८८ पशु प्रभावित भएका छन् ।

लम्पी स्किन रोगका कारण काभ्रेमा ६८१ गाईभैंसीको मृत्यु भएको छ । काभ्रेमा २७ हजार २९९ गाईभैंसी लम्पी स्किन रोगबाट संक्रमित भएका छन् भने ३० हजार ७४३ पशु प्रभावित भएका छन् ।

सिन्धुपाल्चोकमा लम्पी स्किन रोगबाट ८९६ गाईभैंसीको मृत्यु भएको छ भने १५ हजार १५२ संक्रमित भएका छन् । लम्पी स्किन रोगका कारण सिन्धुपाल्चोकमा २३ हजार १५७ पशु प्रभावित भएका छन् ।

यो रोगबाट दोलखामा ५९२ गाईभैंसीको मृत्यु भएको छ भने २० हजार ९५८ गाईभैंसी संक्रमित भएका छन् । रोगबाट दोलखामा ३३ हजार ६२४ पशु प्रभावित भएका छन् ।

लम्पी स्किन रोगबाट सिन्धुलीमा ६८६ गाईभैंसी मरेका छन् भने ६ हजार ८४१ संक्रमित भएका छन् । यो रोगबाट सिन्धुलीमा २४ हजार ९० पशु प्रभावित भएका छन् ।

रामेछापमा यो रोगबाट २२९ गाईभैंसीको मृत्यु भएको छ भने २ हजार ७०३ संक्रमित भएका छन् । रामेछापमा रोगबाट १४ हजार ३९१ पशु प्रभावित भएका छन् ।

मकवानपुरमा लम्पी स्किन रोगबाट ४४६ गाईभैंसीको मृत्यु भएको छ भने १३ हजार ५४५ संक्रमित भएका छन् । रोगबाट मकवानपुरमा १३ हजार ९९१ पशु प्रभावित भएका छन् । चितवनमा यो रोगबाट २४२ गाईभैंसीको मृत्यु भएको छ भने १ हजार २६९ संक्रमित भएका छन् । रोगबाट चितवनमा १० हजार ४४ पशु प्रभावित भएका छन् ।

यस्तै धादिङमा लम्पी स्किनबाट ६८५ गाईभैंसीको मृत्यु भएको छ भने ६ हजार ४५४ संक्रमित भएका छन् । रोगबाट सो जिल्लामा २४ हजार २१७ पशु प्रभावित बनेका छन् ।

यता नुवाकोटमा लम्पी स्किन रोगबाट ७७२ गाईभैंसीको मृत्यु भएको छ भने ५ हजार १८२ संक्रमित भएका छन् । रोगबाट सो जिल्लामा १४ हजार ८८२ पशु प्रभावित भएका छन् ।

रसुवामा यो रोगबाट १८० गाईभैंसीको मृत्यु भएको छ भने ६६५ संक्रमित भएका छन् । सो जिल्लामा रोगबाट २ हजार ११४ पशु प्रभावित भएका छन् ।

उता, काठमाडौंमा लम्पी स्किन रोगबाट ३८४ गाईभैंसीको मृत्यु भएको छ भने ३ हजार ७०३ संक्रमित छन् । रोगबाट सो जिल्लामा ५ हजार ३९ पशु प्रभावित भएका छन् । ललितपुरमा रोगबाट ३५३ गाईभैंसीको मृत्यु भएको छ भने ६५१ संक्रमित भएका छन् । रोगबाट सो जिल्लामा १ हजार ८८८ पशु प्रभावित भएका छन् ।

भक्तपुरमा यो रोगबाट ३५३ गाईभैंसीको मृत्यु भएको छ भने ६ हजार १८ संक्रमित भएका छन् । रोगबाट सो जिल्लामा ६ हजार ८०८ पशु प्रभावित भएका छन् ।

एक लाख ३२ हजार बढी गाईभैंसीलाई खोप

बागमती प्रदेशका १३ जिल्लाका १ लाख ३२ हजार ९०० गाईभैंसीलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ । मन्त्रालयका अनुसार प्रदेशको १२.०८ प्रतिशत गाईमा लम्पी स्किन रोग विरुद्धको खोपको पहुँच पुगेको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशको काभ्रेमा ३२ हजार ८०० गाईभैंसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ भने सिन्धुपाल्चोकमा १२ हजार ६ गाईभैंसीमा रोग विरुद्धको खोप लगाइएको छ ।

दोलखामा ६ हजार ६४०, सिन्धुलीमा २९ हजार, रामेछापमा ५ हजार १७५, मकवानपुरमा २४ हजार ६०६, चितवनमा ८ हजार ४००, धादिङमा ८ हजार ६०३, नुवाकोटमा ६ हजार ३९५, काठमाडौंमा ११ हजार ४५०, ललितपुर ५ हजार ६२५, भक्तपुर ५ हजार ६२५ गाईभैंसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको छ ।

रसुवामा भने अहिलेसम्म लम्पी स्किन रोग विरुद्धको खोपको पहुँच पुग्न सकेको छैन ।

४८ हजार ५५० डोज खोप लगाउन १४६ भ्याक्सिनेटर

खोप अभियान सञ्चालनका लागि मन्त्रालयले आवश्यक तयारी पूरा गरेको उनले बताए । खोप अभियान सञ्चालनका लागि मन्त्रालयले भ्याक्सिनेटर नियुक्त गरी खोपसमेत खरिद गरिसकेको डा. गेलालले बताए । मन्त्रालयले खोप अभियान सञ्चालनका लागि सम्बन्धित जिल्लाको विज्ञ केन्द्र मार्फत १४६ जना भ्याक्सिनेटर नियुक्त गरेको र ४८ हजार ५५० डोज खोपको सुनिश्चितता भएको उनको भनाइ छ ।

मन्त्रालयले यस पटक ९१ वटा स्थानीय तहमा खोप अभियान सञ्चालन गर्ने उनले बताए । संक्रमण देखिएका र संक्रमणबाट मुक्त भएका पशुहरुमा खोप लगाउन उपयुक्त नहुने भएकाले प्रदेशका सबै स्थानीय तहमा अभियान सञ्चालन गर्न नसकिएको पनि उनले प्रस्ट पारे । प्रदेशका केही स्थानीय तहमा लम्पी स्किन रोग संक्रमित पशुहरुको संख्या बढी रहेकाले ती पालिकामा अर्को चरणमा खोप लगाइने उनले बताए ।

मन्त्रालयले भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र ललितपुरको १६ स्थानीय तहका लागि २४ जना भ्याक्सिनेटर र ६ हजार ३०० खोपको पठाइएको उनले बताए । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मकवानपुरको १० स्थानीय तहका लागि १९ जना भ्याक्सिनेटर र ७ हजार डोज खोप उपलब्ध गराइएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र नुवाकोटको १७ स्थानीय तहका लागि १७ जना भ्याक्सिनेटर र ६ हजार डोज खोप उपलब्ध गराइएको छ भने भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धादिङको ५ स्थानीय तहका लागि २६ जना भ्याक्सिनेटर ५ हजार २५० डोज खोप उपलब्ध गराइएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनको ७ स्थानीय तहका लागि १४ जना भ्याक्सिनेटर र ७ हजार ५०० डोज खोप, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दोलखाको १३ स्थानीय तहका लागि १३ जना भ्याक्सिनेटर र ४ हजार ५०० डोज खोप, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र काभ्रेको ६ स्थानीय तहका लागि १२ भ्याक्सिनेटर र ६ हजार ५०० डोज खोप र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सिन्धुलीका १७ स्थानीय तहका लागि २१ भ्याक्सिनेटर ५ हजार ५०० डोज खोप उपलब्ध गराइएको छ ।

७५ लाख रुपैयाँ बजेट

सप्ताहव्यापी खोप अभियान सञ्चालनका लागि मन्त्रालयले ७५ लाख रुपैयाँ बजेट खर्चिने भएको छ । मन्त्रालयले सम्बन्धित विज्ञ केन्द्र मार्फत खोप खरिद, भ्याक्सिनेटरको पारिश्रमिक तथा सेवा सुविधा लगायतका लागि सो रकम खर्च गर्ने मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले बताए ।

उनका अनुसार पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले १० लाख रुपैयाँ, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र ललितपुरबाट ९ लाख ७५ हजार रुपैयाँ, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मकवानपुरबाट ९ लाख ५० हजार रुपैयाँ, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र काभ्रेबाट ९ लाख ७५ हजार रुपैयाँ, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धादिङबाट ५ लाख ७५ हजार रुपैयाँ, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दोलखाबाट ५ लाख ७५ हजार रुपैयाँ, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सिन्धुलीबाट ७ लाख ५० हजार रुपैयाँ, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनबाट ९ लाख ५० हजार रुपैयाँ, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र नुवाकोटबाट ७ लाख ५० हजार रुपैयाँ खोप अभियानमा खर्च गर्ने सूचना अधिकारी अधिकारीले बताए ।

खोप अभियान सञ्चालनका लागि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले ८ हजार ३०० डोज खरिद गरी विज्ञ केन्द्रहरुलाई वितरण गरेको उनले बताए । उनका अनुसार खोप अभियान पश्चात पनि रोगको अवस्थाका आधारमा खोप कार्यलाई निरन्तरता दिने मन्त्रालयको योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप