आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
पीडितलाई थप पीडा

पीडितलाई बलात्कार आरोपित निर्देशकको धम्की– १५-२० लाख लिएर केस मिलाउनु, अनि ठाउँ छोडेर जानु

शुक्रबार, ०१ भदौ २०८०, ०६ : २७
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा मध्यपहाडी लोकमार्गका निर्देशक हरिकुमार पोखरेल प्रहरी हिरासतमा छन् । निर्देशक पोखरेलले पीडित र उनको परिवारलाई पैसाको अफर गर्नुका साथै ज्यान मार्नेसम्मको धम्की दिँदै आएको खुलेको छ ।

पीडितको तर्फबाट हामीलाई प्राप्त अडियो र भिडियो रेकर्डमा पोखरेलको तर्फबाट पैसा लिएर मुद्दा फिर्ता लिन अफर गरिएको छ । पोखरेलको तर्फबाट विभिन्न व्यक्ति पीडितलाई प्रलोभनमा पार्ने, धम्की दिनेजस्ता कार्यमा खटिएका छन् ।

पीडितको बुबालाई भेट्ने, पीडितसँगै पैसाको अफर गर्ने, मुद्दा फिर्ता नलिएको खण्डमा ज्यानमाथि जे पनि हुनसक्ने भन्दै धम्की दिन गिरोह सक्रिय देखिएको हो ।

केही दिन अगाडि रामजी भनिने चेतन पौडेलले पीडितका बुबालाई फोन गरेका थिए । आरोपित पोखरेलकै मोबाइलबाट घरको नम्बरमा फोन गरेर पौडेलले पीडकको तर्फबाट मिल्न दबाब दिएका हुन् ।

फोन सम्वादमा पीडितको बुबाले के कुरा मिलाउनुपर्यो प्रस्ट पार्न भनेका छन् । त्यसपछि रामजीले भने, ‘जे हुनु भइसक्यो । छोरीलाई घरमा बोलाएर कुरा गर्नुप¥यो । हामी पनि बसौंला । दुई वटा परिवारको कुरा हो । भाको सम्बन्ध बिगार्नेभन्दा बनाउने कुरा हो । सबैलाई हँसाउने कुरा राम्रो होइन ।’

आफूलाई इन्जिनियर बताउने रन्जित जैसवाल पनि पटकपटक पीडितलाई भेट्न पुगेका छन् । उनले पीडितलाई प्रलोभनमा पार्नुका साथै ज्यान नै सुरक्षित नहुने भन्दै धम्कीसमेत दिएका छन् ।

पीडितका बुबाले नम्बर कहाँबाट पाउनुभयो भन्ने प्रश्नमा ती व्यक्तिले हरिजीको फोनबाटै लिएको बताएका छन् ।

छोरी भएकाले भोलि गाह्रो हुने भन्दै रामजीले मिलापत्र गरेर अघि बढ्न दबाब दिएको सो अडियोमा सुनिन्छ । जवाफमा पीडितका बुबाले ‘श्रम गरेर खाने मान्छेलाई अपहेलित गरेर त्यस्तो भावना दृष्टिकोणबाट हेर्छ भने यो त ठुलो गल्ती भयो नि ! काम गर्ने मान्छेलाई रेस्पेक्ट गर्नुपर्ने हो नि’ भनेका छन् ।

आफूलाई इन्जिनियर बताउने रन्जित जैसवाल पनि पटकपटक पीडितलाई भेट्न पुगेका छन् । उनले पीडितलाई प्रलोभनमा पार्नुका साथै ज्यान नै सुरक्षित नहुने भन्दै धम्कीसमेत दिएका छन् ।

हामीलाई प्राप्त अडियोमा पीडित युवतीको कोठामा पुगेका जैसवालले भनेका छन्, ‘उसले सजाय पाउँला रे । जेल जाला रे । २-४ महिना बस्ला । भोलि त्यहाँबाट छुटेपछि उसले समस्यामा पार्छ । तपाईलाई गाह्रो पर्छ ।’

आरोपितको तर्फबाट कति पैसा चाहिन्छ, त्यो दिन तयार रहेको तर, यो केस फिर्ता लिनुपर्ने उनले बताएका छन् । ‘तपाईले यदि मलाई २० लाख चाहियो अथवा १५ लाख पैसा चाहियो भन्नुभयो भने उसले दिन्छ । उनीहरू त्यति पैसा दिन रेडी छ । त्यही भएर त्यो पैसा लिनु, त्यो पैसा लिएर विदेश जान मन छ भने विदेश जानुहोस्, अथवा गाउँ गएर सेटल भएर बस्न मन लागे त्यो पनि गर्नुहोस् । त्यो पैसाले केही गर्न मिल्छ नि त !’ उनले भनेका छन् ।  

मिलापत्र नगरेर जेल नै हालेको खण्डमा भोलि छुटेर आएपछि समस्या पार्ने धम्कीसमेत उनले दिए । ‘भोलि गएर तपाईंले अडान लिएर उसलाई जेल नै हाल्नु होला । ठिक छ, त्यसमा तपाई जित्नु पनि होला । ३-४ महिना बस्छ । बेलमा छुटेर आउँछ । यसको इज्जत गयो । उसले नराम्रो जे पनि गर्न सक्छ नि,’ जैसवालले भनेका छन् ।

‘के नराम्रो ?’ भन्ने पीडितको प्रश्नमा उनले भनेका छन्, ‘गुण्डासुण्डा लगाएर जे पनि गर्न सक्छ । आफू त गयो गयो, अरूलाई पनि जे गर्न सक्छ नि । त्यो भएर तपाईलाई उसले ह्यारेसमेन्ट गरेको छ ।’

उसले निकै ठुलो गल्ती गरेको बताउँदै जैसवालले एक पटकलाई माफी दिनसमेत आग्रह गरेका छन् । ‘यसले (पोखरेल) आज आएर पैसा दिन्छु भन्नु भनेको यसको गल्ती ठहर भइसक्यो । ऊ डराईसक्यो । राम्रो पैसा लिनुहोस्, आफ्नो भविष्य बनाउनुहोस्, यो एरिया नै छोडिदिनुहोस् । तपाईले मान्नुभयो भने गाह्रो हुँदैन । नत्र उनीहरूले तपाईलाई निकै टेन्सन दिन्छन्,’ जैसवालले भने ।

जवाफमा पीडित युवतीले भने आफूलाई आफ्नो ज्यानको कुनै परवाह नरहेको तर, गलत गर्नेलाई सजाय हुनैपर्ने बताइन् । ‘जब मैले एक्सन लिइसकेपछि मेरो त ज्यानको खतरा भयो नि ! सिधा गएर भन्दिनुहोला, म पैसा लिँदैन भनेर । दुई दिन सही, बस् त्यसलाई हतकडी लागोस् । मलाई यो मतलब छैन,’ उनले भनेकी छन्, ‘पैसाका लागि नै यो सबथोक गर्थें भने नि पैसाको अफर धेरै पटक गरेका हुन् । तपाईं पहिलो व्यक्ति होइन । म पैसामा बिक्ने मान्छे होइन । माफी मागेर मेरो अस्मिता फिर्ता पाउँछ ? पनिसमेन्ट त मैले दिने होइन, सोसाइटीले दिने हो ।’

आफ्नो स्वास रहुञ्जेल अन्यायका विरुद्धमा लड्ने तर, पैसामा नबिक्ने र पावरको अगाडि नडराउने उनले बताइन् । 

पीडित युवतीले आफूले लिनुपर्ने १५ दिनको पैसा माग्न जाँदा पैसाको बार्गेनिङ गरेको आरोप लगाएको बताइन् । ‘मेरो १५ दिनको पैसा माग्न बाँकी थियो । त्यो पैसा लिन घरमा आईज भनेको थियो । अनि म नगएपछि क्यूआर पठा भनेको थियो । त्यो पठाएपछि अहिले आएर पैसाको बार्गेनिङ गरेर ब्ल्याकमेलिङ गरिरहेको भन्दै आरोप लगाइरहेका छन्,’ उनले भनिन् ।

पावरफुल मान्छेका विरुद्ध उजुरी दिएपछि आफ्नो ज्यान खतरामा रहेकोमा आफू जानकार रहेको भन्दै उनले अगाडि भनिन्, ‘मलाई गाह्रो हुन्छ । मलाई त्यो पनि थाहा छ । म यो एरिया नै छोडिदिन्छु ।’

आफ्नो पूरै हिस्ट्री नै निकालेर बदनाम गराउन खोजेको भन्दै पीडितले अहिले आएर उनीहरू मिलापत्र गर्न दबाब दिइरहेको बताइन् । उक्त घटनापछि आफू र आफ्नो परिवारलाई थुप्रै खालको धम्की र प्रलोभन आइरहेको पीडित युवतीको भनाइ छ ।

यसअघि पनि आफूमाथि दुर्व्यवहार गरिएको र त्यतिबेला ‘सबै कुरा आन्टीलाई भनिदिन्छु’ भनेपछि हात जोडेर माफी मागेको उनको भनाइ छ ।

‘किचनमा गएर तँ मेरो छोरीजस्तो मान्छे हो, मेरो बुद्धि बिग्रियो, मलाई माफी दे भनेर भनेको हो । पटकपटक माफी माग्यो । माफी मागेपछि मैले माफी गरिदिएँ । मेरो फेमिलीको लागि मैले त्यो सेक्रिफाइस गरेको हुँ । त्यो बेला मैले वार्निङ दिएको हुँ, अब केही भयो भने म छोड्नेवाला छैन भनेर भनेको थिएँ । तर, पटक पटक यस्तै गल्ती दोहो/\याइरह्यो,’ उनले भनिन् ।

आफ्नो पूरै हिस्ट्री नै निकालेर बदनाम गराउन खोजेको भन्दै पीडितले अहिले आएर उनीहरू मिलापत्र गर्न दबाब दिइरहेको बताइन् । उक्त घटनापछि आफू र आफ्नो परिवारलाई थुप्रै खालको धम्की र प्रलोभन आइरहेको पीडित युवतीको भनाइ छ ।

रातोपाटीसँग कुरा गर्दै उनले भनिन्, ‘त्यो दुर्व्यवहार भन्दा अहिलेको टर्चर बढी छ । म पागल हुने बेला भइसक्यो । नयाँनयाँ नम्बरबाट फोन गरेर मिल्न भन्छन् । पैसा दिन्छु भन्छन् । नमिलेमा जे पनि हुन सक्ने भन्छन् । मलाई बाँच्नै नसक्ने बनाइसक्यो ।’

चौतर्फीबाट धम्की आउन थालेपछि उनले प्रहरीमा चार जनाविरुद्ध उजुरी समेत दिएकी छन् । जसको आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ भने दुई जना फरार छन् ।

प्रहरीले पीडितका बुबालाई फोन गर्ने पौडेल र पीडितलाई भेटेर प्रलोभन तथा धम्की दिने जैसवाललाई पक्राउ गरेको छ । त्यस्तै आफूलाई वरिष्ठ अधिवक्ता बताउने ५४ वर्षीय भोजराज रेग्मी र ३५ वर्षीय अमन लामा फरार छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप