आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

माओवादी रूपान्तरणबारे प्रदेशका नेताहरू : निर्णयमा उत्साहित, कार्यान्वयनमा आशंका

विशेष अभियानपछि माओवादी दल फेरि जुरुक्क उठ्ने विश्वास छः  प्रवक्ता  सापकोटा
सोमबार, २९ साउन २०८०, १३ : ४८
सोमबार, २९ साउन २०८०

काठमाडौँ । केन्द्रीय कमिटी बैठकअघि द्विविधा र अन्योलग्रस्त अवस्थामा काठमाडौँ आएका माओवादी केन्द्र, प्रदेश कमिटीका पदाधिकारीहरू बैठकपछि निकै उत्साहित देखिन्छन् । २०७० पछि निरन्तर ओरालो लागेको पार्टी, अस्तव्यस्त साङ्गठनिक संरचना, वैचारिक अस्पष्टता, गुटबन्दीले निराश देखिएका उनीहरू माओवादी फेरि जाग्नेमा आशावादी छन् । 

गत साउन १७ देखि २१ सम्म संघीय राजधानीको प्रज्ञा प्रतिष्ठानमा बसेको बैठकले पार्टी रूपान्तरणका लागि ‘जनतासँग माओवादी विशेष’ तीन महिने अभियान चलाउने निर्णय गरेको छ । पदाधिकारीसहित केन्द्रीय कमिटी, वैकल्पिक केन्द्रीय कमिटी सदस्यहरूलाई अन्तरजिल्लामा पठाउने गरी जिम्मेवारी हेरफेर गरेर पार्टीले सर्कुलरसमेत पठाइसकेको अवस्था छ । 

बैठकको निर्णय कार्यान्वयनमा नेतृत्वको प्रतिबद्धता

विगतको केन्द्रीय समिति बैठक सञ्चालनसम्बन्धी कार्यविधिलाई तोड्दै यो पटक अध्यक्ष प्रचण्डले ७५८ जनामध्ये २८.६२ प्रतिशत सदस्यहरूलाई बोल्ने समय दिए । बाँकी केन्द्रीय सदस्यहरूलाई लिखित धारणा बुझाउन निर्देशन दिएका थिए । 

विगतमा समूह बनाएर छलफल गरिन्थ्यो । छलफलबाट आएका विचार टोली नेताले बैठकमा प्रस्तुत गर्ने अभ्यास थियो । यो पटक नीति र नेतृत्वमाथि सदस्यहरूले खुलेरै आलोचना गरे । त्यसपछि पार्टी रूपान्तरणसहित पुनर्निमाणका लागि पदाधिकारीहरूले त्याग गर्ने प्रतिबद्धता जनाए ।

२१ साउनमा बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । निर्णय कार्यान्वयनका लागि आफू र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि ७ प्रदेशको ७ वडामा जाने बताएका छन् । 

बैठकले पार्टी रूपान्तरणका लागि भदौ १६ देखि विशेष अभियानसहित, मङ्सिरमा विधान सम्मेलन र यो वर्षको अन्त्यसम्ममा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ । यसै गरी, सबै कमिटी निर्वाचन प्रक्रियाबाट चुनिने निर्णय गरेको छ । 

सुशासनको पक्षमा सरकारले चालेको कदमलाई एकमतले समर्थन गरेको छ । यो पटक पदाधिकारीसहित सबै कमिटी, विभाग, केन्द्रीय निकाय, जनवर्गीय संगठनलाई परिचालन गरी जनतामा जाने पहलकदमी लिएको छ । 

उता, सरकार, सदन, सडक, समाजवादी मोर्चा, संचार र प्रविधिमार्फत् जनतासँग प्रत्यक्ष जोडिने रणनीति माओवादीको छ । 

यी सबै निर्णयबाट माओवादी नेता तथा कार्यकर्ता उत्साहित भए पनि कार्यान्वयन हुनेमा नेताहरूको आशंका छ । तर, यो पटक माओवादी ‘गर या मर’को स्थितिमा रहेकाले निर्णय कार्यान्वयन हुने विश्वासमा उनीहरू छन् । उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकको निर्णय यो पटक कार्यान्वयन हुने भन्दै विशेष अभियानपछि माओवादी फेरि जुरुक्क उठ्ने विश्वास व्यक्त गरे । 

प्रवक्ताको जिम्मेवारी पाएपछि विहीवार पहिलो पटक केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उनले नीति, नेतृत्व, आचरण र व्यवहार सम्बन्धमा बैठकले महत्त्वपूर्ण निर्णय गरेको उनको जिकिर छ । 

‘हामी निकै जटिल भूराजनीतिमा उभिएका छौँ । यी सबै अवस्थालाई हृदयङ्गम गरी बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ । विशेष अभियानपछि मङ्सिरमा विधान सम्मेलन हुन्छ । त्यसले पार्टीको नयाँ वैचारिक, साङ्गठनिक संरचना निर्माण गर्छ । विधान सम्मेलन लगत्तै विशेष महाधिवेशन गर्छौँ, त्यसले सबै समस्याको हल गरी माओवादी फेरि जुरुक्क उठ्नेछ’, सापकोटाले भनेका थिए । 

निर्णय कार्यान्वयनमा आशंका 

केन्द्रीय समितिको निर्णयबाट प्रदेशका नेताहरू उत्साहित भएपनि कार्यान्वयनमा आशंका व्यक्त गरेका छन् । पार्टीले अघि सारेको विशेष अभियान सफल बनाउन जनपरिचालन, कार्यविधि, कार्यक्रम बनाउन व्यस्त रहेका उनीहरू पार्टीको निर्णयबाट आशंकासहित उत्साहित देखिएका हुन् । 

collage

७ वटा भूगोल र ३ वटा गैरभूगोल गरी माओवादीमा जम्मा १० वटा प्रदेशिक संरचना रहेको छ । सबै प्रदेशका नेताहरूले पार्टी रूपान्तरणका लागि विधि, विधान, पद्धति र प्रक्रियामा जोड दिएका छन् । सबै तहको कमिटी निर्वाचन प्रक्रियाबाट आउनुपर्नेमा उनीहरूको एकमत छ । 

विगतको त्याग र नेताहरूको आचरणमा सुधार गरी सोही अनुसारको कार्यक्रम ल्याउन सके माओवादीलाई जनताले फेरि विश्वास गर्ने उनीहरूको तर्क छ । 

जनयुद्धदेखि अहिलेसम्म माओवादीले गरेका वैचारिक, राजनीतिक, सांस्कृतिक योगदानको केन्द्रीकरण आजको आवश्यकता भएको बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलको तर्क छ । यसको सम्पूर्ण संश्लेषण विशेष महाधिवेशनले गर्ने विश्वास लिँदै तत्कालका लागि पार्टी रूपान्तरणका लागि विधिमा स्पष्ट हुनुपर्ने उनको जिकिर छ । 

‘जनयुद्धदेखि आजसम्म माओवादीले गरेको वैचारिक, राजनीति, सांस्कृतिक योगदान के हो यी सबै कुराको केन्द्रीकरण आजको आवश्यकता हो । यसको सम्पूर्ण संश्लेषण विशेष महाधिवेशनले गर्छ । तर, तत्काल विधिबारे क्लियर गरौँ । विधिमा प्रतिबद्धता जनाऊँ’, उनले भने, ‘केन्द्रीय कमिटी बैठकमा यी सबै विषयवस्तु उठान भएको छ । त्यसलाई कार्यान्वयन गर्ने संगठनात्मक प्रतिबद्धता भएन ।’

चुस्त दुरूस्त कार्यक्रम बनाएर जनतामा जाने र त्यागको हिसाबले हिजो जुन स्थितिमा थियो, त्यहिँ फर्किने प्रयत्न गरेमा बाँकी जनताले विश्वास गर्ने उनले बताए । आजसम्म जनताले विश्वास नगर्दा समस्या आएको उनको बुझाइ छ । 

‘विधिमा समस्या छ, त्यसमा प्रतिबद्धता जनाउने । हिजो जुन त्याग गरेको छ, त्यसको अपनत्व लिने । विचारमा स्पष्ट र संगठन बलियो भएपछि २०८४ मा सफल हुन्छौं’, उनले  भने ।  

त्यस्तै, कोशी प्रदेशका अध्यक्ष हर्क नेम्बाङ नेतृत्वले ठुलो छाती देखाउनुपर्ने भनाइ राख्छन् । ‘बिग्रेको तल कार्यकर्तामा होइन, नेतृत्व हो । विधि, प्रक्रिया, सिद्धान्तको आधारमा पार्टी बन्ने हो । केन्द्रीय कमिटीको निर्णय सबैलाई मानेर गए पार्टी बन्छ,’, उनले भने, ‘यदि सच्चिएन भने पार्टी विघटनको दिशातर्फ जान्छ । यसलाई कसैले पनि रोक्न सक्दैन । पार्टी बनाउनका लागि सबै कमिटीका नेताहरू निर्वाचित भएर आउनुपर्छ ।’ 

लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले केन्द्रीय कमिटीको निर्णयबाट नेता तथा कार्यकर्ताहरू निकै उत्साहित भएको जानकारी दिँदै जुन जिल्ला पठाएपनि उनीहरू जान तयार रहेको बताएका छन् । विशेष महाधिवेशनपछि निर्वाचन प्रक्रियामार्फत सबै तहका कमिटी, जनवर्गीय संगठन, विभागको पुनर्गठन हुने भएकाले रूपान्तरणसहित पार्टी पुनर्गठन हुने विश्वास उनले लिए । 

‘तीन महिने अभियानपछि मङ्सिरमा विधान सम्मेलन हुनेछ । त्यसले विधि, प्रक्रिया, कार्यदिशा, कार्यक्रमको साथसाथै संगठनात्मक स्वरूप तयार गर्नेछ । यसै वर्ष हुने विशेष महाधिवेशनले निर्वाचन प्रक्रियाबाट नेतृत्व छनोट हुनेछ । त्यसैले, सबैलाई काम गरेर देखाउनैपर्ने बाध्यता छ’, उनले भने ।  

यसै गरी, सम्पर्क समन्वय कमिटीका अध्यक्ष श्रीकृष्ण अधिकारीले पार्टी डुब्छ कि भन्ने चिन्तामा रहेको बेला बैठकको निर्णयले उत्साह जगाएको जिकिर गरेका छन् । तीन महिने अभियानको जुन मोडालिटी आउँदै छ । त्यसले पार्टी पुनर्निमाणमा कोशेढुंगा सावित गर्नेमा उनले विश्वास लिए । 

‘बैठकको निर्णयबाट हामी सबै उत्साहित भएका छौँ । अभियानको जुन मोडालिटी आउँदै छ, त्यसले कार्यकर्ता तहमा उत्साह जगाएको छ । आजको चुनौती र समस्यासँग जुध्न सक्ने गरी विधान, विधि र पद्धतिमा चल्ने पार्टी बनाउन खोजेका छौँ’, उनले भने, ‘माथिबाट टीका लगाएर होइनm तल्लो कमिटीबाट निर्वाचित भएर आउने बनाउने छौँ ।’

तर, केन्द्रीय कमिटीको निर्णय कार्यान्वयन हुनेमा उनले पनि आशंका व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे
लेखकबाट थप