आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रदीप गिरिको अस्तु विसर्जन कार्यक्रम राखेकोमा परिवारको आपत्ति

शुक्रबार, ०१ भदौ २०८०, ०७ : ०२
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौं । समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका स्व. नेता प्रदीप गिरिको अस्तु विसर्जन कार्यक्रम राखेकोमा उनको परिवारले आपत्ति जनाएको छ । प्रदीप गिरि पावन स्मृति आयोजक समितिले बिहीबार गिरिको स्मृतिमा ‘लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौंदेखि काशीसम्म’ कार्यक्रम घोषणा गरेको थियो ।

२ भदौमा सुरु हुने यात्राका क्रममा वीरगञ्जको तिलवा नदीका साथै भारतको गंगा नदीमा गिरिको अस्तु बिसर्जन गर्ने कार्यक्रम समेत समावेश छ । गिरिकी पत्नी भारती सिलवाल, छोरा सन्तोष र बुहारी उष्मा लामा सिलवालले विज्ञप्ति जारी गर्दै आफूहरुको अनुमति विना अस्तु विसर्जन कार्यक्रम राखेको बताएका छन् ।

परिवारसँग गाँसिएको यस्तो संवेदनशील विषयलाई कुनै अमुक व्यक्ति वा संघले विना स्वीकृति गर्ने यस्तो कार्य स्वीकार्य नभएको भन्दै उनीहरुले विज्ञप्ति भनेका छन्, ‘यस्तो अशोधनीय क्रियाकलापले हामीलाई मर्माहत बनाएको छ ।’ 

कैयौं पटक मौखिक आग्रह र लिखित रूपमा अस्तु विसर्जन नगर्न अनुरोध गर्दागर्दै पनि समितिका कञ्चन झा, रामपल्टन शाहलगायतले अस्तुको राजनीति गर्न खोजिरहेको परिवारको आरोप छ । समितिले अस्तु विसर्जनको बहानामा चन्दा उठाएको आरोप पनि परिवारले लगाएको छ । ‘अस्तु उनीहरूले कहाँबाट प्राप्त गरे ? कसरी प्राप्त गरे ? जबकि उहाँको अस्तु हामीसँग सुरक्षित छ,’ विज्ञप्तिमा भनिएको छ ।

उनीहरले गिरिको आत्माको चिर शान्तिका लागि अस्तु विसर्जन कार्यक्रम नगर्न समेत आग्रह गरेका छन् । घाँटीको क्यान्सरबाट पीडित गिरीको २०७९ भदौ ३ मा निधन भएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप