आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रदेशका १३ अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क गर्न निर्देशन

आइतबार, २८ साउन २०८०, २० : ३९
आइतबार, २८ साउन २०८०

मकवानपुर । बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालहरुमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै निःशुल्क  रुपमा बिरामी भर्ना गर्न अस्पतालहरुलाई निर्देशन दिएको हो । मन्त्रालयले भदौ १ गतेबाट लागू हुनेगरी नागरिकहरुको निःशुल्क भर्ना गर्न प्रदेश सरकार मतहातका १३ अस्पताललाई निर्देशन दिएको छ । 

योसँगै अब प्रादेशिक अस्पतालका क्याविन, एनआईसियू र आईसियू बाहेक अन्य सम्पूर्ण शैयाहरु निःशुल्क हुने भएको छ । गत साउन २२ गतेको मन्त्रीस्तरको निर्णय अनुसार मन्त्रालयले साउन २८ गते आइतबार सो सूचना जारी गरेको हो ।

उक्त निर्णय अनुसार प्रदेशका १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८११ वटा शय्या नागरिकहरुका लागि निःशुल्क उपलब्ध हुने मन्त्री उत्तम जोशीले बताए । उनका अनुसार अस्पतालमा बिरामी भर्ना बाहेकका अन्य शुल्क भने सरकारले तोके अनुसार हुनेछ ।

त्यस्तै मन्त्रालयले भदौ १ गतेदेखि लागू हुने गरी प्रदेशभित्रका १३ वटा आयुर्वेद केन्द्रलाई पनि रिह्यावीटेसन सेवा र फिजियोथेरापी सेवा निःशुल्क गर्न निर्देशन दिएको छ ।

त्यसैगरी प्रदेशका सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालहरुलाई सामाजिक सेवा इकाई स्थापना गरी विपन्न, असहाय तथा बेवारिसे बिरामीको उपचार व्यवस्थित गर्न मन्त्रालयले निर्देशन जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप