आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

साउन र तिमी

शनिबार, २७ साउन २०८०, ०७ : ०४
शनिबार, २७ साउन २०८०

वर्षौपछि,
मुश्किलसँगले आज 
सिद्ध भयो
भित्रभित्रै गुटमुटिएको मेरो अभिलाषा  
कि, देख्ने तिमीलाई दुरुस्तै
निहार्ने तिमीलाई फेरि उस्तै ।

उही लजालु हेराई,
मुहारमा त्यही मधुर मुस्कान
कयौँ दिनपछि, बल्ल आज
देखेँ तिमीलाई फेरि उस्तै
पाएँ तिमीलाई पहिले जस्तै, दुरुस्तै ।

हरियो चुराले तिमी, 
सजिएकी थियौ
नीलो आकाशे वर्णको झुम्कासँगै
थियो अलिकति हरियो मेहन्दीको रङ
उसमाथि, 
हरियै वस्त्र पहिरिएकी ।

तिमी यसरी टुप्लुक्क आइपुग्यौ
जसरी मैले कल्पना गरेकै थिइनँ
मरेको अतीत बिउँझाउने गरी आयौ
एकाग्र चेतना खलबल्याउने गरी आयौ
अवश्य पनि, 
यो श्रावणको महिना हुनुपर्छ ।
त्यसैले त मेरो सामु तिमी
मेरै उपहार पहिरिएर आयौ 
गहना र शृङ्गार त तिमीलाई
मनपर्ने वस्तु छँदै थिएनन्
सायद,
मेरै उपहार हुनुपर्छ यी पनि
र त, मलाई देखाउन आइपुग्यौ तिमी 
चम्केर उज्यालो हीराजस्तै
टुप्लुक्क, आज मेरो सपनीमा दुरुस्तै ।

यति सुन्दर, यति निक्खर कहिले 
अहिलेसम्म सजिएकी थिइनौ 
सजियौ त तिमी केवल
मेरो निम्ति सजियौ
आइपुग्यौ त आज तिमी
पक्कै, मेरै निम्ति आइपुग्यौ
मिठो सम्झना बनी फेरि उस्तै
आज, मेरो सपनीमा दुरुस्तै ।।

मुसिकोट–१, रुकुम पश्चिम
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एनसी ओली
एनसी ओली
लेखकबाट थप