आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

अध्यागमनको नियन्त्रणमा रहेका व्यापारी अडुकियाका छोरा रोहन छुटे

शनिबार, २७ साउन २०८०, १३ : ५९
शनिबार, २७ साउन २०८०

काठमाडौँ । व्यापारी राकेश अडुकियाका छोरा रोहन अडुकिया छुटेका छन् । शुक्रवार दिल्लीबाट नेपाल फर्केका अडुकियालाई पासपोर्ट ‘कालो सूची’मा देखिएपछि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको सहयोगमा पक्राउ गरेको थियो ।

करिब १ सय किलो सुन तस्करीबारे अनुसन्धानको क्रममा राजस्व अनुसन्धान विभागले रोहनको पासपोर्ट ‘कालो सूची’मा राख्न पत्राचार गरेको थियो । अध्यागमनले पक्राउ गरेपछि सुन तस्करीको अनुसन्धान फाइल प्रहरीसँग रहेको भन्दै राजस्व र अध्यागमनले रोहनलाई सीआईबीको जिम्मा लगाउन खोजेका थिए । तर, रोहनलाई केन्द्रीय अनुसन्धान ब्युरोले ‘खोजेको मान्छे नभएको’ भनेर फिर्ता गरिदियो । शुक्रवार राजस्व अनुसन्धान विभागबाट सशस्त्र प्रहरी सहितको टिम रोहनलाई जिम्मा लगाउन महाराजगञ्जस्थित ब्युरोमा पुगेका थिए । तर, रोहनबारे थाहा नभएको भन्दै ब्युरोका अधिकृतहरूले उनलाई जिम्मा लिएनन् ।

त्यसपछि उनलाई अध्यागमनको हिरासतमा राखिएको थियो । शनिवार ११ बजे उनलाई ‘बोलाउँदा उपस्थित हुने शर्त’ मा रिहा गरिएको विमानस्थल अध्यागमन कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए । सुन प्रकरणमा पक्राउ गरिएका दुई जना चिनियाँ नागरिकलाई पनि केन्द्रीय अनुसन्धान ब्युरोले छाडेको छ । चिनियाँ नागरिक तस्करीमा संलग्न नदेखिएपछि रिहा गरिएको प्रहरी प्रवक्ता (डीआईजी) कुवेर कडायतले रातोपाटीलाई बताए । 

राजस्व अनुसन्धान विभागको पत्रको आधारमा रोहनको पासपोर्ट नम्बर जेड–६३९६४२१ नेपाली पोर्टमा सूचीमा राखिएको थियो । राजस्व अनुसन्धान विभागले साउन १० मा कमलपोखरीस्थित राकेशको घरमा छापा मारेको थियो । त्यतिबेला नै राजस्व अनुसन्धान विभागले बाबु–छोराको पासपोर्ट कालोसूचीमा राख्न अध्यागमनलाई पत्राचार गरेको थाहा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप