आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अक्टोबरमा काठमाडौँमा ज्ञान सम्मेलन हुने, कार्यपत्र आह्वान

शुक्रबार, २६ साउन २०८०, २१ : ३५
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । काठमाडौँ आगामी अक्टोबरमा तेस्रो विश्व ज्ञान सम्मेलन हुने भएको छ । गैरआवासीय नेपाली संघको आयोजनामा अक्टोबर १७ देखि १८ सम्म काठमाडौँमा सम्मेलन आयोजना गर्न लागिएको हो । 

नेपाली, डायस्पोरा, र अन्तर्राष्ट्रिय जगतमा ख्यातिप्राप्त विज्ञहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले  सम्मेलनको आयोजना गरिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘विगतका वर्षमा जस्तै यसपटक पनि नेपाल सरकारसहित नेपालका शैक्षिक तथा अनुसन्धनात्मक संघ–संस्था, निजी तथा सरकारी, गैरसरकारी संस्था लगायत अन्य सरोकारवालाको उपस्थितिमा सम्मेलन आयोजना गरिनेछ’, संघको विज्ञप्तिमा उल्लेख छ ।   

‘सामाजिक अर्थतन्त्र विकासको लागि वैज्ञानिक अन्वेषण र लगानी’ भन्ने मुल नारा रहेको सम्मेलनमा अर्थ, विज्ञान, पूर्वाधार , कृषि र उर्जामा आधारित चार वटा प्लेनरी सेसन सहित ११ विभिन्न विधामा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहेका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । 

सम्मेलनका लागि  ३१ जुलाई २०२३ (श्रावण १५) देखि कार्यपत्र आह्वान गरिएको छ । साथै अन्य सहभागीहरुको लागि १५ अगष्ट २०२३ (श्रावण ३०) बाट दर्ता सुरु गरिने जनाइएको छ । 

सम्मेलनमा विशेषतः दिगो शहरी विकास योजना, दिगो कृषि र खाद्य सुरक्षा, वातावरण, प्रकोप र जोखिम व्यवस्थापन, नवीकरणीय ऊर्जा, जैविक प्रविधि र व्यवसायिक अवसर, विज्ञान तथा प्रविधीमा लगानी र नीतिहरू, डिजिटल र एआई प्रविधि, जनसंख्या र जनस्वास्थ्य, अर्थतन्त्र र विदेशी लगानी, दिगो पूर्वाधार र निर्माण सामग्री, विदेशिक रोजगारी र व्यवसायिक प्राविधिक शिक्षा लगायतका विषयमा बृहत छलफल गरिने छ ।

यस्तै सम्मेलनले पारम्परिक अर्थतन्त्रलाई ज्ञान र प्रविधिमा आधारित अर्थतन्त्रमा परिवर्तन गर्ने र संयुक्त राष्ट्र संघको स्थायी विकासका लक्ष्यहरू तथा नेपाल सरकारको पञ्चवर्षीय योजनालाई समेत सम्बोधन गर्ने अपेक्षा संघको छ ।  

सम्मेलनले विधमान सरकारी नीतिहरू, शिक्षा विज्ञान र प्रविधि विकासमा लगानी र यसको अनुसन्धान लगायतका विषयमा पनि जोड दिने विज्ञप्तिमा उल्लेख छ ।  सम्मेलनको आयोजनाको लागि विभिन्न विशेषज्ञ सम्मिलित समितिहरु गठन गरिएको पनि संघले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप