आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रमाणपत्र किर्ते प्रकरण

नक्कली भनेर पक्राउ परेका डाक्टर सक्कली भएको भेटियो

आइतबार, २८ साउन २०८०, १६ : ५८
आइतबार, २८ साउन २०८०

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्रको आधारमा काम गरेको आरोपमा पक्राउ गरेको एक जना चिकित्सक ‘सक्कली’ प्रमाणित भएको छ । साउन २५ मा ब्युरोले महोत्तरीको पिपरा–८ घर भएका डा. रञ्जित कुमार यादवलाई काठमाडौँबाट पक्राउ गरेर म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

तर, डा. रञ्जित सक्कली चिकित्सक भएको पुष्टि भएसँगै केन्द्रीय अनुसन्धान ब्युरोले गरेको अपरेशन ‘फोक्सट्रोट चार्ली’को विश्वसनीयता माथि नै प्रश्न उठेको छ ।

नाम जुधेको आधारमा सीआईबीले डा. रञ्जितलाई पक्राउ गरेको भेटिएको मेडिकल काउन्सिलका रजिस्टार डा. कृष्ण प्रसाद अधिकारीले रातोपाटीलाई बताए । डा. अधिकारीले भने, ‘नाम जुधेका दुईजना मानिस अलग हुन भनेर मैले पत्र लेखेर पठाएको छु ।’

डा. रञ्जित र सीआईबीको खोजी सूचीमा रहेका अर्का चिकित्सकको बुवाको नाम बाहेक अरु नाम थर मिलेको भेटिएको छ । डा. रञ्जित जनकपुरमा पढेका हुन् । ब्युरोले पक्राउ गरेको मध्ये एक जना चिकित्सक फरक परेको कुरा आफूलाई जानकारी आएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेले रातोपाटीलाई बताए । उनले भने–‘प्रहरीबाट लिखित आएको छैन, आएपछि त्यसबारे निर्णय गर्छौँ ।’

ब्युरोले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरेको थियो । शर्मालाई जिल्ला अदालतले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भएका छन् । अरू ७ जना चिकित्सक सीआईबीको हिरासतमा छन् । सीआईबीको हिरासतमा  रञ्जितकुमार यादव, शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, डा. रामबाबु यादव, डा. एरिना शाह, ईशान बाल अस्पतालमा कार्यरत डा. श्रद्धा शिल्पकार, मोरङबाट पक्राउ गरिएका डा. मनित चौधरी र गोठाटारबाट पक्राउ परेकी डा. पुनम थापा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप