आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कृषि समिति बैठक

लम्पी स्किनबाट १३ लाख बढी पशु सङ्क्रमित, मन्त्री भुसाल भन्छन्–किसानलाई क्षतिपूर्ति दिन गाह्रो छ

बिहीबार, ३२ साउन २०८०, २३ : ०५
बिहीबार, ३२ साउन २०८०

काठमाडौँ ।  कृषि तथा पशुपन्क्षी मन्त्री डा बेदुराम भुसालले लम्प स्किन रोगबाट मरेका पशुहरूको क्षतिपूर्ति दिन नसकिने बताएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गत रहेको कृषि समितिमा बोल्दै मन्त्री भुसालले लम्प स्किन रोगबाट प्रभावित किसानका लागि क्षतिपूर्ति दिन नसके पनि राहत दिनका लागि कार्यविधि बनाउने काम भइरहेको बताए । 

मन्त्री भुसालले भने– 'पशुको मृत्यु भएकालाई क्षतिपूर्ति दिन त सक्ने अवस्था त छैन । यसबारे प्रधानमन्त्री ज्युसँग पनि कुरा भएको छ। क्षतिपूर्ति दिन नसके पनि राहत दिनका लागि आधार र मापदण्ड सहितको कार्यविधिको मस्यौदा बनाएको छ । त्यो पारित भएपछि राहत दिने काम अघि अघि बढ्न सक्छ ।'

गत चैत महिनादेखि पश्चिम नेपालबाट लम्पी रोगको सङ्क्रमण फैलिएको बताउँदै हालसम्म १३ लाख ५ हजार पशु सङ्क्रमित भएको जानकारी गराए । जसमध्ये १० लाख हाराहारी सङ्क्रमण मुक्त भएको, ४७ हजार ६ सय ४९ पशुको मृत्यु भएको जानकारी दिए । 

मन्त्री भुसालले टर्कि, तान्जानियाबाट १३ लाख ६९ हजार  डोज भ्याक्सिन ल्याएको र ६ लाख पशुलाई भ्याक्सिन दिइएको जानकारी दिए । 

उनले यो रोग निरन्तर देखिने भएकोले नेपालमै खोप उत्पादन गर्नेतिर लाग्नुपर्ने, त्यसका लागि सिडभाइरस ल्याएर नेपालमै खोप उत्पादन तिर लाग्ने योजना रहेको बताए । 

लम्पी स्किन संसारमा नयाँ रोग रहेको बताउँदै नेपालमा २०७७ सालमा देखिएको बताए । यसअघि पहिले नै भारत र चीनमा यो रोग फैलिएको बताउँदै उनले त्यहाँ गरिएको नियन्त्रणबाट शिक्षा लिन नसक्दा नेपालमा  क्षति बेहोर्नु परेको उल्लेख गरे । 

मन्त्री भुसालले मन्त्रालयले पशु स्वास्थ्य चिकित्सक सहित ७ प्रदेशमा टोली पठाएर रोगको बारेमा जानकारी दिने र उपचार कसरी गराउने भन्ने बारेमा जानकारी दिने गरेको बताए । 

बैठकमा सांसदहरूले सरकारले सङ्क्रमण फैलिन थालेको ३ वर्ष हुँदा पनि सरकार गंभिर नभएको बताएका छन् । सांसद वीरबहादुर बलायरले हल गोरू मरेको किसानले के गरी बाँच्ने भन्ने प्रश्न गर्दै क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गरे । उनले बजेट छैन भने सिङ्गो कृषि समिति अर्थ मन्त्रालय घेराउ गर्न तयार रहेको बताएका छन् । 

सांसद सरस्वती सुब्बाले १३ लाख खोप आउँदा ६ लाख मात्र लगाएकोले बाँकी खोप कहाँ गयो भन्दै प्रश्न गरिन ।  उनले यो रोग मान्छेमा सर्छ कि सर्दैन भनेर अध्ययन गर्नुपर्नेमा जोड दिइन् । पशु बिमाको कुरालाई अघि बढाउनुपर्नेमा जोड दिँदै उनले गाडी पुगेका ठाउँमा बिमा कम्पनी पुग्ने तर दुर्गम ठाउँका कृषकका घरमा बिमा कम्पनी नपुग्दा किसान समस्यामा परेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप