आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

किन छुटे रोहन अडुकिया ?

प्रहरी भन्छ– अहिलेसम्म सुन प्रकरणमा उनलाई थुन्नुपर्ने देखिँदैन
आइतबार, २८ साउन २०८०, १४ : ५१
आइतबार, २८ साउन २०८०

काठमाडौं । नयाँ दिल्लीबाट काठमाडौं ओर्लिएका रोहन अडुकिया साउन २६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकारीहरुले उनलाई नियन्त्रणमा लिएका हुन् ।

अध्यागमन विभागको नेपाली पोर्टमा अडुकियाको पासपोर्ट नम्बर जेड–६३९६४२१ ‘कालो सूची’मा देखिएको विभागका अधिकारीहरु बताउँछन् । उनी व्यापारी राकेश अडुकियाका छोरा हुन् । साउन ३ मा बरामद गरिएको करिब १ सय किलो सुन ‘तस्करी’मा व्यापारी राकेश कुमार अडुकिया संलग्न भएको राजस्व अनुसन्धान विभागका अधिकारीहरुको आशंका छ ।

असार ३० मा हङकङकबाट क्याथे प्यासिफिकको उडानमार्फत ‘रेडी ट्रेड प्रालि’ले करिब १ सय किलो सुन काठमाडौं ल्याएको थियो ।

राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृतहरु राकेशकुमार अडुकिया सुनको लगानीकर्तामध्ये एक रहेको दाबी गर्दै आएका छन् । साउन १० मा विभागको टोलीले कमलपोखरीस्थित अडुकियाको घरमा खानतलासीसमेत गरेको थियो । अडुकियाले पछिल्लो समय हङकङ, भारत र दुबईको भ्रमण गरेको भेटिएको छ । नेपालमा व्यापार व्यवसाय गर्दै आएका अडुकिया अहिले फरार छन् ।

राकेशसँगै उनको छोराको पासपोर्ट पनि राजस्व अनुसन्धान विभागको पत्रले ‘कालो सूची’मा राखिएको अध्यागमन विभागका अधिकारीहरु बताउँछन् । अहिले सुनको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ले गरिरहेको छ ।

तर, रोहनलाई अध्यागमनले पक्राउ गरेर बुझाउँदा सीआईबीले उनलाई जिम्मा लिएन । अध्यागमन कार्यालयले राजस्वमा बुझाएपछि सशस्त्र प्रहरी सहितको टिमले रोहनलाई सीआईबीको जिम्मा लगाउन खोजेको थियो । ब्यूरोले जिम्मा लिन अस्वीकार गरेपछि राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज अधिकारीको निर्देशनमा रोहन फेरि विमानस्थल अध्यागमन कार्यालयमा नै फिर्ता पठाइए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) रामबन्धु सुवेदीले शनिबार रोहनलाई छाड्ने निर्णय गरे । सहसचिव सुवेदीले उनलाई ‘बोलाउँदा आउने शर्तमा’ रिहा गरेका हुन् ।

रोहनको पासपोर्ट ‘कालो सूची’मा राख्नुको कारण राकेशको छोरा भएर वा सुनमा संलग्न देखिएर भन्नेबारे रावस्व अनुसन्धान विभागले जवाफ दिन चाहेको छैन । सुनबारे अनुसन्धान गरेका राजस्वका उपसचिव विनोद लामिछाने भन्छन्, ‘यसबारे मलाई थाहा भएन ।’

रोहनको संलग्नताबारे बुझ्न सम्पर्क गर्दा विभागका महानिर्देशक नवराज ढुंगाना सम्पर्कमा आउन चाहेनन् ।

थुन्नुपर्ने देखिएन : सीआईबी

रोहन अडुकियालाई अहिलेसम्मको अनुसन्धानबाट थुनामा राख्नुपर्ने नदेखिएको केन्द्रीय अनुसन्धान ब्यूरोकी एआईजी किरण बज्राचार्यले बताइन् । रातोपाटीसँग कुरा गर्दै बज्र्राचार्यले भनिन्, ‘अहिलेको मितिसम्म रोहनलाई थुनामा राख्नुपर्ने देखिँदैन ।’

रोहन सुन प्र्रकरणमा अनुसन्धानमै आउँदैनन् भनेर केन्द्रीय अनुसन्धान ब्यूरोले भनेको छैन । तर, राजस्व अनुसन्धान विभागले कनेक्सन स्थापित नभइकन ‘हचुवा’मा पासपोर्ट कालो सूचीमा राखेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

राहदानी ‘कालो सूची’मा राखिएकै कारण पक्राउ गरिएका दुई जना चिनियाँलाई केन्द्रीय अनुसन्धान ब्यूरोले सुनमा असंलग्न देखिएपछि छाडेको छ । साउन २६ मा पक्राउ गरिएका चिनियाँ नागरिक ली जियालिन र लिउ फुयानलाई सुन तस्करीमा संलग्न नदेखिएपछि रिहा गरएको एआईजी बज्राचार्यले बताइन् । उनले भनिन्, ‘ती दुई जना चिनियाँ संलग्न छैनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप