आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
पत्रकार सम्मेलन

सरकारमाथि प्रमुख प्रतिपक्ष एमालेको दर्जनौँ हमला

आइतबार, २८ साउन २०८०, १५ : ४४
आइतबार, २८ साउन २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमाथि दर्जनौँ विषयहरुमा प्रश्न गर्दै हमला गरेको छ । 

सुन तस्करी प्रकरण र संसद् अवरोधबारे प्रस्ट पार्न आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली आफै सहभागी भएर गरेको पत्रकार सम्मेलनमा विस्तारित ६ बुँदे प्रेश विज्ञप्तिमा एमालेले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै हमला गरेको हो ।

‘वर्तमान गठबन्धनको सरकार बनेसँगै मुलुकमा राजनीतिक विकृति, संवैधानिक प्रावधानहरुमाथिको हस्तक्षेप, आर्थिक सङ्कट, मुलुकको आन्तरिक मामलामा बाह्य हस्तक्षेप र समाजमा अराजकता झनै सघन बन्दै गएको छ’, एमालेले भनेको छ, ‘२०७४ माघमा यस्तै प्रकृतिको गठबन्धन रहेको बेला भएको ३३ किलो सुन तस्करी प्रकरणलाई हामीले सरकारमा रहँदा उच्च स्तरीय छानबिन गरेर मुख्य अपराधीहरुलाई कानुनको कठघरामा ल्याएका थियौं ।’ एमालेले अहिले सरकारको संरक्षणमा यस्ता धन्धाहरु फेरि मौलाउन थालेको दाबी गरेको छ । साथै एमालेले निश्चित व्यवसायीहरुका स्वार्थमा र उनीहरुकै व्यक्तिको अवैध उपस्थितिमा करका दरहरु हेरफेर गर्नुका साथै ठूला ठेक्कापट्टा लगायत राज्यका साधनस्रोतहरु निश्चित व्यवसायीहरुको स्वार्थमा दोहन गर्न छुट दिएको बताएको छ । 

‘विदेशबाट अवैध रुपमा भित्रिएको धनलाई सेतो तुल्याउन राष्ट्र बैंकलाई दबाब दिने लगायतका कामहरुले मुलुकको वित्तीय छवि अन्तर्राष्ट्रिय जगतमा धमिलिएको छ । दातृ निकाय र राष्ट्रहरुको विश्वासमा कमी आएको छ । यी र यस्तै कारणले मुलुकमा आर्थिक संकट गहिरिँदै गएको छ’, एमालेले भनेको छ, ‘व्यवसायीहरु हताश छन् । सिंगो समाजमा नैराश्य बढिरहेको छ । तर यी विषयहरुलाई गम्भीरतापूर्वक लिँदै समाधानका लागि आवश्यक कदम चाल्नुको साटो सरकार विपक्षीहरुप्रति प्रतिशोध साध्ने, कुप्रचार गर्ने र अपराधहरुलाई ढाकछोप गर्ने बाटोमा उद्यत छ ।’ एमालेले सरकारलाई भ्रष्ट अयोग्यको संज्ञा समेत दिएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले सांकेतिक रुपमा प्रधानमन्त्रीको राजीनामा समेत मागेका छन् । उनले भने, ‘प्रधानमन्त्री पनि यस्तो भ्रष्टाचारको चाङमाथि उभिएरभन्दा राजीनामा गर्नुपर्ने हो । गृहमन्त्री र अर्थमन्त्रीले त राजीनामा नगरी कसरी बस्न सकेको ? त्यसमाथि गृहमन्त्रीले आफ्नो जिम्मेवारी बहन गरेर राष्ट्रिय झण्डा बोकेर हिँड्न लाज लाग्नुपर्ने हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप