सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एएफसी कप छनोटमा मच्छिन्द्र : दोस्रो प्रयासमा दोस्रो चरणसम्म

बुधबार, ३१ साउन २०८०, २१ : २४
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । एएफसी कप छनोट प्रतियोगिताको दोस्रो चरणको खेलमा नेपालको मच्छिन्द्र फुटबल क्लब बलियो प्रतिद्वन्द्वी भारतको इन्डियन सुपर लिग क्लब मोहन बगानसँग पराजित भएको छ । मोहन बगानले बुधबार घरेलु मैदानमा मच्छिन्द्रलाई ३—१ गोलले हरायो ।

दोस्रो पटक एएफसी कप छनोट प्रतियोगिता खेलेको मच्छिन्द्र क्लब आफ्नो पहिलो प्रयासमा पहिलो चरणबाटै बाहिरिएको थियो । मछिन्द्रले गत वर्ष पनि एएफसी कप छनोट प्रतियोगिताको प्रारम्भिक चरणको खेल खेलेको थियो । त्यतिबेला मच्छिन्द्र क्लब श्रीलंकाली क्लब ब्लु स्टारसँग पराजित भएको थियो ।

यस पटक भने मच्छिन्द्र क्लब दोस्रो चरणसम्म पुग्यो । यस पटक मच्छिन्द्र प्रारम्भिक चरणको खेलमा भुटानी लिग च्याम्पियन पारो फुटबल क्लबलाई ३–२ गोलले हराउँदै दोस्रो चरणमा पुगेको हो । मच्छिन्द्र र पारोबीचको खेल अघिल्लो मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिएको थियो ।

मच्छिन्द्र नेपालको ‘ए’ डिभिजन लिगको उपविजेता क्लब हो । सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि भने चर्च ब्वाइज क्लबले जितेको थियो । तर, चर्च ब्वाइज क्लबसँग एएफसी क्लब लाइसेन्स नभएकाले मच्छिन्द्रले लगातार दोस्रो पटक एएफसी कप खेल्ने अवसर पाएको हो । मोहन बगान भने भारतको सुपर लिग च्याम्पियन क्लब हो ।

बुधबार भारतको कोलकातास्थित साल्ट लेक स्टेडियममा भएको खेलमा मोहन बगानका लागि अनवर अलीले दुई गोल गरे । उनले निर्धारित समयको ३८औं र ८६औं मिनेटमा गोल गरेका थिए । मोहन बगानका लागि अर्को एक गोल ५९औं मिनेटमा जासन कुमिङ्सले गरेका थिए । मच्छिन्द्रका लागि भने एकमात्र गोल निर्धारित समयको ७८औं मिनेटमा मेसुके ओलुमोउले गरेका थिए ।

जितसँगै मोहन बगानले प्लेअफमा स्थान बनाएको छ । मोहन बगानले बंगलादेशको ढाका अव्हानी र माल्दिभ्सको इगल्सबीचको खेलको विजेतासँग अगस्ट २२ तारिखमा प्लेअफ खेल्ने छ । उक्त खेलको विजेतालेसाउथ जोनबाट एएफसी कपको समूहगत चरणमा स्थान बनाउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप