आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एकान्तकुनाबाट दिउँसै स्कुटर चोरी गरेर फरार व्यक्ति पक्राउ

शुक्रबार, २६ साउन २०८०, १६ : २५
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । ललितपुर महानगरपालिका–१३, एकान्तकुनास्थित यातायात कार्यालय अगाडिबाट स्कुटर चोरी गरेर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार साउन ११ गते दिउँसो करिब २ बजेको समयमा लालबहादुर तामाङको बा५६प ६३५४ नम्बरको स्कुटर चोरीमा संलग्न विजयकुमार थापालाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका–८, कालिन्चोक घर भई हाल काठमाडौँ महानगरपालिका–१७, ठहिटी बस्दै आएका २४ वर्षीय थापाले तामाङलाई ‘तपाई शौचालय गएर आउनु, तपाईको स्कुटर म हेरिदिन्छु’ भनी स्कुटर लिएर फरार भएका थिए । स्कुटरसहित डिकीमा रहेको ब्लुबुक, नगद ३० हजार रुपैयाँ र नागरिकतासमेत चोरी भएकोबारे तामाङले दिएको निवेदनका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा विजय कुमार थापालाई साउन २५ गते काठमाडौँ महानगरपालिका–८, गौशालाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थापाले चोरीको उक्त स्कुटर बेचेको प्रहरीसमक्ष बताएपछि प्रहरीले स्कुटर खरिद गर्ने सरोज शाहीलाई समेत पक्राउ गरेको छ । शाहीलाई काठमाडौँ महानगरपालिका– ३२ कोटेश्वरबाट स्कुटर र लाल बहादुर तामाङको नागरिकतासहित पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन् ।

रेग्मीका अनुसार पक्राउ परेका दुवै जनालाई चोरी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप