आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
रात्रिकालीन व्यवसाय

रात्रिकालीन व्यवसाय गर्ने श्रमिकको पीडा : न दाम पाइन्छ, न आत्मसम्मान

महिला र पुरूषबीचको पारिश्रमिकमा समेत विभेद
सोमबार, २९ साउन २०८०, १३ : ४९
सोमबार, २९ साउन २०८०

काठमाडौँ । प्युठानकी सोनिका (नाम परिवर्तन) को सानैदेखिको सपना थियो– आर्मी बनेर देशको सेवा गर्ने । त्यही आधारमा उनी आफूलाई मानसिक र शारीरिक रूपमा बलियो बनाउँदै लगिरहेकी थिइन् ।

शारीरिक स्फूर्तिका कारण परिवारका सदस्य समेत उनी आर्मी बन्नेमा ढुक्क थिए । त्यसका लागि उनले दाङ आएर आवेदन दिइन् । तर मोटरसाइकल दुर्घटनामा परेपछि आर्मी बन्ने उनको सपना चकनाचुर भयो । उनी लामो समय अस्पतालको बेडमा रहिन् । एकातिर उनको शारीरिक अशक्तता बढ्यो भने अर्कोतिर उनको सपना अधुरै रह्यो ।

उनी गाउन र नाच्नमा सिपालु थिइन् । स्कुल होस्, वा गाउँघरमा हुने सांस्कृतिक कार्यक्रममा नाच्न र गाउन अगाडि सर्थिन् । उनको विशेष जोड भनेको सांस्कृतिक कार्यक्रममा थियो ।

मोटरसाइकल दुर्घटनामा परी आर्मी बन्ने सपना चकनाचुर भएपछि उनी नयाँ गन्तव्यका लागि काठमाडौँतिर लागिन् । काठमाडौँमा बस्ने एक जना दिदीसँग उनको पहिलादेखि नै चिनजान थियो । त्यही आधारमा उनी दिदीसँगै बस्न थालिन् । र, ती दिदीले नै उनलाई सुन्धारामा रहेको एउटा दोहोरी साँझमा काममा लगाइदिइन् ।

आफ्नो रुचिको विषय भएकाले उनको मन निकै खुसी थियो । तर, काम गर्दै जाँदा उनले भोगेका दुःख, कष्ट तथा अमानवीय व्यवहारबाट उनी छोटो समयमै आजित भइन् ।

‘मनोरञ्जन गर्ने नाममा हाम्रो शरीर नै बेच्नुपर्छ भन्ने त होइन नि । ग्राहकहरू हामी त पैसाको लागि जे पनि गर्छौँ भनेर सोच्छन् होला’

मासिक १० हजार रुपैयाँ तलब पाउने गरी उनले जागिर सुरु गरिन् । दोहोरी साँझमा उनले गाउनेमात्र नभएर नाच्नु पनि पर्थ्यो । कल्चरल डान्सतिर उनको आकर्षण थियो । तर, ग्राहक र साहुको चाहना भने छोटो कपडा लगाएर ग्राहकको रुचि अनुसारको नृत्य गरोस् भन्ने हुन्थ्यो । तर उनले त्यसलाई इन्कार गर्दै आइन् ।

काम गर्दै गर्दा एकातिर थोरै तलबमा धेरै काम गर्नुपर्ने पीडा, त्योभन्दा बढी पीडा त ग्राहकहरूले नराम्रो दृष्टिकोणले हेर्ने र हेपेर बोल्ने व्यवहारबाट उनी आजित हुन्छिन् ।

बेला बेला उनको मनमा प्रश्न आउँछ,– महिलालाई मनोरञ्जनको साधनमात्र किन बनाइन्छ ? ग्राहकहरूसँगै बसेर खाइदिनुपर्ने, उनीहरूले जे भन्यो त्यही मान्नुपर्ने गर्‍यो भने मात्रै खुसी हुने गरेको उनको अनुभव छ ।

‘मनोरञ्जन गर्ने नाममा हाम्रो शरीर नै बेच्नुपर्छ भन्ने त होइन नि । ग्राहकहरू हामी त पैसाको लागि जे पनि गर्छौँ भनेर सोच्छन् होला,’ उनले भनिन्, ‘साहुले पनि ग्राहकहरूले भनेअनुसार गर्नुपर्छ भन्छन् । नमान्यो भने जागिरबाट निकालिदिने, तलब कम दिने जस्ता दुःख दिन्छन् ।’

उनलाई भविष्यका लागि गाउन र नाच्न यो क्षेत्र राम्रै छ । तर, यो क्षेत्रबाट मानिसहरूले बनाउने धारणा, ग्राहकहरूको सोचाईका कारण उनी आफैँलाई धिक्कार्छिन् ।

उनीजस्तै नेपालगञ्जकी अस्मिता (नाम परिवर्तन) काम खोज्दै एक वर्ष अघि काठमाडौँ आइन् । काठमाडौँ आएपछि उनले सबैले नराम्रो दृष्टिकोणले हेर्ने र सोच्ने क्षेत्र रोदी घरमा काम पाइन् ।

काठमाडौँको गौशालास्थित एक रोदी घरमा जागिर गर्न थालिन् । शारीरिक रूपमा अपाङ्ग रहेकी उनलाई मासिक चार हजार रुपैयाँ दिने गरी वेटरको रूपमा राखियो ।  

त्यो बीचमा ग्राहक र साहुबाट खेपेको हेपाइको वर्णन गर्न सक्दिनन् उनी । यतिमात्र नभएर उनले भोग्ने यौन दुर्व्यवहार पनि उत्तिकै कहालीलाग्दो छ । बायाँ हातले बल लगाएर काम गर्न सक्दिनन् । तर पनि आत्मनिर्भर बन्छु भन्ने हिम्मतका साथ उनी काममा जान्छिन् । तर, रोदी घरभित्र हुने व्यवहारका कारण उनको हिम्मत बेलाबखत डगमगाउँछ । र, उनी आफैँलाई कमजोर ठान्छिन् । 

यतिसम्म कि ग्राहकले यौन सम्बन्धका लागि बाध्य पारेको खण्डमा समेत साहुले जान भन्ने गरेको उनीहरू बताउँछन् ।

‘सुरुमा राम्रो तलब दिन्छु भनेर काममा लगाए । काम गरेको एक महिनापछि ४ हजार रुपैयाँ मात्र दियो । ४ हजार मात्र दिएपछि अबदेखि काममा आउँदिनँ भने । त्यसपछि साहुले काममा नआउने भए तेरो कोठाको ग्यास चुलो लैजान्छु भनेर धम्की दिए । ग्याँस चुलो साहूजीले नै दिनुभएको थियो । त्यसपछि बाध्य भएर काम गर्न थालेँ,’ उनले भनिन् ।

त्यहाँबाट जसोतसो उन्मुक्ति पाएर उनी नयाँ बसपार्कस्थित अर्को रोदी घरमा वेटरकै काम गर्न थालिन् । त्यहाँ पनि उनले भनेअनुसार पारिश्रमिक पाइनन् ।

‘दिउँसो ४ बजेदेखि राति १२ बजेसम्म ड्युटी हुन्छ । पैसा दिने बेला तँ अपाङ्गले राम्रोसँग काम गर्न सक्दिनस् भनेर ३/४ हजार मात्रै दिन्थे,’ उनले भनिन्, ‘महिनाभरि काम गर्‍यो, तलब माग्दा व्यापार छैन, भएपछि दिउँला भन्ने । दिइहाले पनि ३/४ हजार दिन्थे । त्यतिले कोठा भाडा तिर्न पनि मुस्किल पर्थ्यो ।’

dance-bar

साहुहरू आफ्ना कर्मचारीको पक्षमा उभिनुपर्नेमा ग्राहकले भनेअनुसार गर्न जाऊ भन्दै दबाब दिने गरेको उनीहरूको भनाइ छ । यतिसम्म कि ग्राहकले यौन सम्बन्धका लागि बाध्य पारेको खण्डमा समेत साहुले जान भन्ने गरेको उनीहरू बताउँछन् ।

आफ्नो शरीर बेच्न बाध्य भएपछि ग्राहकले दिने पैसा समेत साहुलाई दिनुपर्ने एक पीडित युवतीको भनाइ छ । सोनिका र अस्मिता जस्ता रात्रिकालीन व्यवसायमा काम गर्ने श्रमिकहरूले न राम्रो पारिश्रमिक पाउँछन्, न त आत्मसम्मान नै ।

यो क्षेत्रमा लागेका अधिकांश किशोरी तथा युवती मानसिक तथा शारीरिक हिंसा भोग्न बाध्य छन् । डान्सबार, दोहोरी साँझ, रोदी घर, क्लब जस्ता रात्रिकालीन व्यवसायमा काम गर्ने किशोर, किशोरी तथा महिला/पुरुषले थुप्रै खालका समस्या भोग्दै आएका छन् ।

उनीहरू ढुक्कसँग जीविकोपार्जन गर्न सक्ने अवस्था पुग्दैनन् । संसारभर मानवअधिकारको कुरा जोडतोडले उठ्छ । त्यस्तै न्यूनतम पारिश्रमिकको कुरामा समेत उनीहरू अन्यायमा पर्छन् ।

मनोरञ्जन क्षेत्रभित्र पर्ने दोहोरी साँझ, डान्स बार, रेस्टुरेन्ट लगायतका क्षेत्रहरूमा धेरैले रोजगारी पाएका छन् । तर, काम गर्ने अधिकांश महिलाले सुरक्षित महसुस गर्दैनन् ।

त्यहाँ काम गरेर आउने तलबले दुई छाक टार्न समेत धौधौ पर्ने गरेको अस्मिताले भनिन् ।  

‘यस क्षेत्रमा काम गर्ने महिलाहरू रमाइलोकै लागि प्रयोग हुन्छन् भन्ने सोच राख्छन् । यो क्षेत्रमा काम गर्नेहरूलाई यौन सम्बन्धका बाध्य पारिन्छ । कतिपय डान्स बार र रोदीका सञ्चालकले नै ग्राहकहरूसँग अनैतिक कार्यका लागि दबाब दिन्छन्’, अस्मिताले भनिन् ।

मनोरञ्जन क्षेत्रभित्र पर्ने दोहोरी साँझ, डान्स बार, रेस्टुरेन्ट लगायतका क्षेत्रहरूमा धेरैले रोजगारी पाएका छन् । तर, काम गर्ने अधिकांश महिलाले सुरक्षित महसुस गर्दैनन् ।

यो क्षेत्रमा आउने अधिकांश किशोरी तथा महिला ग्रामीण क्षेत्रका हुन्छन् । काठमाडौँ तथा सहरको बारेमा धेरै जानकार नभएका र सहरमा टिक्न गाह्रो भएर विवश भएकाहरूलाई यो क्षेत्रमा प्रवेश गराइन्छ र शारीरिक, मानसिक शोषण गरिने पीडितहरूको भनाइ छ ।

यो क्षेत्रमा काम गर्ने श्रमिकको हकहितका लागि थुप्रै संघसंस्था खुलेका छन् । तर, सबै आ–आफ्नो स्वार्थमा केन्द्रित हुन्छन् । जसले गर्दा श्रमिकको पीडा उस्तै रहन्छ र उनीहरूले दिन प्रतिदिन थप पीडा सहँदै जानुपर्ने बाध्यता छ ।

सोनिकाका अनुसार यो क्षेत्रमा काम गर्ने महिलाहरू मात्र नभएर पुरुष समेत पीडित छन् । न्यून तलबमा काममा लगाउने, नियुक्तिपत्र नै नदिने, विभिन्न बहानामा तलब नै काटिदिने जस्ता समस्या पुरुष श्रमिकहरूले समेत भोग्दै आएको सोनिकाको भनाइ छ ।

शुभ अवसर ग्राम नेपाल (ओेभिएन नेपाल) ले काठमाडौँको विभिन्न क्षेत्रमा एक सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा रात्रिकालीन व्यवसायमा काम गर्ने १४२ जना किशोरी तथा महिलालाई समेटिएको थियो । 

उनीहरूमध्ये झण्डै ४० प्रतिशतले आफूमाथि दुर्व्यवहार हुने गरेको बताएका थिए । ९३ प्रतिशत महिलाले ग्राहकहरूबाट यौन क्रियाकलापको लागि दबाब आउने बताएको शुभ अवसर ग्राम नेपालकी कार्यक्रम अधिकृत रञ्जना शर्माले बताइन् ।

उक्त क्षेत्रमा महिला पुरुषमा पारिश्रमिकको हकमा विभेद हुने गरेको शर्माको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप