आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रमाणपत्र किर्ते प्रकरण

रिहा भएपछि सुनील शर्माको प्रतिक्रिया– राज्यसत्तामा टिकिरहन प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराए

शुक्रबार, २६ साउन २०८०, २१ : ००
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले राज्यसत्तामा टिकिरहनका लागि आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाएका छन् ।  

शुक्रबार काठमाडौँ जिल्ला अदालतले थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएसँगै थुनामुक्त भएका उनले यस्तो बताएका हुन् । 

सांसद शर्माले सुन तस्करका संरक्षक स्वयं उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महत रहेको दाबी गर्दै ३० वर्ष पुरानो फाइल खोलेर तेस्रो पटक पक्राउ गरेको बताए । उनले आफूले आइएको शिक्षा भारतबाट लिएको र सो कुरा अदालतमा प्रमाणित गरेर देखाउने बताए । 

सांसद शर्माले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा पक्राउ गरिएको भन्दै शान्ति सम्झौताका लागि वातावरण बनाइदिने आफूलाई प्रधानमन्त्री प्रचण्डले हतकडी लगाएर गुन तिरेको भन्दै कटाक्ष गरे। उनले कांग्रेसलै नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य तोड्नुपर्ने बताए ।

उनले भने, ‘सुन तस्करका संरक्षकहरु विशेषतः अहिलेको गृहमन्त्री र अर्थमन्त्री उहाँहरुले राजीनामा दिनुपर्छ । मैले यो मागसहित अनसनको घोषणा गरेको थिएँ । राज्यसत्तामा टिकिरहनका लागि मलाई समातिएको थियो । यो ३० वर्ष पुरानो फाइल,  मलाई तेस्रो पटक गिरफ्तार गरिएको हो । मेरो एजेण्डामा सबै विपक्षी साथीहरुले उभिएर मेरो पक्षमा आवाज बुलन्द गर्नुभएको छ । मेरो पिताजीको सरह रोल निर्वाह गर्नुभएको, राष्ट्रनायकको रुपमा उभ्याउनुभएको आफूलाई केपी शर्मा ओली हुनुहुन्छ, उहाँ र उहाँको पार्टीलाई धन्यवाद दिन चाहन्छु र म उहाँलाई भेट्छु पनि । मेरो अडान सुन तस्करका संरक्षकहरु छोड्नु हुँदैन । प्रधानमन्त्रीको निर्देशनमा मेरो गिरफ्तारी भएको छ । मैले लगाएको गुनको पैँचो हतकडी लगाएर तिर्नुभएको छ । उहाँलाई शान्ति सम्झौताका लागि गिरिजाबाबुसँग सम्पर्क गराउने मान्छे हामी हौँ । माओवादीसँगको अहिलेको हाम्रो एलाइन्समा सोच्नुपर्छ । यस्तो आतंककारी गृहमन्त्री एकछिन पनि सत्तामा बस्न मिल्दैन ।’

सांसद शर्माले आफूलाई बिना कारण पक्राउ गरिएको भन्दै गृहमन्त्रीले सत्तामा बसिरहन नैतिकताले नदिने बताए । शुक्रबार काठमाडौँ जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेका सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गर्दै शर्मालाई थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएको थियो । सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा सीआईबीले  बिहीबार पक्राउ गरेको थियो । सांसद शर्माले भने आफ्नो शैक्षिक योग्यता नक्कली नभएको प्रमाणित गरेर देखाउने बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप