आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एनआरएनए निर्वाचन

एनआरएनए नेतृत्वका लागि काठमाडौँमा समीकरणको पहल

शुक्रबार, ०१ भदौ २०८०, ०७ : २६
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । विदेशमा बस्ने नेपालीको संस्था गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को आउने नेतृत्वका लागि सम्भावित समीकरणका बारेमा काठमाडौँमा छलफल भइरहेका छन् ।

अध्यक्ष लगायत अन्य पदका महत्त्वपूर्ण पदका आकाङ्क्षीहरू बीच छलफल भइरहेको हो । अध्यक्षका आकांक्षीबीच साझा उम्मेदवारका बारेमा विभिन्न चरणमा वार्ता भइरहेको बताइएको छ ।

अध्यक्ष पदका लागि महेश श्रेष्ठ, डा केशव पौडेल, आरके शर्मा, डा बद्री केसी, रविना थापा लगायतले उम्मेदवारी दिने बताउँदै आएका छन् । यीमध्ये  महेश, डा केशव र आरकेमध्ये एक जना मात्र उम्मेदवार बनाउन प्रयास भइरहेको छ ।

विभिन्न देशमा सञ्जाल रहेको एनआरएनए करिब १ लाख सदस्य भएको संस्था हो ।

केही साता अघि वर्तमान अध्यक्ष डा बद्री केसीले  डा केशवलाई अनौपचारिक रूपमा मिलेर जाने प्रस्ताव राखेका थिए । महेश, डा केशव र आरके नेपालको सत्ता गठबन्धन  पार्टीसँग निकट भएकाले पार्टीहरूलाई समेत विश्वासमा लिई एक जना उम्मेदवार बन्ने गरी छलफल भइरहेको बताइएको छ ।

अध्यक्षसँगै महासचिवमा सोहीअनुसार समीकरण बनाउने गरी छलफल भइरहेको छ । अध्यक्षमा महेश र महासचिवमा बुद्धि सुबेदीबीच समीकरणको पहल पनि भइरहेको बताइएको छ । यो समीकरणलाई कांग्रेस पार्टीको समर्थन लिने गरी पहल भएको एक एनआरएनए नेताले बताए । तर, यसबारेमा औपचारिक निर्णय भइसकेको छैन ।

'वार्ता भइरहेको छ कुनै निष्कर्ष आएको छैन', समीकरणको जोड घटाउमा संलग्न एक भने । डा केशव, सुवेदी लगायत महत्त्वपूर्ण पदका कयौँ आकाङ्क्षी अहिले काठमाडौँमै छन् ।

महासचिवमा वर्तमान महासचिव गौरीराज जोशीले पनि दोहोर्‍याउने तयारीमा छन् । यहीबिचमा एक कदम अघि बढेर महासचिवमै एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष सुबेदी भने औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेर जोड घटाउको समीकरणमा लागेका छन् ।

अमेरिकाबाट महासचिवमा दुई जना उम्मेदवार हुँदा निर्वाचन प्रक्रिया पनि विवादास्पद हुने हो कि भन्ने शङ्का पनि उठेको छ ।

२ वर्ष अघि महासचिव पदमै अमेरिकाबाट डा केशव र गौरीले उम्मेदवारी दिने घोषणा गरेपछि चुनाव विवादमा तानिएको थियो । अहिले दुवै एनआरएनएका महासचिव छन् । अव विधान अनुसार एक जना मात्र महासचिव हुने व्यवस्था छ ।

अमेरिकामा सामाजिक सञ्जालमा उम्मेदवार घोषणा गर्नेको लर्को नै लागेको छ । अध्यक्ष देखि उपाध्यक्ष, महासचिव लगायत अन्य विभिन्न पदमा आकाङ्क्षीहरू देखिएका छन् । धेरै जना उम्मेदवार बन्न खोजेपछि जो जस्तो पनि पदै खोज्ने भन्ने गुनासो पनि सुनिन थालेको छ ।

२ वर्ष अघि उम्मेदवारको सङ्ख्या अत्यधिक भएपछि चुनाव नगरी अप्रजातान्त्रिक बाटोबाट तीन जना अध्यक्ष, २ महासचिव लगायतका विधानमै नभएका पद सृजना गरिएको थियो । धेरैलाई पद दिन हचुवाका भरमा विधान नै परिवर्तन गर्नु पर्‍यो ।

तर, यो सूत्र निकै आलोचनात्मक बन्यो । यसले काम पनि गर्न सकेन । असफल भएको छ ।

यसैबीच बिहीबार काठमाडौँमा माओवादी निकट एनआरएनए अभियन्ताहरूले प्रवास समन्वय समितिका इन्चार्ज राम कार्कीलगायतका नेताहरूसँग छलफल गरेका छन् । छलफलमा एनआरएनए उपाध्यक्ष डीबी क्षत्रीसहित अभियन्ताहरू शनिकुमार वली, बुद्धिप्रसाद भण्डारीलगायतको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप