आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘नेपालमा प्रत्येक चारमध्ये एक जनामा पुड्कोपना’

बुधबार, ३१ साउन २०८०, १८ : १२
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । नेपालमा पाँच वर्षमुनिका प्रत्येक चार जनामध्ये एक जना बालबालिकामा पुड्कोपना हुने गरेको अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक एक सय जना बालबालिकामध्ये २५ जनामा पुड्कोपना देखिने गरेको हो । 

विज्ञहरुका अनुसार बालबालिकाको खानपानमा कमी र उमेर अनुसार पोषणको अभाव भयो भने पुड्कोपना देखिन्छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखा प्रमुख लिलाविक्रम थापाले नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०२२ को तथ्याङ्क अनुसार नेपालमा प्रत्येक चार जनामध्ये एक जनामा पुड्कोपना रहेको र पछिल्लो वर्षयता पुड्कोपनामा सुधार भएको बताए । 

नेपाल स्वास्थ्य जनसांख्यिक सर्भे सन् २०१६ अनुसार प्रत्येक एक सय जनामध्ये ३६ जना बालबालिकामा पुड्कोपना रहेको थियो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा थापाले पुड्कोपनाको प्रमुख कारण पोषणको अभाव रहेको भन्दै घर परिवार सचेत हुँदा पुड्कोपनामा सुधार आउने बताए ।

थापाले भने, ‘सन् २०१६ को नेपाल स्वास्थ्य जनसांख्यिक सर्भेको तुलनामा अहिले सन् २०२२ मा पुड्कोपनामा सुधार भएको देखिन्छ । सन् २०१६ मा ३६ प्रतिशत थियो भने अहिले घटेर २५ प्रतिशतमा आएको छ । पाँच वर्षमुनिका प्रत्येक एक सय जना बालबालिका मध्ये अहिले २५ जनामा अर्थात प्रत्येक चार जनामध्ये एक जना बालबालीकामा पुड्कोपना छ । तथ्याङ्कले पुड्कोपनामा सुधार भएको देखाउँछ । पुड्कोपना, ख्याउटेपना, कम तौल भनेर भन्छौं त्यो चाहिँ पोषणमा सुधार भयो । पोषण भन्दा बित्तिकै बहुआयामिक विषय हो । खानपान, सरसफाइ, खाद्यान्नको उपलब्धतामा सुधार हुने विषय भित्र पर्छ । घर परिवार सचेत हुँदा पनि पोषणमा सुधार आउँछ ।’

थापाले पुड्कोपना दीर्घकालीन कुपोषणको संकेत रहेको भन्दै यसलाई कम गर्न खानपानमा  सुधार ल्याउनुपर्ने बताए । उनले आमाले गर्भमा हुँदा खानपान र सुत्केरी भइसकेपछि बच्चालाई जति सक्दो छिटो स्तनपान, ६ महिनासम्म पूर्ण र दुई वर्षसम्म स्तनपान गराउने कुरामा विशेष जोड दिनुपर्ने बताए ।

पुड्कोपना हुन नदिन ७५३ स्थानीय तहमै सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आएको स्वास्थ्य सेवा विभागले जनाएको । विभागका अनुसार आमा स्वास्थ्य चौकीमा जाँदा बच्चाको तौल, उचाइ, आमाको स्वास्थ्य अवस्था, पोषण लगायतबारे जानकारी लिने गरिन्छ ।  

लामो समयसम्म खानपान नपुग्ने अर्थात् खाद्य असुरक्षा पनि पुड्कोपनाको कारण रहेको भन्दै थापाले खाद्य असुरक्षाका कारण कर्णालीमा ४४ प्रतिशत बच्चाहरुमा पुड्कोपना रहेको बताए । उनले सरकारले पुड्कोपना न्यूनीकरण गर्न कर्णाली प्रदेशका पाँच वटा जिल्ला (हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगु) मा ‘फर्टिफाईड फ्लोर’ उपलब्ध गराउँदै आएको र सरकारले ६ देखि २ वर्षमुनिका बच्चा, गर्भवती र ४५ दिनसम्मका सुत्केरीलाई  फर्टिफाईड फ्लोर’ वितरण गर्दै आएको बताए ।

त्यसैगरी पोषणविद् विनीता पन्तले पुड्कोपना हुन नदिन मातृ पोषण कार्यक्रम आवश्यक रहेको बताइन् । उनले गर्भावस्थामा आमालाई र बच्चा जन्मिसकेपछि बच्चालाई पोषणको अभाव हुन नदिए पुड्कोपनाको समस्या नआउने बताइन् । उनले बच्चालाई पर्याप्त मात्रामा पौष्टिक तत्त्व पुग्नुपर्ने बताइन् । पन्तले स्थानीयस्तरमा जनप्रतिनिधिले समेत पोषण व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् । बच्चालार्ई पौष्टिक तत्त्व पर्याप्त दिनुपर्ने भन्दै घरपरीवारको आमा, बुबामा पुड्कोपना छ भने उहाँबाट जन्मिने बच्चामापनि पुड्कोपनाको समस्या देखिन सक्ने बताइन् ।

सरोकारवालाहरुले पोषण बहुआयामिक क्षेत्रसँग जोडिएकाले पोषणमा सुधार ल्याउन सरकारले दीर्घकालीन योजना ल्याउनुपर्ने औंल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप