आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भन्सार कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी छ : अर्थमन्त्री

आइतबार, २८ साउन २०८०, १७ : ५८
आइतबार, २८ साउन २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बदलिँदो परिस्थितिअनुसार भन्सारका कर्मचारी सक्रिय र परिवर्तित सोचका साथ अग्रसर हुनुपर्ने बताएका छन् । आइतबार भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै मन्त्री डा.महतले सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी रहेको बताए । 

‘मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ’ अर्थमन्त्री डा.महतले भने, ‘समय सापेक्ष आम सेवाग्राहीको भावना बुझ्न सक्नुपर्छ ।’

आयतकर्ता र करदाताहरूलाई अप्ठ्यारोमा पारेर व्यक्तिगत फाइदाका लागि कर्मचारीले बार्गेनिङ गर्न नहुने बताउँदै अर्थमन्त्री डा. महतले सरल सहज भन्सार सेवा प्रदान गर्नुपर्ने बताए । 

उनले भने, ‘मैले धेरै भन्सार नाकाको भ्रमण गरे, कर्मचारीले त्यस किसिमको व्यवहार गरेको रिपोर्टिङ मन्त्रालयमा आइरहेको छ, यो गलत हो, बन्द हुनुपर्छ । राम्रो काम गर्ने कर्मचारी साथीहरू पनि हुनुहुन्छ । यी साथीहरूलाई एउटै बास्केटमा हालेर भन्सार नेतृत्वले मूल्याङ्कन गर्नु हुँदैन । कर्मचारीको भूमिकाको यथार्थ जानकारी राखेर नेतृत्वले मूल्याङ्कन गर्नुपर्छ’ मन्त्री डा.महतले भने ।

प्रविधिको उच्चतम उपयोग गर्नुको विकल्प नरहेको दोहोर्‍याउँदै मन्त्री डा.महतले वीरगन्ज भन्सारको उदाहरण दिँदै ठुलो एक्स-रे मेसिन प्रयोग नगरी वर्षौँ त्यत्तिकै थन्काइए राखिएको बताए ।

साउनमा लक्ष्यको ८० प्रतिशत राजस्व उठेकोमा खुसी व्यक्त गर्दै अर्थमन्त्री डा.महतले अझ इमानदार भएर काम गरिए शतप्रतिशत लक्ष्यमा पुग्न सकिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप