आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रमाणपत्र किर्ते प्रकरण

सांसद शर्मा पक्राउपछि मोरङ क्षेत्र नम्बर ३ तरंगित, कांग्रेस आक्रोशित

शुक्रबार, २६ साउन २०८०, १७ : ३६
शुक्रबार, २६ साउन २०८०

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद सुनिल शर्मा पक्राउ परेसँगै त्यस क्षेत्रको माहोल तरंगित बनेको छ । स्थानीयबीच शर्माको राजनीतिक भविष्यबारे टीकाटिप्पणी भइरहेको छ । 

२०७४ सालको निर्वाचनमा एमाले नेता भानुभक्त ढकालसँग पराजित बनेका शर्मा उनै ढकाललाई पराजित गर्दै गत मंसिरमा सम्पन्न निर्वाचनमा भने विजयी भएका थिए । तर, कांग्रेस नेता समेत रहेका शर्मा विजय प्राप्त गरेर सांसदको भूमिका निर्वाह गरेको ८ महिनामै पक्राउ परे । त्यो पनि नक्कली सर्टिफिकेट प्रकरणमा ।

शर्मा पक्राउ परेसँगै नेपाली काँग्रेस मोरङ क्षेत्र नम्बर ३ का सभापति गणेशकुमार खड्काले प्रेस विज्ञप्ति जारी गर्दै उनलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । सरकारका विरुद्धमा आक्रमक बनेका उनले भनेका छन्, ‘नियोजित ढङ्गबाट विभिन्न बहाना झिकी उहाँजस्तो सच्चा देशभक्त र जनताका सेवकलाई पक्राउ गरी भ्रष्ट, तस्करी र माफियाहरूलाई संरक्षण गर्ने सरकारको गलत रणनीति अपनाएको भन्ने ठहर छ ।’

उनले शर्माको रिहाइ नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । मोरङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभामा निर्वाचित सांसद मानबहादुर लिम्बूले पनि एक विज्ञप्ति जारी गर्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले निरङ्कुश र ज्यादतीपूर्ण ढङ्गबाट शर्मालाई पक्राउ गरेको दाबी गरेका छन् । 

उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेकै कारण पक्राउ गरिएको दाबी गर्दै भनेका छन्, ‘जनआवाजलाई बन्देज र निस्तेज गर्ने अभिप्रायले तानाशाही र जालसाजीपूर्ण ढङ्गबाट संसद अधिवेशन चलिरहेको अवस्थामा संसद सचिवालय र सभामुखलाई बिना जानकारी र अनुमति पक्राउ गरेर सरकारले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको आधारभूत अभिव्यक्ति र वाक स्वतन्त्रताको उपहास मात्र हैन, देशले सुशासन, न्याय र समृद्धिको बाटो अख्तियार गर्नुपर्छ भन्ने जनताको आवाज बोल्ने व्यवस्थापिका सदस्यलाई बर्बर र षड्यन्त्रपूर्वक सिध्याउन खोज्ने सरकारको क्रुरता अरु उदाङ्गो हुन्छ ।’ उनले शर्माविरुद्ध कपोकल्पित लान्छना लगाइएको दाबी गर्दै भ्रष्टाचार गिरोहको जालसाजीपूर्ण षड्यन्त्र भएको रचेको टिप्पणी गरेका छन् । 

सुन्दरहरैंचा नगरपालिकाका पूर्वप्रमुख समेत रहेका काँग्रेस नेता शिवप्रसाद ढकालले पनि शर्माको रिहाइको माग गरेका छन् । ‘सुन तस्करीका विषयमा जनभावना अनुरूप सशक्त आवाज उठाई जनप्रतिनिधिको दायित्व निर्वाह गरिरहेका मोरङ क्षेत्र नं. ३ का निर्वाचित प्रतिनिधिसभाका सदस्य  सुनिल कुमार शर्माको गिरफ्तारी प्रतिशोधपूर्ण छ । शर्माको तुरुन्त रिहाइको माग गर्दछु,’ उनले भनेका छन् ।

यता, काँग्रेस मोरङका कार्यवाहक सभापति भक्ति माझीले पार्टीले आधिकारिक धारणा भोलि सार्वजनिक गर्ने जनाए । उनले भने, ‘उहाँलाई अन्यायपूर्ण ढङ्गले, प्रतिशोध साँध्ने गरी पक्राउ गरेको छ । यसको हामी विरोध गर्छौँ ।’ 

सांसद शर्मालाई नक्कली सर्टिफिकेट बनाएको अभियोगमा बिहीबार अपराह्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौँको गोल्फुटारस्थित निवासबाट उनलाई पक्राउ गरेको थियो । 

यो प्रकरणमा उनीसहित अन्य ७ जना पनि पक्राउ परेका छन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप